काठमाडौं: वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ। आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्।
काठमाडौं: मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने। सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।
काठमाडौं: बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।
काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ। ‘उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ,’ जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सेतोपाटीसँग भने,‘उहाँको उम्मेदवारी कायम भएको छ। अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।’ लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन: नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए। उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो। चैत २० गते उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए। कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। कार्यालयले भोलि नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने जनाएको छ।
काठमाडौं: बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए। गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन। पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषदमा पनि निवेदन दिएकी थिइन्। न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्।
चितवन : चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी कायम गरेको हो। लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेका कारण लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए। लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराएका थिए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको छ। लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको जिल्ला अदालत प्रशासनले जनाएको छ। मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो। रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो। अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ। यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेको थियो। फैसलासँगै लामिछानेको सांसद ,उप्रधानमन्त्री,गृहमन्त्री पद गुमेको थियो। पछि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन्। महान्यायाधिवक्ता डा.पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो।
काठमाडौं : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अमेरिकाबीच द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। गृहमन्त्रालयका अनुसार नेपालमा अमेरिकी लगानी,कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए । कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले त्यहाँ कार्यरत कर्मचारीको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेका थिए। जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताएका थिए। गृहमन्त्री श्रेष्ठले वैदेशिक लगानी र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए।