काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...

काठमाडौं:    धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न आज ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडोको समयमा न्यानो कपडा र  दाउराको अभावमा देशभरका नागरिकलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसमक्ष गरेको हो ।      ध्यानाकर्षणपत्रमा गत असोज ११ र १२ गते गएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुलीलगायत जिल्लामा धेरै बस्ती डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरुलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरु लाग्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।      प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाइने उल्लेख गर्दै विपद्को पूर्वतयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी:    सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन ।  पुल नबन्दा यस क्षेत्रका बासिन्दलाई आवतजावतमा सास्ती भइरहेको छ । पुल नहुँदा कुरनमा, बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, फकिरा, कन्कटालगायतका स्थानीयलाई समस्या भइरहेको स्थानीयवासी रमानन्द शर्माले  बताउनुभयो ।  वर्षायाममा नदी छेउमै रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई आवतजावतमा निकै समस्या भइरहेको उहाँले बताउनुभयो ।  “वर्षायाममा समस्या भएकाले यहाँका बालबालिका अर्को विद्यालय रोज्न बाध्य छन् । चार किलोमिटर टाढा रहेको विद्यालय जाने नदीमा पुल नहुँदा वर्षायाममा समस्या हुन्छ । हरेक वर्ष यस्तै समस्या हुने भएपछि विद्यालय जानबाट वञ्चित हुनुका साथै कतिपयले विद्यालय छोडिरहेका छन् ।”  राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पनि यहाँ पुल नबन्दा स्थानीयलाई पालिका आउन पनि लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।       विसं २०६९ मा काठमाडौस्थित नीलगिरी निर्माण सेवाले रु एक करोड सात लाखमा पुल निर्माणका ठेक्का पाएर निर्माण काम सुरु गरेको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने भनिए पनि छ वर्ष बितिसक्दा पनि पुल निर्माण हुनसकेको छैन । दुई वटा पिलर (वेल) मात्र बनाएर काम रोकिएको छ ।  सडक डिभिजन कार्यालय लहानले कम्पनीसँगको ठेक्का तोडिसकेको छ । कार्यालय प्रमुख आशुतोष कर्णले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरी अलपत्र पारेपछि ठेक्का तोडिएको बताउनुभयो ।

काठमाडौं:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एन्ड वेस्टर्न रिजन(फरक्याप)’ को २४औँ शिखर सम्मेलनको उद्घाटन सत्रमा उहाँले अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार रहेको बताउनुभयो ।   सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बन्धित विभिन्न विधाका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक संस्थाका प्रतिनिधिलगायत करिब छ सय जना स्वदेशी तथा विदेशीहरूको भौतिक उपस्थिति रहनेछ ।  यसअवसरमा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोमा उहाँहरूबीच छलफल, बहस तथा प्रस्तुतीकरण गर्ने कार्यतालिका छ ।  नेपालमा पहिलोपटक आयोजना गरिएको यस सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रिस, केन्या, ब्राजिल, भारत लगायतका २३ देशका विज्ञहरूको सहभागिता रहेको छ ।  सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएका छन् । तीमध्ये ६१ वटा अन्तर्राष्ट्रिय र २९ वटा राष्ट्रिय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिने आयोजकले जनाएको छ । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले परिषद्को मुख्य उद्देश्य अनुसन्धानको नियमन गर्ने, असल अनुसन्धान संस्कारको विकास तथा विस्तार गर्न सम्मेलनले टेवा पु¥याउने बताउनुभयो ।  मङ्सिर १२ गतेसम्म चल्ने सम्मेलनको पहिलो दिन अनुसन्धानको स्वीकृतिपछि अनुसन्धानकर्ता तथा आचारसंहिता पुनरावलोकन समितिमा भएका विज्ञहरूको भूमिकाबारे सहभागीलाई तालिम प्रदान गरिएको थियो । सम्मेलनमा अनुसन्धान आचारसंहिताका विभिन्न विषय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका, अनुसन्धानमा नवप्रवर्तनको विकाससँगै बढ्दै गएका चुनौतीका सम्बन्धमा आवश्यक पर्ने आचारसंहिताका सिद्धान्तबारे छलफल गरिने डा जोशीले जानकारी दिनुभयो ।  स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै यस क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, परीक्षण अत्यन्त जिम्मेवारीपूर्वक सञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको र सम्मेलनले विद्यमान चुनौतीको पहिचान तथा उचित सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले विश्वास गरेको छ ।  

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताउनुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो । “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो”,  प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम गर्दैनौँ । यसमा ढुक्क हुन आग्रह गर्दछु ।”  प्रधानमन्त्री ओलीले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उहाँले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिनुभयो ।  नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको उल्लेख गर्दै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो ।  उहाँले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुई दलीय संयन्त्रबाट ‘एजेन्डा’का विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रुप दिइने बताउनुभयो ।उहाँले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताउनुभयो । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यकाबाहिर रहेका कारण अनुपस्थित हुनुहुन्थ्यो भने पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।  

