यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ ।   पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति...

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटक बन्द गरिएकोप्रति भनाई राख्ने क्रममा पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने बताएकी छिन् ।  मिडियासँगको भिडिओ सम्वादमा मन्त्री शर्माले टिकटकमा अश्लीलता प्रदर्शन भएको, केटा–केटी खोज्ने काम भइरहेको बताउँदै ‘पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने’ र सामाजिक सद्भाव जोगाउन पनि बन्द गर्नुपरेको उल्लेख गरेकी छिन् ।  ‘जोडी खोजिदिने विवाह डटकमजस्ता अनलाइन छन्, तर कस्तो चाहियो ? कहाँ मिलाइदिउँ ? जस्ता कुरा भएका छन्’ शर्माले भनेकी छिन् ‘पूर्वीय सभ्यतामा निर्माण भएको हाम्रो समाजको सद्भाव बिथोल्न खोजेको पाइएको छ ।’ पारिवारिक संरचनाको सुरक्षा गर्ने पनि सरकारकै जिम्मा भएको बताउँदै उनले साइबर ब्यूरोमा टिकटकसम्बन्धित उजुरी बढ्दै गएको पाइएपछि सरकार सोच्न बाध्य भएको उल्लेख गरिन् । ‘टिकटक बन्द गर्दा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन भयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विचार अभिव्यक्त गर्ने अरु पनि सामाजिक सञ्जाल रहेको र टिकटकले फाइदाभन्दा बेफाइदा बढी गरेको जनाइन् ।  ‘राती १० बजेपछि टिकटक हेर्न सकिदैन, कुनै पनि वस्तु निर्माण हुँदा फाइदा÷बेफाइदा दुबै हुन्छ । तर टिकटकले बेफाइदा बढी ग¥यो’ शर्माले भनेकी छिन् ।  टिकटक सरकारले अनायासै फ्याट्ट निर्णय गरेर बन्द गरेजस्तो देखिए पनि त्यसो नभएको भन्दै उनले चार–पाँच महिनादेखि मन्त्री र गठबन्धनस्तरमा छलफल भइरहेको बताइन् । टिकटक किन बन्द गरियो ? भन्दा पनि बन्द गरेपछि ठिक वा बेठिक के भयो भन्नेमा बहस गर्नु उचित हुने शर्माको धारणा छ ।  ‘अब टिकटक कहिले खुल्छ ?’ भन्ने प्रश्नमा मन्त्री शर्माले सबै स्वनियममा जाने स्थिति बन्ने र हाम्रो संस्कृतिअनुसार चल्ने अवस्थामा खोल्दा आपत्ति नहुने बताइन् ।  ‘तर अहिले जसरी समाजमा विग्रह पैदा भइराख्यो, रातभर बालबालिका कुलतमा परेर भोलीका कर्णधार बिग्रने अवस्थामा पुग्नु ठिक भएन’ शर्माले भनिन् ‘उनीहरुलाई एडिक्सनबाट बचाउन पनि यो निर्णय भएको हो ।’ मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयानुसार टिकटकमा प्रतिबन्त्र लगाइएको हो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा हालसम्म ११ वटा रिट परिसकेको छ । 

यही मंसिर ९ गते पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ हुने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदकारुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।    प्रतियोगितामा सहभागीले दौड, साइक्लिङ् र डुंगा रेस गर्नेछन् । जसमध्ये समूह र व्यक्तिगत स्पर्धामा खेल विभाजन गरिएको छ । समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    त्यस्तै, स्पर्धामा दोस्रो, तेस्रो र चौथो र पाँचौलाई पनि नगद पुरस्कार राखिएको छ । व्यक्तिगतमा भने दशौं स्थानलाई पनि ९ हजार रुपैयाँ तोकिएको छ ।    विशेषतः नेपाल र चीनबीच खेल एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल गरी १ सय १४ जना पोखरा आउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जनाए । उनीहरु ७ गते पोखरा विमानस्थलमा चार्टर्र्ड उडानमार्फत उत्रने उनले बताए ।    संयोजक पालिखेकाअनुसार प्रतियोगिता आयोजनार्थ १९ जना प्राविधिक यूनानबाट आउनेछन् । प्रतियोगितामा पुरस्कार राशी अनुमानित २० लाख रुपैयाँ हुने बताउँदै पालिखेले आयोजना खर्च करिब ८० लाख रुपैयाँ हुने जानकारी दिए ।    प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।      यसैगरी, सहआयोजकमा युनान माउन्टेनरिङ् एण्ड आउटडोर स्पोर्टस् एशोसियशन, चीन र पोखरा होटल एशोसिएशन रहेको छ । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्लगायत चीनको कुन्मिङस्थित विभिन्न संस्थाले सहयोग गर्नेछन् ।      स्थानीयलाई समावेश गर्न ‘ह्याप्पी रन’को समेत आयोजना गरिएको प्रतियोगितामा ६ सय हाराहारीमा खेलाडी समावेश हुने आयोजकको अपेक्षा छ । प्रतियोगितालाई शक्तिवद्र्धक पेय ‘वार हर्स नेपाल’ले प्रायोजन गर्नेछ ।   

