सुर्खेत: गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभयो । देशमा स्थायी सरकार आवश्यक परेका कारण २ ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको साशन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको बताउनुभयो । “देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “मुलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई÷दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो, “सरकार अत्यन्त अस्थिर हँुदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढङ्गले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको साशनमा प्रतिकुल असर पर्न थाल्यो ।” समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो । आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उहाको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभयो । कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।” कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उहाँले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
गण्डकी: राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै उहाँलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो । राससकर्मी शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गर्नुुभएको हो । २ दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आउनुुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुनुहुन्छ । कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ । कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालनलगायतका विषयमा छलफल भएको हो । “नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो । अमेरिकी सहयोगमा एमसिसी, युएसएआईडिलगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भयो”, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भन्नुभयो, “अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी)बाट नेपालको निजी क्षेत्रमा पनि लगानी भइरहेकामा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पुँजी कसरी भित्र्याउन सकिन्छ भन्नेबारे उहालेँ चाँसो देखाउनुभएको छ । यसमा हामीले निजी क्षेत्रबाट लगानीलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका छौँ ।” अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गर्नुभयो । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।
कञ्चनपुर: बेलौरी नगरपालिका(६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् । घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा रहेको छ । सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो(खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।” उहाँका अनुसार कलहाँसले आहारका रुपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ । शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन् । चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुनअगावै फर्कने गरेका छन् । जल पन्छीका लागि आश्रयस्थलका रुपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउनुहुन्छ । “सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ”, उहाँले भन्नुभयो, “जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रुपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।”
पर्सा: भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उहाँ महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आउनुभएको हो । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भन्नुभयो, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।” बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् । गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताउनुभयो । “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उहाँले भन्नुभयो, “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।” जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ । गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ । कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताउनुभयो । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।” दश हजारभन्दा बढी राँगाबलि आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।
बैतडी: वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।
काठमाडौं: धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गर्नुभयो । “भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं ।” विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन । “आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन”, उहाँले भन्नुभयो, “संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि भएर देखिन थालेका हुन् ।” रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वबारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ । गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र सङ्घ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुभयो, “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।” रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ । फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गर्नुभयो । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले अवलोकन गर्नुभएको थियो । नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो । अवलोकनपछि पत्रकारहरुसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पु¥याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गर्नुभयो । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।