काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...

काठमाडौं:    सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।       अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा उहाँले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याउनुभयो ।      “समयापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । सीमित साधन, स्रोतका बीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रसंशा गर्दै उहाँले संसद्को महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।      “अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ”, सभामुखले भन्नुभयो, “संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।”      संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसद्को गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसद्लाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो ।      राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उहाँले समयानुकूल संसद् सेवाको पुनःसंरचना गर्न आवश्यक भइसकेको उहाँले उल्लेख गर्नुभयो ।       “यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।”      संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताउनुभयो ।      विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।      कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताउनुभयो ।       संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै मन्त्री चौरसियाले कानुन निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गर्नुभयो ।      उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।        मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्तिविकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास दिलाउनुभयो ।       मुख्यसचिव अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।      संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिनुभयो ।      संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यसवर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठताः संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो । कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।      कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो ।      समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गर्नुभएका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौैँ) सानुकाजी महर्जनलाई दीर्घसेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो ।

तनहुँ:    मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ ।  जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार  बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।   कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ । 

म्याग्दी:    चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् ।   तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो । ३–४ वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन ।  “यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो ।

पर्वत:    कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा  पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो ।  आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।  साथै पर्वतका ७ वटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् । 

काठमाडौं:     विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।  केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच  प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १५ अर्ब २७ करोड रहेकामा गत कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वृद्धि भई रु १६ अर्ब ७० करोड पुगेको छ ।   कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा आठ दशमलव छ  प्रतिशतले वृद्धि भई रु २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा २८ दशमलव चार प्रतिशतले वद्धि भई रु दुई खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।   आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

काठमाडौं:     वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ ।  सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।  सङ्ले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनेको छ ।  साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।

काठमाडौं:      नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।   केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।  यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

झापा:    झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।  त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उहाँले बताउनुभयो । आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा:     सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो ।  सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।