सियोल:  दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।   योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० बजे आगलागी भएको थियो ।   बिरामीहरूसहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ । सामान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।   घटनाको कारणबारे अनुसन्धान गरिँदै छ । 

काठमाडौँ:  गायिका तथा एमाले नेतृ  कोमल ओलीलाई मातृशोक परेको छ ।  उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।    उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।   हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।   १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।   दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

काठमाडौं:  काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् ।   स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।   नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।   सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।   त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।   सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।

काठमाडौं:  अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् ।   साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।   अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।   पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।     गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।   उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई  अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।   सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।

चितवन:  तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् ।   गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।   तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।   निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए ।   सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।

काठमाडौँ:  हमास र इजरायलबिच युद्धका क्रममा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले हालै एउटा तस्बिर जारी गरेको छ ।   उक्त तस्बिरमा इजरायली सैनिक हमासको संसद भवनमा देखिन्छन् । उक्त तस्बिरले गाजामा हमास निकै कमजोर भइसकेको सन्देश दिएको छ ।   जेरुसलेम पोस्टका अनुसार आइडीएफको गोलानी ब्रिगेडका सैनिकले सोमबार हमासको संसदमा इजरायली झण्डा फहराएको तस्बिर पोस्ट गरेका हुन् ।   इजरायली रक्षा मन्त्री योभ गेलेन्टले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै गाजामा आइडीएफको उपलब्धिबारे चर्चा गरेका छन् ।    उनले भने, ‘आइडीएफ बल एउटा योजना अनुसार काम गरिरहेको छ र चुस्त गुप्तचर जानकारी उपयोग गर्दै सटिकता, घातकताका साथ हावा, समुद्र र स्थल सेनाका बिच तालमेल गरी मिसनलाई पूरा गरिरहेको छ ।’

पोखरा: उपल्लो मुस्ताङबाट ६  जना भारतीय पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय पर्यटकलाई मंगलबार चेकजाँचको क्रममा अध्यागमन विभागबाट भ्रमण अनुमति नलिई पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।   लोमान्थाङ गाउँपालिका ४ नेचुङस्थित बिओपी (बोर्डर आउट पोष्ट) का सशस्त्र प्रहरी सहायक हवल्दार अजय लामाको कमाण्डको ६ जना र इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक हवल्दार धुर्व रोकासहितको संयुक्त टोलीले चेकप्वाइटमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । \   उनका अनुसार लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य पर्यटकलाई जान निषेश गरिएको छ ।    ‘लोमान्थाङ भन्दा माथि जान नेपाली बाहेक अरु पाउदैनन् । देख्दा नेपाली जस्तै गुरुङ थर भएका उनीहरुले अनुमति नै नलिएर आएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय छोसेर पठाएका हौं, उनले भने ।   इन्सपेक्टर क्षेत्रीले नेपाली मुलका जस्तै देखिने भएकाले अनुमति पत्र विना घुम्न निस्केको बताए ।   ‘नेपाली प्रष्ट बोल्ने र मान्छेपनि नेपाली जस्तै थर पनि गुरुङ रहेछ । उनीहरुलाई हेरेर मात्रै भारतीय भनेर पहिचान गर्न सकिन्थेन, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यही भएर उनीहरु त्यसरी नै मुस्ताङ भित्रिएका रहेछन् । पछि केरकार गर्ने क्रममा भारतीय भन्ने पुष्टि भयो । त्यसपछि प्रहरीलाई जिम्मा लगायौ ।’   इन्सपेक्टर क्षेत्रीका अनुसार ति ६ जना भारतीय पर्यटक ध १ ज २७० नम्बरको ट्याक्सी र ग १४ प ५७३७ नम्बरको मोटरसाइकलमा उपल्लो मुस्ताङ पुगेका थिए ।    नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय छोसेरले पर्यटक प्रहरी कार्यालय पोखरामा पठाएको थियो ।   अहिले उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाउने तयारी भइरहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ ।