काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताउनुभयो । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गर्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताउनुभयो । पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ । पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्युभएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट रु सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ । यस्तै मृतकमध्ये सौर्य एयरलाइन्सका आइटी इञ्जिनियर मनुराज शर्माको श्रीमती पृजा खतिवडा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटरका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले एयरलाइन्समा पनि पार्टटाइमका रुपमा सोही पदमा काम गर्दै आउनुभएको एयरलाइन्सले जनाएको छ । बालक अधिराज शर्माको सम्बन्धमा काठमाडौँमा हेरचाह गर्ने व्यक्ति नभएपछि सँगै लगिएको जानकारी एयरलाइन्सले दिएको पर्यटनमन्त्रीले संसद्मा जानकारी दिनुभयो । हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ । नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिनुभयो । हाल आन्तरिकमा यात्रु उडानका लागि रु २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ । एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताउनुभयो । सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते हुनुभएको छ । विमान दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौं: सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो । १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । “आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिकरुपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरुमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ,” कमला ह्यारिसले आफ्नो पोस्टमा भन्नुभयो । नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रुपमा समर्थन जनाएको छ । यसअघि शुक्रबार पूर्व अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिकरुपमा समर्थन गर्नुभएको थियो । ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई “महान उपराष्ट्रपति“ को रुपमा सम्बोधन गर्नुभएको थियो । “उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ,” बाइडेनले भन्नुभएको थियो । यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताउनुभएको थियो । -एएनआई
काठमाडौं: पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयले जनाएको छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन भएपछि पहिलोपटक सूचना टाँस हुँदा पनि हाजिर नभएपछि प्रधान कार्यालयले पुन स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ । सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।
काठमाडौं: सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । उनले फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरेका बताए । डा. चौधरीका अनुसार पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् । उनका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्छ । सबैको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो । जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा रहेकाे बताइएकाे छ । अन्य विवरण आउँन बाँकी...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने प्रक्षेपण छ। महाशाखाले सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उहाँले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।” सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराउनुभयो । उहाँले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गर्नुभयो । सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाउनुभयो । “उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ”, उहाँले भन्नुभयो, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।” निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गर्नुभयो ।

