काठमाडौं: विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो । विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताउनुभयो । “विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो”, उहाँले भन्नुभयो, “यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ । यस दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिबृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ ।” भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उहाँको जोड छ । “भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भूकम्प पश्चात्को सम्भाव्य अवस्थालाई पूर्वआकलन गरी प्रभावकारी र दूत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी छ ।” भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरुमा आवश्यक कार्यहरु निरन्तर रुपमा भइरहेको महर्जनले बताउनुभयो । विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्शा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उहाँको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउनुहुन्छ । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ । पूर्वतयारीको अभाव पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ । “अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सातसय ८७ छ । भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको योजना कार्यान्वयनका लागि रु एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ । भूकम्प प्रतिरोधी संरचनामा जोड भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । “हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ,” उहाँले भन्नुभयो, “भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरुलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।” भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय सङ्कल्प आवश्यक भएको उहाँको भनाइ छ । “राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेता अभिबृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ । कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधि छ कि छैन रु लगायतका विषयमा सचेत हुनुपर्छ ।” इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । आजदेखि लाभग्राहीसँगको सम्झौता सुरु गरी पुनःनिर्माण थालनी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिनुभएको छ । गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।
नवलपरासी: सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गर्नुभएको हो । “मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन”, उहाँले भन्नुभयो, “युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ ।” वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताउनुभयो । वडाध्यक्ष महतोले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आउनुभएको छ । च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले रु दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतोले उत्पादन गर्नुभएको च्याउ घरबाटै बिक्री हुने गरेको छ । धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पु¥याउने गरेको उहाँले बताउनुभयो । “च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।” गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उहाँले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताउनुभयो । “किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।” उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उहाँले बताउनुभयो । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उहाँले बताउनुभयो । “मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु”, उहाँले भन्नुभयो, “अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।” दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उहाँले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताउनुभयो । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उहाँले त्यसबाट राम्रै नाफा हुने बताउनुभयो । सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । “जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ”, उहाँले भन्नुभयो, “हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।” राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ । च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उहाँले भन्नुभयो, “जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ ।” सिजनअनुसार पातेच्याउ रु एक सय ३० देखि दुई सयसम्म तथा डल्लेच्याउ रु तीन सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो । यस यात्रालाई उहाँले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उहाँले लिनुभएको थियो । तर उहाँ एक साताअघि अचानक बिरामी पर्नुभयो । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उहाँलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेर्नुभयो । बाँकी सपना सधैँका लागि अधूरो छाडेर उहाँ स्वर्गीय हुनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मिनु भएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय हुनुहुन्थ्यो । उहाँले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरु खिच्नुभएको छ । उहाँले खिच्नुभएको जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन् । चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ । विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उहाँको सार्वजनिक जीवनको सुरुआत भएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति हुनुहुन्थ्यो । उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उहाँको ठूलो योगदान रहेकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।” सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ ।” चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ । चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिनुभएको थियो । लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गर्नुभएका उहाँ छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लाग्नुभएको थियो । उहाँले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिनुभएको थियो । वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोल्नुभएको थियो । जङ्गली याकको फोटो खिच्ने क्रममा उहाँलाई याकले आक्रमण गरेको उहाँले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ । बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाउनुभएको थियो । नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उहाँलाई अनुमति दिएको थियो । शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिच्नुभएको वडाध्यक्ष फुनुरु बताउनुहुन्छ । उहाँले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिच्नुभएको थियो । यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो । वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन् । शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु(याउनुभएको छ । नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उहाँले सम्मान प्राप्त गर्नुभएको छ । शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुनुहुन्छ भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन हुनुहुन्छ । पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो । उहाँका परिवारका सदस्यहरुका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गर्नुभएन । आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उहाँको चाहना थियो ।
