सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ । बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार आज बिहान दुर्घटना हुँदा कारचालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सवार महोत्तरीकै सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । कारमा सवार अर्का महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुसल पोखरीबाट बाहिर निस्कन सफल भएका थिए । सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो । सो टोलीले बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो । गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो । “देशमा विकास भएको छ, राम्रा काम भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।” प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताउनुभयो । उहाँले भन्नुभयो, “निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ । गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।” सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ”, उहाँले भन्नुभयो । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ । रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।
मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिनुहुने भएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्काेट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गर्नुभएको छ । उहाँहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नुहुने छ । मृत सङ्ख्या दुई सय ४६ यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरामा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्र रूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीलेलाई बताउनुभयो ।

