चितवन : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । 'सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्', उनले भने, 'राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।' निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ । 'जनताले सुरक्षित महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ', उनले भने। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहनेछ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए । प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
पोखरा: नेपाल मगर संघ, गलेश्वर इकाई समिति पोखरा –१५ को अध्यक्षमा हिमाल आले मगर सर्वसम्मत चयन भएका छन् । संघको प्रथम अधिवेशनले आले मगरलाई सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा मिना थापा मगर, कोषाध्यक्षमा मनमाया थापा मगर, सचिवमा मिरा बुढा र सहसचिवमा शम्भु राना मगर छन् । यसै गरी सदस्यहरूमा पदम बुढा, दिलु राना मगर, गोमा थापा मगर, सुशीला थापा मगर, उमा थापा मगर, हेमा आले मगर, मोहन राना मगर, मुक्तिश्वर थापा मगर, मनोज राना मगर र अर्जुन थापा मगर चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीकी अध्यक्ष तथा प्रमुख अतिथि सङ्गीता पुन मगरले कास्कीका विभिन्न भागमा छरिएर रहेका मगरहरूलाई गोल बन्ध गरी आफ्नो भेसभुसा, भाषा र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताइन्। उनले मगर समुदायको आफ्नै गौरवशाली इतिहास र सभ्यता रहेको भन्दै संघमा आबद्ध भइसकेपछि इकाई हरूले गर्नुपर्ने काम कर्तव्य र प्रक्रियाका बारे बताइन् । यस्तै, विशिष्ट अतिथि नेपाल मगर संघ सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले नेपालमा आदिवासी मध्येको सबैभन्दा धेरै सङ्ख्या मगरहरूको रहेको भन्दै आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि हामीले नै पहल गर्नुपर्ने बताए । नेपाल मगर संघ सङ्गठन विभाग प्रमुख भक्त पुन मगरले कास्कीमा अहिलेसम्म मगर संघका ४० वटा इकाई बनिसकेको जानकारी दिँदै गलेश्वर इकाई समिति ४१ इकाई समिति रहेको बताए। उनले कास्कीमा धेरै मगरहरूको बसोबास रही आएको पाइए पनि मगरहरू एकत्रित हुन नसक्दा प्राविधिक, शैक्षिक तथा आर्थिक हिसाबले पछाडि परेको बताए । नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष चन्द्र पुर्जा मगरले गलेश्वर इकाई समितिका नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिए । नेपाल मगर संघ पोखरा महानगरपालिकाका अध्यक्ष ओम श्रीस मगरले आफ्नो थातथलो छोडेर पोखरा आई बसोबास गरिसकेपछि हामीलाई समाज चाहिन्छ, समाजको निर्माण गर्नुपर्छ भनेर गलेश्वर मगर समाज नेपाल मगर संघको इकाईमा आउनु सराहनीय कार्य भएको बताए । कार्यक्रममा गलेश्वर समाजका संस्थापक तथा ज्येष्ठ सदस्यहरू वीर बहादुर राना, प्रेम सारू, रेशम प्रसाद बुढा, यमन सिंह आले र विष्णु राना लगायत समाजलाई सहयोग स्वरूप करुवा लगायतका सामग्री प्रदान गर्ने सदस्य द्वय लालसुवी बुढा र सुशीला थापा मगरलाई सम्मान गरिएको थियो । सभापति शोभित बहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिरा बुढा मगरले गरेकी थिइन् भने डिल बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।
पोखरा: गलपासो भयो आज गणतन्त्र भनीकन जनआवाज उठ्दैछ घनीभूत बनीकन स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं । यी कविताका हरफ हुन गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीका । आफ्नो कार्यव्यस्तताले वारेसमार्फत् पठाएका सिर्जनासँगै यस्तै–यस्तै रचनावाचनले शनिवार पृथ्वीचोक आसपासको सडक गुञ्जयमान भयो । कुलपति बिखर्ची मात्र होइन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले व्यस्तताका बाबजुद यसरी नै सिर्जनाकामार्फत् सहभागिता जनाए । यी रचनासँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सुनाएः सत्ता र बेइमानी बीचको नाता चुट्याउन आउँदैन भने के हो सही के हो गलत खुट्याउन आउँदैन भने जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मुर्ख हो ! मुख र मलद्धारमा फरक छुट्याउन आउँदैन भने । वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने सबै कुराको चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो । संविधान भन्दा माथि कोही नहुने भएकाले पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो । कार्यक्रमको औचित्यमाथि जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार तथा संस्थाका महासचिव मदन भण्डारीले प्रकाश पारेका थिए । उनले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसानहरू सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए । राज्यका कुर्चीहरूमा लायक पात्रहरु नभएकाले राज्यमा वेथिति बढेको ठहर गर्दै संस्थाले जनताका दुःख, दर्द जनताले लडेर ल्याएको आजको सरकारले नसुनेकाले सरकारलाई सुनाउन मञ्चमा आवाज राखेर सरकारको कानमा पु¥याउन खोजेको महासचिवको भनाइ थियो । संस्थाका उपाध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए । संस्थाले गण्डकी प्रदेश भित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित सडकमा आमन्त्रण गरेको थियो सडकमा वाचित २५ कविका रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए । लोकसंस्कृतिका अध्येता प्रा.डा. कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले हाम्रा नेताहरूको दुषित विचारले नेपाल कहिल्यै नेपाल बन्न नसकेको टिप्पणी गरे । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए । सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश हुने धारणा राखे । कार्यक्रममा साहित्यकार डा. जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना तेजबहादुर गुरुङ अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचनावाचन गरेका थिए ।
झापा : नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो। यसैगरी चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो। मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ। रासस
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अष्ट्रेलियन डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। त्यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।