तनहुँ: आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।
काठमाडौं: मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।
सिरहा: पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए । महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् । सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए । गाहामगरलाई सर्वाधिक मत नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए । कसले कति मत ल्याए ? (मत परिणामसहित) सदस्य (खुला) अर्जुन सुशान्त गाहा: १५१ गौरव त्रिपाठी: १४३ चिरञ्जिवी पौडेल: ८२ तुलसीराम सुवेदीः १०७ दीपक श्रेष्ठ: १०३ निराजन अधिकारी: १०६ पुष्पराज दाहाल: १०४ बालकुमारी पौडेल: १२९ विष्णु गौतम: ८८ राजु गिरी:१३२ रिखिराम जि.सी: ११७ सन्तोष सुवेदी: १२८ सन्दीप पौडेल: १०३ राष्ट्रिय परिषद सदस्य अमृतराज उपाध्याय: ५० आरजु सल्यानी मनहनकुमार विष्ट: १२४ ऋषिराम बराल: ५० कृष्ण दवाडी: ८९ कृष्णमणि बराल:१०९ दिननाथ बराल:११६ भरत कोईराला: १०८ मानबहादुर घर्ती: ८१ राजबहादुर गुरुङ: १०८
हुम्ला: खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले जिल्लामा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउनुपर्छ ।” दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुत खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण योजना अगाडि सारेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानी पहुँचको दिगो समाधानका लागि सरकार प्रतिबद्ध छ । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।” मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट पार्नुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठले हुम्लामा खानेपानी प्रणालीको दिगोे सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताउनुभयो । सो क्रममा हुम्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो । हुम्लाको दुर्गम भूगोल चुनौतीपूर्ण भए पनि खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आवमा १७ वटा आयोजना कार्यान्वयन गरिरहेका र जसमा कूल आठ दशमलव पाँच करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।
मकवानपुर: राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ । उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गर्नुभएको हो । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ । सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
काठमाडौं: कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् । विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ । तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ । टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिनुभयो । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताउनुभयो । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताउनुभयो । “टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ”, उहाँले भन्नुभयो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ । काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ । त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।
काठमाडौं: डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ । जाडो बढ्दै गएकाले पहिलो चरणमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो । डा ओम फाउन्डेसनका संस्थापक डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट सङ्कलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो । डा ओममूर्तिले भन्नुभयो–“मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर ‘जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।” ‘ जीवन्त सम्बन्ध’ पुस्तक खरिद गर्ने पाठकहरूकै योगदानबाट जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न खोजिएको उहाँको भनाइ छ । पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना रहेको छ । फाउन्डेसनले गत कात्तिकमा धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी छ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो भने छिट्टै देशभरिबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गर्नुभयो । प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गर्नुभयो ।