झापा: प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको छ । उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ ।
म्याग्दी: बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ । आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । “महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभइ म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो “म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।” महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिनेछ । महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु १ लाख ५१ हजार र उपविजेतालाई रु ७५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ । लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु १ लाख १ सय र उपविजेतालाई रु ६१ हजार १ सय पुरस्कार प्रदान गरिने जनाइएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा रु १० लाख, विपद् राहत कोषमा रु ५ लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखिनै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो ।
काठमाडौं: राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने १ सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा १ महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।
मुगु: रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईँ र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया अनुसन्धानमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमतिमा गत कात्तिक ६ गतेदेखि २१ दिनका लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएका थिए । निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुङ्गीको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तु, जलचर, वनस्पतिको गणना हालसम्म गरेको छैन ।
ढोरपाटन: सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सबै काम रु सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताउनुभयो । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।
चितवन: राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
सर्लाही: कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो । उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो । “सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् । कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् । “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।” यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ । निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।
पर्वत: मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो । डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो । पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गर्नुभएको छ । मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाइ छ । अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्मित पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ । अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो । यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ । सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ । जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’ मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।