नवलपुर: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक विस्तार छिट्टै हुने बताएका छन् । चितवन राष्ट्रिय निकुन्ज क्षेत्र भित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागी वातावरणीय प्रभाव मुल्यांकनको काम तत्काल सुरु गरिने उनले बताए । आइतबार मुख्यमन्त्री अधिकारी, प्रदेश सभा सदस्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख , पूर्वाधार विकास कार्यालयका प्रमुख, भौतिक मन्त्रालय सचिव ,मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका मुख्यमन्त्री अधिकारी समक्ष स्थानीयहरुले बाटो विस्तारको कुरा पटकपटक भएपनि तत्काल काम गरिदिन आग्रह गरेका थिए । ‘अहिलेसम्म वातावरणीय प्रभाव मुल्यांकन समेत भएको थिएन, अहिले त्यो संगै आवश्यक काम अगाडी बढाउन सहमती बनेको छ भोलीबाट नै आवश्यक कामहरु सुरु हुन्छ’, स्थानीय समक्ष मुख्यमन्त्री अधिकारीले भने । मुख्यमन्त्री नियुक्ती भए लगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनको रुपमा त्रिवेणीदेखी कोरला नाकासम्मको बाटो विस्तार गरिने बताएका थिए । उनले चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा सडक विस्तारका लागी सहमति पत्र प्रदेश सरकारलाई दिनका लागी निरन्तर पहल गरेका थिए । ‘यो बाटो प्रदेशको लाइफ लाइन हो, सु्रुआतदेखी नै म लागिरहेको थिए खासगरी निकुन्ज भित्रदेखिएको समस्या अब टुङ्गिएको छ । अब बन्यजन्तुहरुलाई कुनै असर नपर्ने गरि काम अगाडी बढाउनुपर्नेछ । यसका लागी सम्बन्धी कार्यालयले काम सुुरुआत गरिहाल्नुस्’, मुख्यमन्त्री अधिकारीले कार्यालयका प्रमुखहरुलाई भने । मुख्यमन्त्री अधिकारीले मित्र राष्ट्र भारतको सिमा नाकाबाट गण्डकी प्रदेशको राजधानीसम्म पुग्ने सडकले प्रदेशको समृद्धिको ठूलो योगदान पुग्ने बताए । प्रदेश सरकार अन्तरगत सोही सडकखण्डको तनहुँ क्षेत्रमा सडक स्तरोन्नतीको काम भइरहेको छ । ‘आफ्नै प्रदेशको बाटो हु्ँदा हुदैंपनि अर्को प्रदेशबाट आवतजावत गर्नुपर्ने अवस्था छ, हामी यसलाई अन्त्य गरेर हाम्रै प्रदेशबाट सिमासम्मै आवतजावत गर्न सहज बनाउनेछौं यसले जनताको आवतजावत मात्रै होइन व्यापारी दृष्टिकोणबाट पनि ठूलो राहत मिल्नेछ व्यावसायीहरुलाई पनि सहज हुनेछ’, उनले भने । आइतबार नै मुख्यमन्त्री अधिकारीले सडक डिभिजन कार्यालयका प्रमुख, ठेकेदार र स्थानीय पालिका प्रमुखहरुसंग भेट गरि सडक विस्तार कार्यप्रगती बारे जानकारी लिएका थिए । बौदिंकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले स्थानीय सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय भईरहेको बताए । ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग सबैगरेका छौं यो बाटोलाई जतिसक्दो छिटो पुरा गराउन सकेमा हाम्रा लागी ठूलो सफलता मिल्नेछ’,उनले भने । भौतिक विकास तथा यातायात मन्त्रालयका सचिव तुलसी भट्टराईले काम अन्तिम चरणमा पुगेका खण्डमा असार अगावै काम सम्पन्न गराउन निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । उनले अन्य खण्डमा पनि कामलाई जतिसक्दो टुङ्गोमा पुर्याउने काममा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजिकरण र समन्वय गरिने बताए ।
काठमाडौं: उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा सार्वजनिक भएको अडिओबारे छानबिन हुने बताएका छन्। रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ। कपुरबोट मिडियाले रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको अडिओ आइतबार सार्वजनिक गरेको थियो। सोमबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुने बताए। ‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ।’ उनले यो विषयमा अनुसन्धान एउटा र अर्को विषय भनेको सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। रास्वपाले सांसद श्रेष्ठलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने रास्वपाको चेतावनी छ।
