काठमाडौं: बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ । मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् । अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले विधान अधिवशेन मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार बिहान सकिएको स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन र त्यसको १ वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव पारित गरेको छ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी थप विस्तार हुने भएको छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको थियो । तर गतवर्ष विधान विपरित समितिलाई विस्तार गरी ३८५ सदस्यीय बनाइएकाे छ । बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले फेरि विधान संशोधन गरी केन्द्रीय समिति समावेशी बनाउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए । विधान समावेशी नभएको भन्दै महिला, जनजाति र युवा साथीहरूले गुनासो गरेका थिए । उहाँहरूको मागलाई सम्बोधन गर्न विधान संशोधन गर्ने निर्णय भएको छ । संशोधित विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि ४०९ सदस्य हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । प्रचण्डलाई भेट्न ओली आज बिहान बालुवाटार पुगेका थिए । कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
काठमाडौं: साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।” बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।
सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको झुन्डिएको अवस्थामा मृत भेटिएका छन। शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत उनी रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा भेटिएका हुन। उनी जाजरकोटको खलंगा गाउँपालिका ६ का बासिन्दा हुन। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।
पोखरा: प्रेस चौतारी गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए । ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’ प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’ पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो । “पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घरभित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।” केही वर्ष पहिले घर पछाडि करिब ५० हात जति पर मात्र मर्स्याङ्दीको पानीको सतह भए पनि २०७८ सालमा आएको बाढीले आफूसहित स्थानीय १४ घर बगाएर लैजाने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दीको बाँधको सतह बढ्दा स्थानीय बद्री घिमिरे, मिलन गुरुङ, दलबहादुर माकिम मगर, तारा राना, उद्धव पौडेल, विष्णु पराजुली र सुन्दर बानियाँलगायतको घर बगाउने जोखिममा छ । पानी परेपछि आफूसहित स्थानीयहरु घर अघि पृथ्वी राजमार्ग किनारामा रहेको चौतारामा बसेर रात काट्ने गरेको स्थानीय ५८ वर्षीय मिलन गुरुङले बताउनुभयो । आफूहरुले मुआब्जाको लागि मर्स्याङ्दी जलविद्युत् आयोजनालाई पटकपटक भने पनि कुनै वास्ता नगरिँदा आफूहरु जोखिममा रहेको मिलनको भनाइ छ । “मर्स्याङ्दीको बाँधले बस्ती नै डुबाउला जस्तो भइसक्यो”, मिलनले भन्नुभयो, “मुआब्जाका लागि पटकपटक पहल गरे पनि कसैले वास्ता नगर्दा कुनबेला मर्स्याङ्दीमा परिन्छौँ भन्ने चिन्तामा छौँ ।” घर पछाडि मर्स्याङ्दीको बाँधबाट बचाउन जालीमा ढुङ्गा भरेर लगाइए पनि त्यो संरचना कमजोर हुँदा पानी ठेलिएर घर बगाउने अवस्थामा पुगेको मिलनले बताउनुभयो । आफूहरुले मर्स्याङ्दी जलविद्युत् परियोजनाका कर्मचारीलाई सिमेन्टको बलियो पर्खाल बनाउन भने पनि बेवास्ता गरिएको उहाँको भनाइ छ । “मर्स्याङ्दीको बाँधबाट बस्ती बचाउन सिमेन्टको बलियो पर्खाल लगाउन भनेका थियौँ”, मिलनले भन्नुभयो, “तर हाम्रो मागलाई वास्तै नगरी सतहमाथिबाट तारजालीमा ढुङ्गा भरेर झारा टार्ने काम गरी छाडिएको छ ।” आफूले करिब साढे तीन करोड रुपियाँ लगानी गरी पार्कसहित करिब साढे दुई रोपनी क्षेत्रफलमा धौलागिरि हाइवे रेष्टुरेन्ट सञ्चालन गरे पनि मस्र्याङ्दीको बाँधको बहाव बढेर खोतल्दै गएपछि रेष्टुरेन्ट नै बन्द गरी अन्यत्र विस्थापित हुनु परेको स्थानीय सुन्दर बानियाँले बताउनुभयो । पृथ्वी राजमार्गका यात्रुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरेको थिएँ”, बानियाँले भन्नुभयो, “तर अहिले मर्स्याङ्दीको बहाब बढेर लैजाने अवस्थामा पुगेपछि बन्द गर्नु परेको छ । कुन बेला बगाएर लैजाने हो भन्ने चिन्ताले सताएको छ ।” मर्स्याङ्दीको बाँधले सार्वजनिक र व्यक्तिको गरी सयौँ रोपनी क्षेत्रफल बगाएर बस्ती नै जोखिममा परेकाले उचित मुआब्जा वितरण छिटो गरी बस्ती खाली गरिनुपर्ने आफूहरुको माग भएपछि ढिलासुस्ती गरिएको बानियाँले बताउनुभयो । आफूहरुले छिटो मुआब्जा पाउनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले साथ दिँदै आउनुभएको बानियाँले जानकारी दिनुभयो । गाउँपालिकाको विपद् र जिल्ला विपद् समितिले समेत उक्त क्षेत्रको १४ घर र १० रोपनी व्यक्तिगत जग्गासमेत अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेर सम्बन्धित मन्त्रालयमा करिब डेढ वर्ष अघि नै सिफारिस गरिए पनि मुआब्जा वितरण ढिला हुँदा स्थानीय मस्र्याङ्दीको त्रासमा बस्न बाध्य हुनुपरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “हामी उहाँहरुले छिटो मुआब्जा पाउनुपर्छ भनेर लागि रहेका छौँ”, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “मुआब्जा ढिला दिँदा थप क्षति हुनसक्ने खतरा छ । पटकपटक ताकेता लगाउँदा पनि प्रक्रिया ढिलो हुनु दुःखद्कुरा हो ।” आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरी उक्त क्षेत्रको घरसहितका जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै केन्द्रमा परिपत्र गरे पनि प्रक्रिया ढिला हुँदा स्थानीयमा बाढीको त्रास कायमै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । “अधिग्रहण गरिएका घर र जग्गाको मुआब्जा पाउन नसक्दा स्थानीय अन्यत्र जान सकेका छैनन्”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा थप क्षति हुनसक्ने अवस्था भएकाले तत्कालै मुआब्जा वितरण गर्नेतर्फ केन्द्रमा ताकेता गरे पनि प्रक्रिया ढिलो भएको छ ।”

