राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

साउदी : बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्।   साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि  एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन  शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद  हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो।   पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो।    पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी  प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा  इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्। 

काठमाडौँ:  इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।   शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।    आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ ।    हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ ।    खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ ।   निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।   

काठमाडौं:हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताय सफा रहने जानकारी दिएको छ।    आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।    यस्तो रहनेछ आगामी तीन दिनको मौसम    २०७९ चैत १९ गते (आइतबार)   दिउँसोː  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   २०७९ चैत २० गते (सोमबार)   दिउँसोː  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।   २०७९ चैत २१ गते (मंगलबार)   दिउँसोː  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ।   पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।   राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।   राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।   पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।  

काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ।    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो।   ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र बागमती प्रदेश–०३–००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटका २६ वर्षीय अर्जुन लामालाई पक्राउ गरेको हो।   ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गए राति १० बजेदेखि १२ बजेसम्म २१ सवारी साधनमा गरेको जाँचका क्रममा चार चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।    नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रवक्ता भट्टले बताए। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको सो कार्यालयले जनाएको छ।  

काठमाडौं : आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ।   शनिबार उनीहरूबीच पाँच बुँदे सहमति भएको हो। जसअनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७९/०५/२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ।   त्यस्तै मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च व्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरव्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भएपश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।   मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी/गुनासोलाई सम्बोधनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको प्रतिनिधि समेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने । उक्त समितिले बुँदा नं. २ बमोजिम गठन हुने आयोगको कामलाई सहयोग र सहजीकरण गर्ने, पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानूनी सहायता तथा सचेतनाको लागि सहजीकरण गर्ने सहमतिमा पत्रमा उल्लेख छ।   त्यस्तै अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी कार्यलाई कसूर कायम गर्ने गरी सम्बन्धित कानूनमा संशोधन प्रक्रिया अगाडि बढेकोले उक्त संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुऱ्याउन नेपाल सरकारलाई अनुरोध गर्ने र बुँदा नं. २ बमोजिमको आयोग गठनको निर्णय भएसँगै मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।    वार्तामा सरकारका तर्फबाट सहसचिव प्रदीप कुमार कोइराला संयोजक र सदस्यमा उपसचिव उमाकान्त अधिकारी, दिल कुमार तामाङ र प्रहरी उपरीक्षक दिनेश राज मैनाली रहेका थिए भने संघर्ष समितिको तर्फबाट मनोज पासमान, श्याम कुमारी चौधरी, संघर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमान रहेका थिए।

रामेछाप : खाँडादेवी गाउँपालिका राकाथुमको पिपलबोटमा बोलेरो दुर्घटना भएको छ।   बा१६च ३८२५ नम्बरको बोलेरो गाडी करिब ३ सय मिटर भिरबाट खसेर दुर्घटना भएको पूर्व वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए।    दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक बालकसहित दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। अन्य तीन जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ।

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन्।    रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए।    खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजु भाई बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ। नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ।’   उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन्। राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ। खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ। सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं। यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं।’

काठमाडौँ: नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको छ ।   शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् ।    वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।