रुकुमपूर्व: जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यही चैत २१ गते मङ्गलबार दिउँसो सिस्नो टिप्न भनी घरबाट निस्किएका दिदीबहिनी १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जङ्गलको भीरमा मृत भेटिएका थिए । त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई बालिकालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको दुई बालिकालाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो । अहिलेसम्मको अनुसन्धानबाट मृतक दुई बालिकासँग रहेको सुनका गहना लिनका लागि दुई बालिकाले उनीहरूमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ । दुई बालिकालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा सुन लुकाएको बताएका थिए । “दुई बालिकाले सुन लुकाएको ठाउँमा खोजतलास गर्दा सोही ठाउँमै सुन भेटियो” डिएसपी श्रेष्ठले भन्नुभयो–“उक्त ठाउँबाट अनुमानित एक ताेला सुन बरामद गरिएको हो ।” अहिले दुई बालिकालाई अदालतमा पेस गरी घटनाको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । “यस घटनामा अरूको पनि संलग्नता हुन सक्छ” श्रेष्ठले भन्नुभयो –“हामी विभिन्न पाटोबाट घटनाको अनुसन्धान गरिरहेका छौँ ।”
कैलाली: कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। उनीहरुको उपचार भइरहेको डिएसपी चन्दले जानकारी दिए। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १८ पैसा घटेको हो। त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६२ रुपैयाँ २९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३ पैसा पाइन्छ। आइतबार पाउण्ड एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको थियो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
सप्तरी : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं: कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्। बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ। यसअघि चैत १७ मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमालेले उनलाई विश्वासको मत दिएको थियो।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटामा सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको हो। रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो । सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्र बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।
म्याग्दी: म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् । महिलाका लागि अन्य सरकारी सेवाभन्दा शिक्षा सेवा सहज र सुरक्षित भएकाले यो पेसा रोजाइमा परेको हो । पुरुषहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी र निजामती सेवातर्फ भएकाले महिलाहरूलाई शिक्षा सेवामा प्रवेश गर्न सहज भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । धेरै जसो घरपायक पर्ने भएकाले पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ । "शिक्षक सेवाको परीक्षामा ४८ प्रतिशत महिला उत्तीर्ण हुन सफल हुनुभएको छ यो सकारात्मक पक्ष हो," हिकाई प्रमुख थापाले भन्नुभयो, "पछिल्लो समय स्थानीय स्तरमा करार र राहत कोटामा शिक्षक भर्ना हुँदा पनि महिला नै छनौटै हुने गरेका छन् । शिक्षक सेवाको परीक्षामा पनि महिला र पुरुष करिब बराबरी सङ्ख्यामा उत्तीर्ण हुनुले शिक्षा सेवामा महिलाको आकर्षण बढेको देखाउँछ ।" यसले शिक्षा सेवालाई समावेशी बनाउँदै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । म्याग्दीमा युवाहरू प्रायजसो वैदेशिक रोजगारीमा जाने भएकाले पनि शिक्षा सेवामा महिलाहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । अन्य सरकारी सेवाभन्दा शिक्षक सेवा आफ्नो पहिलो रोजाइ भएको नियुक्ति पत्र बुझ्न आउनुभएकी रघुगंगा गाउँपालिका ३ मौवाफाँटकी उर्मिला रेग्मी खत्रीले बताउनुभयो । महिलाका लागि शिक्षक पेसा सुरक्षित र सहज भएको अनुभव गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, "मैले विगत ४ वर्षदेखि करार शिक्षकका रूपमा विद्यालयमा अध्ययन गराइराखेकी छु । शिक्षक पेसा अन्य सरकारी सेवा भन्दा सहज भएको अनुभूति गरेको छु।" शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका एक सय जनालाई शनिवार एक कार्यक्रमकाबीच नियुक्ति पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको थियो । शिक्षा विकास तथा समन्वय हिकाई म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरूलाई एक समारोहकाबीच नियुक्ति पत्र प्रदान गरेको हो । यस वर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परीक्षामा उत्तीर्ण भएर म्याग्दीमा प्राथमिक तहमा एक सय जना, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा एक सय २६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो । तीन वटै तहमा माग भएको कोटाभन्दा कम सङ्ख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताउनुभयो ।