काठमाडौं: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उहाँले झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसमा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । भोजपुरको षडानन्द नगरपािलका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट २०२३ पुस १५ गते जन्मनुभएका उहाँको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो । विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गर्नुभएका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत हुनुभएका उहाँ विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचिन हुनुभएको थियो । उहाँको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ । पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गर्नुभएको छ । उहाँको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसस्कार गरिने पार्टीले जनाएको छ । उहाँका श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ ।
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु १ हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ लाख ६५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६७ हजार २ सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएकामा आजका लागि रु १ हजार ९ सय ६० निर्धारण भएको छ ।
झापा: खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो । मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो । सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।” मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले जिल्लामा निर्माण भइरहेका दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्दै परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।” झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।
काठमाडौं: पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गर्नुभयोे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिनुभएको थियो ।सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनुभएको थियो । “नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ”, सभामुखले भन्नुभयो । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ । सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।” सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गर्नुभएको छ । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।
पोखरा: पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले १ वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । ३ वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि २ पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी १ वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताउनुभयो । “तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ”, उहाँले भन्नुभयो । ४ लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिनुभयो । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताउनुभयो । पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा ४ लेन र ५ किमीमा २ लेन सडक कालोपत्र भइसकेको बताउनुभयो । एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान ४ लेनको सडक हुनेछ । –––
दमौली: बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उहाँले बताउनुभयो । गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । समाजसेवी गुरुङप्रति उहाँले कृतज्ञता ज्ञापन गर्दै समाजमा उहाँजस्ता धेरैको खाँचो रहेको बताउनुभयो ।
काठमाडौं: निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् । पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ । एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताउनुभयो । उहाँले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने बताउनुभयो । “विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन् । त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौँ”, उहाँले भन्नुभयो । आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ । त्यो भनेको रु ४८ हजार सात सय हो । निजी कलेजले भने मासिक रु २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन् । यस्तै, एसोसिएसनका उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताउनुभयो ।
गलकोट: कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो । करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताउनुभयो । करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ । “दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, मार्ग ९ट्रयाक० खुलेको पाँच वर्षमा नै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चीनका पर्यटकलाई लुम्बिनी भित्र्याउन सकिन्छ, त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुन्छ”, उपप्रमुख शर्माले भन्नुभयो । करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उहाँ बताउनुहुन्छ । बागलुङका स्थानीय सनम रानाका अनुसार बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलनविन्दु भएकाले पर्यटकीय क्षेत्रको विकासमा सडक सञ्जालले सहयोग पुरयाउने छ । करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटबाट चीनको सिमाना कोरलानाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । चीनका पर्यटक करिडोरबाट नै लुम्बिनी आउन थालेका हुन् । करिडोर निर्माण गर्ने २४ वर्षअघिदेखिको योजना अहिले साकार हुने क्रममा छ । गैँडाकोट–राम्दी–मालढुङ्गा दुई सय २४० किमी र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड २५५ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर करिडोरको स्तरोन्नति र कालोपत्र भइरहेको छ । गैँडाकोट–मालढुङ्गा खण्डको दुई सय ४० किमीमध्ये एक सय ६२ अर्थात् ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैँडाकोट–मालढुङ्गा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो । सामाजिक अभियान्ता टीकाराम ढकाल कालीगण्डकी करिडोर एक धार्मिकमार्ग भएको बताउनुहुन्छ । लुम्बिनीबाट मुक्तिनाथ हुँदैै मानसरोवर जानलाई करिडोरले सहज भएकामा कालोपत्र सम्पन्नपछि थप सहज हुने उहाँको अपेक्षा छ । चीन र भारतलाई सिधा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थालेपछि भारतका तीर्थयात्री रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने थालेका छन् । चीनका बौद्धमार्गीहरू भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा ल्याउने वातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाइ छ । चौबीस वर्षअघि करिडोरको परिकल्पना गुल्मीबाट गरेको ढकालले बताउनुभयो । कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी नदी क्षेत्रमा रहेको रुरु, कालिका मन्दिर, गलेश्वर, मुक्तिनाथ मन्दिरजस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याएको बताउनुभयो । करिडोर क्षेत्रमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्त्वपूर्ण तीर्थस्थल पर्छन् ।
काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । प्रत्येक वर्ष हजारौँ भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन् । आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुभएको छ । उहाँलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नुभएको थियो । नेपाली सेनाको निमन्त्रणामा उहाँ बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । बिहीबार उहाँले सेनाको राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित हुनुभएको छ ।