ललितपुर:    ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ ।  ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिनुभयो । “जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हैन, सबै मिलेर लाग्नुपर्छ । अब  हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ”, महानगर प्रमुख महर्जनले भन्नुभयो ।  उहाँले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताउनुभयो ।  महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्छ भन्नुभयो ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तीन सय ६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नु भन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान साङ्केतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । “जिल्ला प्रहरीमा महिला हिंसाविरुद्ध छुट्टै सेल स्थापना भएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाइृ विशेष प्राथमिकता दिएर उजुरी लिने र समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । 

धनुषा:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनुभएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनुभयो ।  सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।  फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनुभयो ।  सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

बागलुङ:    बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ ।बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ ।  बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सीप सिकाउन थालिएको छ । बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो ।  अहिले केही नयाँ त केही गत वर्ष सिकेका २० विद्यार्थीले बुट्टेनली बनाउने तालिम लिइराखेका छन् । करिब १२ वर्षसम्म बुट्टेनलीको तालिम सञ्चालनमा नआउँदा बागलुङको पहिचान बुट्टेनली लोप हुने खतरा बढेपछि बागलुङ हस्तकला सङ्घले सीपको पुस्तान्तरण गर्न गत वर्षदेखि थालेको छ । झन्डै २ सय वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सीप प्रदान गर्न थालिएको हो ।  निगालोलाई कुदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा लोप हुन थालेपछि यहाँको हस्तकला सङ्घले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको हो ।गत वर्ष २० जनालाई २० दिनको तालिम प्रदान गरिएकामा यस वर्ष १५ दिने तालिम प्रदान गरिएको छ ।  निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले गत वर्षदेखि बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको र यस पटक २० विद्यार्थीले बुट्टेनली बनाउन सिकिरहेको बागलुङ हस्तकला सङ्घका अध्यक्ष पुष्पाकिरण श्रेष्ठले बताउनुभयो ।  श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने व्यक्तिको अभाव भएको भन्दै पुस्तान्तरणका लागि अन्यलाई सिकाउन थालिएको हो ।  गत वर्ष वसन्तजङ्ग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुभएको थियो भने अहिले गत वर्ष तालिममा सहभागी काठेखोला गाउँपालिका–८ लेखानीका तेजन विकले समेत तालिममा प्रशिक्षण दिइराख्नुभएको छ ।  “हस्तकला महासङ्घको आर्थिक सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिइरहेका छौँ, तालिमपश्चात् सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, श्रेष्ठले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोका रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलनसमेत बढेको छ, हाम्रो उद्देश्य भनेको बुट्टेनली संरक्षणसँगै व्यावसायिक रुपमा उत्पादन गर्नु र बजारीकरण गर्ने हो ।” अहिले पनि मायाको चिनोका रुपमा बुट्टेनली दिने प्रचलन कायमै छ । बुट्टेनली निर्माण तालिममा बागलुङ बजारका विभिन्न विद्यालयका १४ छात्रा र छ छात्र रहेका छन् । बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुदेर तयार पारिएको बाँसलाई बुट्टेनलीका रूपमा लिइँदै आएको प्रशिक्षक वसन्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । बागलुङको पहिचानमध्येको १ बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन वर्षौंपछि पुस्तान्तरण थालिएको हो । १ हप्तादेखि बुट्टेनली तालिम लिइराखेका कक्षा ८ मा अध्ययनरत अनुप घर्तीले आफूलाई हस्तकला क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बुट्टेनलीको तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायिकीकरण गर्न सहयोग पुग्ने घर्तीले जानकारी दिनुभयो । बागलुङ भित्रिने पाहुनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजे पनि पाइनै छाडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २ सय  वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।  बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् ।  बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले गत वर्ष सिकाएपछि आफूले नियमित रुपमा बुट्टेनली निर्माण गर्दै आएको काठेखोला–८ लेखानीका चेतन विकले बताउनुभयो । अहिले विकले समेत विद्यार्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।

काठमाडौं:     ५  दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा २ देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।  यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिनुभयो ।  प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् ९आईपीटीपी०को अन्तर–संसदीयसभा उत्कृष्ट मञ्च भएको बताउनुभयो । उहाँले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो ।  भेटलाई २ देश बीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सेनसँग भेट गर्नुभएको छ । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिका बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो ।  यस्तै २ देशबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ ।  सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राख्नुभएको थियो ।  उहाँले शनिबार साँझ कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग समेत भेट गर्नुभएको थियो । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो । उहाँ नेतृत्वको टोली मङ्गलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल० ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्नुहुँदै उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।  प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउनुभयो । उहाँले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा  हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु ।” उहाँले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गर्नुभयो ।