सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।   सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्ण...

काठमाडौं:   मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।    सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसातोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा बढेको हो।   क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।  

काठमाडौं:  मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।   गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भएको थियो।   सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  सहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्।   सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्।   उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ नगर्ने बताइन्।    उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्।    उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन्।    उनले भनिन्,  ‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याइँ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो। हिजोमात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौं। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौं। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागिपरेका छौं।’   समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरूङले बताइन्।

काठमाडौं : २५ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन्।    जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङ पक्राउ परेका हुन्।    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो। 

काठमाडौं : थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा २९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन्।   सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीररूपमा लागिरहेको बताए।   'मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं,' उनले भने।   प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको बताए। 'अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ। बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन। सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेरमात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं,' उनले भने।   उनले अर्थतन्त्रमा संकट आउनु राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताए। 'यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्धलगायतका कारण छन्। आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीररूपमा लागेका छौं,' उनले भने।    उनले अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भन्दै त्यता जोड दिएको बताए। घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसक्नै बताउँदै उनले छिट्टै निष्कर्षमा पुग्ने बताए।    'बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन। हुलहुज्जतको सहज सकिँदैन। त्यसमा सरकार कठोर हुन्छ,' उनले भने।    छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए।    बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारीहरू सहभागी थिए।  

काठमाडौं:  राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।   यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।   प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो ।   बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन  प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ । 

 काठमाडौं:  काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ ।   सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।   उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताए । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ ।   ‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ’, उनले भने ।   काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिए ।   शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ । चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो ।   सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन् । उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन् । विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ ।

काठमाडौं: सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।   बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।   नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।   जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ ।   ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।