काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो । फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ। प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ । नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
काठमाडौं : विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ। विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नदिने र विभिन्न कारणमा उडानमा ढिलाई हुने गरेको भन्दै कार्यालयले उक्त निर्देशन दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले विमानस्थल सुधारको काम थालेको हो। कोभिड पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्स को प्रबन्ध पुनः सुरु गर्न पनि वायुसेवा सञ्चालकलाई अनुरोध गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसैगरी विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्णय गरेको छ। यसैगरी खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय भएको कार्यालयले जनाएको छ। आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको छ। विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ। यसका साथै पार्किङ गर्न नपर्ने तथा आफन्त पिकअपका लागि मात्र आउने यात्रुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउन विमानस्थल कार्यलयबाट सञ्चालकलाई निर्देशन दिइएको छ।
पोखरा: पोखरामा लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ बुद्व मार्गबाट रोशन अधिकारीलाई ११४ एम्पुल लागू औषध सहित प्रकाउ गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । उनको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल लागू औषध बरामद गरेको हो । उनलाई लागू औषध सम्बन्धि मुद्वामा पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०७९ नमूना परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८१ र एन्टीजेनबाट ६९८ नूमना परीक्षण गर्दा पीसीआरबाट ४४ र एन्टिजेनबाट ९८ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पुस १० गते गठन भएको मन्त्रिपरिषद्मा शुक्रबार व्यापक हेरफेर भएको हो। हेरफेरसँगै मन्त्रिपरिषद्को संख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार संघीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। अब आठ सदस्य मन्त्री थप्न सकिने छ। पहिलो पटक सत्तारुढ भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।
भक्तपुर: आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिनुभएको हो । यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।
अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ। अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय भएको हो। 'नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो,' निर्माता रामबाबु गुरुङले भने। उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ। निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन्। अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए। ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ। पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म निर्माण भएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। यो फिल्म वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ।
काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो। चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन्। ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए। लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ।
काठमाडौं: नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ ।