म्याग्दी: म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् । महिलाका लागि अन्य सरकारी सेवाभन्दा शिक्षा सेवा सहज र सुरक्षित भएकाले यो पेसा रोजाइमा परेको हो । पुरुषहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी र निजामती सेवातर्फ भएकाले महिलाहरूलाई शिक्षा सेवामा प्रवेश गर्न सहज भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । धेरै जसो घरपायक पर्ने भएकाले पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ । "शिक्षक सेवाको परीक्षामा ४८ प्रतिशत महिला उत्तीर्ण हुन सफल हुनुभएको छ यो सकारात्मक पक्ष हो," हिकाई प्रमुख थापाले भन्नुभयो, "पछिल्लो समय स्थानीय स्तरमा करार र राहत कोटामा शिक्षक भर्ना हुँदा पनि महिला नै छनौटै हुने गरेका छन् । शिक्षक सेवाको परीक्षामा पनि महिला र पुरुष करिब बराबरी सङ्ख्यामा उत्तीर्ण हुनुले शिक्षा सेवामा महिलाको आकर्षण बढेको देखाउँछ ।" यसले शिक्षा सेवालाई समावेशी बनाउँदै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । म्याग्दीमा युवाहरू प्रायजसो वैदेशिक रोजगारीमा जाने भएकाले पनि शिक्षा सेवामा महिलाहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । अन्य सरकारी सेवाभन्दा शिक्षक सेवा आफ्नो पहिलो रोजाइ भएको नियुक्ति पत्र बुझ्न आउनुभएकी रघुगंगा गाउँपालिका ३ मौवाफाँटकी उर्मिला रेग्मी खत्रीले बताउनुभयो । महिलाका लागि शिक्षक पेसा सुरक्षित र सहज भएको अनुभव गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, "मैले विगत ४ वर्षदेखि करार शिक्षकका रूपमा विद्यालयमा अध्ययन गराइराखेकी छु । शिक्षक पेसा अन्य सरकारी सेवा भन्दा सहज भएको अनुभूति गरेको छु।" शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका एक सय जनालाई शनिवार एक कार्यक्रमकाबीच नियुक्ति पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको थियो । शिक्षा विकास तथा समन्वय हिकाई म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरूलाई एक समारोहकाबीच नियुक्ति पत्र प्रदान गरेको हो । यस वर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परीक्षामा उत्तीर्ण भएर म्याग्दीमा प्राथमिक तहमा एक सय जना, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा एक सय २६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो । तीन वटै तहमा माग भएको कोटाभन्दा कम सङ्ख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका छन्। रायले वर्षेनी साधरण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगेका कारण भत्ता बाँढ्न नसक्ने बताएका हुन्। उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताए। आर्थिक पत्रकार संघसँगको भेटमा उनले योगदानविना सामाजिक सुरक्षा भत्ताको रुपमा अर्बौं रुपैयाँ लामो समयसम्म दिन सक्ने अवस्थामा सरकार नभएको बताएका हुन्। 'यसरी अर्बौं रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ,' उनले भने। उनले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए। अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताए। यसो गर्दा सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताए। उनले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने बताए।
म्याग्दी: बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ । एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्षयता निरन्तर छ । झरीबादल, चर्को घाम उहाँका लागि सामान्य छ । तरकारी र सागसब्जी बिक्री गरेर उहाँले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । तरकारी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । डोको बोकेर पवित्रा होटलदेखि सर्वसाधारणको घरघर पुग्नुहुन्छ । सबै किसिमका तरकारी पवित्राको डोकामा पाइन्छन् । उहाँले चाइनिज तोरी, लसुन, प्याज, पालुङ्गो, रायो, मुला र ताजा तरकारीमा काउली, बन्दा, गोलभेँडा दैनिक बेनी ल्याएर बिक्री गर्नुहुन्छ । “पहिला एक मुठाको एक रुपियाँमा पनि साग बिक्री गरेँ, धेरै वर्षपछि दुई रुपियाँ भयो । अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको साग मुठाको ५० रुपियाँसम्म बिक्री गर्ने गरेको छु,” पवित्राले भन्नुभयो, “एक डोका सागसब्जी बिक्री गर्दा अहिले एक हजार रुपियाँ आउँछ । तरकारी ल्याउँदा तीन हजारसम्म पार्ने गरेकी छु, मलाई आजकल त बजारमा तरकारी आमा बनेर बोलाउने गर्नुहुन्छ ।” दुई/तीन रोपनीमा सागसब्जी र तीन/चार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले सुनाउनुभयो । उहाँका श्रीमान् चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान्, छोरा र बुहारी छन् । सबै जना तरकारी खेतीमा आबद्ध छन् । कार्कीको खेतबारीमा बाह्रै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
गण्डकी: चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहनुभएको छ । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उहाँ बताउनुहुन्छ । सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उहाँ पुग्नुभयो । छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उहाँले राष्ट्रगान गाउनुभयो । नेपालको राष्ट्रगानबाट सुरु भयो, उहाँको प्रस्तुतिको सिलसिला । सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उहाँले विभिन्न देशका राष्ट्रगान गाइरहनुभयो । प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए । विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उहाँले पहिले नेपालको राष्ट्रगान गाउनुहुन्छ । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रबार पनि उहाँले त्यसै गर्नुभयो । भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उहाँको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए । नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे । गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे । कतिले तस्बिर लिए । कोहीले मोबाइलमा चलदृश्य कैद गरे । उहाँको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो । बीचतिर उहाँले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहनुभएको थियो । यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो । तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे । उहाँसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दङ्ग परे । नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्कनुभएको हो । कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उहाँ अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहनुभएको छ । “पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु ।” नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाउनुभयो । सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उहाँको भनाइ छ । उहाँले अहिले एक सय ५० देशका राष्ट्रगान गाउनुहुन्छ । विश्वयात्राका क्रममा उहाँले हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ । नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर आउनुभएको थियो । कोभिड–१९ यता उहाँको पहिलो विदेशयात्रा थियो त्यो । उहाँले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आउनुभएको छ । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उहाँ सफल हुनुभएको हो । उहाँको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उहाँले स्मरण गर्नुभयो । “आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झनुभयो । तीन वर्षअघि भारत पुग्दा उहाँले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गर्नुभएको थियो । नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गर्नुभएको छ । “कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु”, नेपालीले भन्नुभयो । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उहाँको लक्ष्य भने पछाडि धकेलिएको छ । कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताउनुभयो । जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उहाँको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भन्नुभयो । बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी । “मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो”, उहाँले भन्नुभयो, “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।” विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उहाँले बताउनुभयो । नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आउनुभएको छ । एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन सङ्कलन गरिसकेको उहाँको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उहाँको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भन्नुभयो । उहाँले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्नुहुन्छ । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिनुभएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै सङ्गीत कर्ममा फर्कने बताउनुभयो ।
कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज बिहान पोखरा–मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो । टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्डसहित मुग्लिनसम्म हुनेछ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पश्चिम खण्डको काम ढिलाइ भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो ।” निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको उहाँको भनाइ छ । सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे । सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ । पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो ।
पोखरा: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । आफु स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको रास्वपा गण्डकी प्रदेश स्रोतले जनाएको छ ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्। काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ। स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ। यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने। पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए। उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।
रुकुम: रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्। दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।