ढोरपाटन: बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो । साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आउनुभएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो । धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकार समान दिने गरेका छन् तर यहाँ भने फरक शैलीमा मन्त्री अधिकरीलाई बिदाइ गरियो । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिुनसभयो । उहाँको हातमा नौ किलोको काउली थियो । शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाउनुभयो । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गर्नुभयो । यस नगरपालिकाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममा अतिथिलाई स्थानीय उत्पादनलाई प्रयोग गर्दै आएको छ । यस वर्ष पनि सोही नीतिअनुसार कृषिमन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिइएको उपप्रमुख शर्माले बताउनुभयो । उहाँले उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन गरेको बताउनुभयो । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको उपप्रमुख शर्माले बताउनुभयो । “जैमिनी नगरपालिकामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या धेरै छ, उहाँहरूले बर्सेनि तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ । त्यस्ता किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ”, उपप्रमुख शर्माले भन्नुभयो, “किसानलाई थप हौसला मिल्ने हुँदा उहाँहरूको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो । यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ । स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाले किसानलाई प्रोत्साहनका लागि गरेको यो कार्य सराहनीय रहेको बताउनुभयो । मेला महोत्सवमा प्रदर्शन र मन्त्री तथा अन्य पाहुनालाई स्थानीय उत्पादनलाई मायाको चिनोका रुपमा दिँदा किसानको पहिचान बढ्ने र बजारीकरणमा सहज हुने उहाँको विश्वास छ ।
काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले लोकार्पण गर्नुभयो । बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि रु हत्तेरिक्ता औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् । कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो । मुटुरोग विशेषज्ञ डा कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।” डा मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो । हास्यकलाकार आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयबस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको धारणा राख्नुभयो । लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्को गरेको बताउनुभयो । उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताउनुभयो । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र०को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।
हेटौंडा: करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उहाँले बताउनुभयो । मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिनुभएको थियो । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ आठ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा तय भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर्नुभएको छ । बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर)मा आज आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो । “आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ”, नेता कोइरालाले भन्नुभयो, “शताब्दी लामो हाम्रो सम्बन्धका बारेमा यहाँ आएर चर्चा गर्न पाउँदा, यहाँहरूको न्यानो आतिथ्यताका लागि आफू अत्यन्त हर्षित भएको छु, सबैलाई धन्यवाद प्रकट गर्दछु ।” दुई देशबीचका ऐतिहासिक सम्बन्धलाई आज जनस्तरको सहकार्यले बढाउँदै लगेको उल्लेख गर्दै नेता कोइरालाले यही सम्बन्धका आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्कोतर्फबाट निरन्तर सहयोगका लागि बेलायती सरकारप्रति आभार प्रकट गर्नुभयो । “नेपालीहरूले गोर्खाका नाममा बेलायती सेनामा गरेको लामो र अतिविशिष्टकृत सेवा दुई देशकाबीचको शताब्दीदेखिको लामो मित्रताको आधार हो”, उहाँले भन्नुभयो, “दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमुल्य जीवन पनि गुमाए । बेलायती सरकारले उहाँहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकामा खुसी छु ।” उहाँले गोर्खा सैनिकले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उहाँहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन आग्रह गर्नुभयो । सङ्कटमा बेलायतले गरेको सहयोग प्रशंसनीय नेपालमा सङ्कट परेको बेलामा बेलायत सरकारले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा प्रगाढ बनाएको कांग्रेसका नेता डा कोइरालाले बताउनुभयो । एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ को बेलामा गरेको सहयोगहरू उल्लेख्य भएको भन्दै प्रशंसा गर्नुभयो । “नेपालको जलविद्युत्, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना, हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त संभावना भएको क्षेत्रमा पर्दछ”, नेता डा कोइरालाले भन्नुभयो । नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको जानकारी गराउँदै उहाँले नेपालमा बेलायती लगानी सकारात्मक भए पनि यसमा अझ वृद्धि गर्न सकिने अपेक्षा राख्नुभयो । विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठुला बजार भएका दुई देशका बीचमा नेपाल अवस्थित रहेको बताउँदै उहाँले स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायत अन्य क्षेत्रमा नेपालमा लगानी गर्न बेलायतका उद्यमीहरूलाई आग्रह गर्नुभयो । विभिन्न समयमा हुने उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावतलगायतले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गरेको उल्लेख गर्दै नेता कोइरालाले दुई देशका सांसदहरूको भ्रमण र विचार आदानप्रदानले बहुआयामिक सम्बन्ध प्रगाढ बनाएको बताउनुभयो । “विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । यी दुई शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ”, नेता डा कोइरालाले भन्नुभयो । उहाँले आफू नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको अवगत गराउँदै सन् १९४० को दशकदेखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू व्यहोरेको उहाँले जानकारी दिनुभयो । “नेपालले लामो समय आन्तरिक द्वन्द्वको अवस्था सामना गर्यो । नेपाललाई लोकतान्त्रिक मुलुक बनाउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम कांग्रेसको नेतृत्वमा भएको हो । संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्यनिरुपण आयोग बनाउनेसम्बन्धी विधेयक पास गरेको छ ।” नेता कोइरालाले लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेका उल्लेख गर्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले सन् १९७० को दशकमा उक्त विषय बुझेर सचेत गराउँदै भन्नुभएको विषय उद्धृत गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउनु हुँदैन ।” नेता डा कोइरालाले भू–परिवेष्ठित र अतिकम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभए पनि विभिन्न चुनौती सामना गरिरहेको जनाउँदै हिमालयन पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा परेको प्रभावको न्यूनीकरण र वित्तपोषणको कार्यमा बेलायतको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा बेलायतका उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमस र एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्टले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

