काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...

चितवन:     गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।”  संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास  गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो ।  उहाँले थप्नुभयो “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौ ।” सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो ।  यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।”  २ दलबीचमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो ।राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उहाँले बताउनुभयो ।  फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताउनुभयो । मन्त्री लेखकले भन्नुभयो, “प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ ।  चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उहाँले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले गरेको बताउनुभयो ।  कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उहाँले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु हो, त्यस्तो हुनु हुँदैन भन्नुभयो ।   सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उहाँले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताउनुभयो । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उहाँको भनाइ थियो । 

काठमाडौं:     जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।  भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।” श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।  मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।  पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।   

चितवन:    मनकामना केबलकारको सेवा २ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो ।    टावरको मर्मत सम्भारका लागि २ दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।  केबलकारको  प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।

सिरहा:     जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्याँस चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ ।  शनिबार राति अचानक ग्याँस सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए ।  साहले पसल बन्द गरी घर गएको बेलामा  ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिनुभयो ।       भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताउनुभयो ।  उहाँका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।      इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौं:   अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  ।  गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ  । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।

मकवानपुर:     बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ ।  धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ ।   चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”,  भन्नुभएको छ ।

कञ्चनपुर:    यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ ।      कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए ।  वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।      उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ ।  यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ । 

म्याग्दी:   ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ ।  वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो । अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ ।   अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।  अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताउनुभयो । एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उहाँले जानकारी दिनुभयो । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय  चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।  उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ ।  उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।” प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।  राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।