प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।   चितवनको इच्...

पाँचथर:   पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्।   सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्।   बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ।   यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन्। उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित भएका छन्।   यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए। जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताए।   बाढीले यहाँका छ वटा पक्की पुल बगाएको छ। यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ।   पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन्।   दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए।   जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्‍याएको छ। पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र भोलिदेखि वितरण थालिने प्रजिअ मङ्ग्रातीको भनाइ छ।   बाढी पहिराले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ। बाढी पहिराका कारण जेसीबी मेसिन दुई वटा, एउटा ट्र्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ।   बाढी पहिराका कारण यहाँका हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ। यद्यपि बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रजिअ मङ्ग्रातीले बताए। ‘प्रहरी, स्थानीय तहका कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रसमेतको समन्वयमा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन थालिएको छ,’ प्रजिअ मङ्ग्रातीले भने, ‘यथाशक्य चाँडो क्षतिको विवरण तयार पारी राहतका लागि उपल्ला निकायमा पहल थाल्नेछौँ।’

पोखरा नगरभित्रको पृथ्वीचोकदेखि नागढुंगाको कालोपत्रे सडकमा मंगलबार राती सिमेन्ट र रोडामिश्रित घोला खन्याइएको छ ।    बुधबार बिहानै चीनको छेन्दूबाट पोखरामा अन्तर्राष्ट्रिय उडान हुने तालिकापछि पोखराका इज्जत जोगाउन मेयर धनराज आचार्य बर्डर सिमेन्ट मिक्सर ट्रकसहित उक्त सडक खण्डमा रहेको खाल्डो पुर्न निस्किएका थिए ।      कालेपत्रे सडकको खाल्डो पुर्न सिमेन्टको घोला हाल्नु मापदण्डविपरित हो, तर मेयर आचार्यले अन्तीम घडिमा ‘मर्ता, क्या नही कर्ता’ शैलीमा मिक्सरको ट्रकसहित सडकमा खाल्डो पुर्न बाध्य भए । पोखरा नगरभित्र सडक मर्मत र निर्माणको काम सडक डिभिजन कार्यालय पोखराको हो ।    डिभिजनले कामको ठेक्का पनि पाइसकेको छ तर काम सुरु हुन सकेको छैन । सडक डिभिजन भने यसको दोष ठेकेदारलाई दिइहेको छ ।    डिभिजन र ठेकेदारले नै काम नगरपछि मेयर आचार्य चिनियाँसामु नगरको ‘नाक राख्न’ रातभर घोला हाल्न व्यस्त भए । मेयरले कालोपत्रेमा घोला हालेपछि डिभिजन कार्यालय केही ‘गरम’ भएपनि मेयरमाथि दोष थोपर्न भने सकेको छैन ।   यस विषयमा डिभिजन भन्छ ‘मर्मत गर्ने जिम्मा हाम्रो हो, ठेकेदारले काम सकिसक्नुपर्ने हो तर सुरु नै गरेको छैन ।’ यद्यपि, ठेकेदारले काम सुरु गर्न केही प्राविधिक समस्या भएकाले पहिले यसको समाधानतर्फ जुटेको डिभिजन बताउँछ ।    ‘हामीले बिरौटाचोकदेखि पृथ्वीचोकसम्म अस्फाल्ट पीच गर्ने भएका छौं । र, ठेकेदारसँग सम्झौता पनि भइसकेको छ’ डिभिजनका एक प्राविधिक भन्छन् ‘स्थानीयसँगको विवाद नसुल्झेकाले काम गर्न नसकेको सत्य हो ।’   महानगरले खाल्डो पुर्दा भएको खर्चपनि व्यहोर्ने भन्दै उनले अब सिमेन्टको घोला हटाएर पुरै पीच गर्ने उनले बताए । ‘पहिले खाल्डाखुल्डी पुरेर अस्फाल्टको काम छिट्टै सुरु हुन्छ’ उनले भने ।   ‘मेयरज्यूले बाध्य भएर खाल्डाु पुर्नुप¥यो, डिभिजनको ढिलासुस्ती भएको छ, स्वीकार्छाै’ उनले भने ।   तर प्राविधिकले छिट्टै काम सुरु गर्ने बताएपनि अस्फाल्टको प्लान्ट राख्ने विषयमा अझै टुंगो लागेको छैन । प्लान्ट मेसिन हाल स्याङजामा रहेको छ ।    पोखरामा प्लान्ट राख्दा प्रदुषणको समस्या हुने र केही टाढा राख्नुपर्ने बाध्यता छ । मूख्य निर्माण क्षेत्रभन्दा ५–७ किलोमिटर बाहिर राख्दा स्थानीयले विभिन्न माग राख्ने गरेका छन् ।      स्थानीयको माग पुरा गर्दा ५ करोडको योजनामा थप ३ करोड रुपैयाँ बढी लाग्ने डिभिजनको अनुमान छ । प्लान्ट राख्ने विषयमा निर्णय गर्न डिभिजन, पोखरा महानगरको कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच छलफल भएपनि समाधान निस्कन सकेको छैन ।    यही कारण पोखरा नगरभित्रका सडकमा यतिबेला खाल्डाखुल्डी बढ्दै गएको छ ।   

पोखराः चीनको छेन्दुबाट आज बिहान पोखरामा सिचुवान एयरलाइन्सको जहाज अवतण भएको छ । एयरलाइन्सको यस उडानले पोखराका विमानस्थललाई ‘अन्तर्राष्ट्रिय’ ट्याग लगाइदिएपछि नेपालका लागि चिनियाँ राजदूततले खुशी व्यक्त गरेका छन् ।    जहाज अवतरणपछिको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत चेन सोङले राष्ट्रपति सी जिनपिङको दशौं वर्षगाँठको अवसरमा जहाज पोखरा आएकोमा सबैलार्ई धन्यवाद दिए ।    ‘पोखरा विमानस्थल चीन र नेपालको प्रयासले सम्भव भएको छ’ सोङले भनेका छन् ‘विमानस्थले राष्ट्रपति जिनपिङको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) परियोजनामा नयाँ अध्याय सुरु गरेको छ ।    चीन सरकार र दूतावासकोतर्फबाट धन्यवाद दिँदै उनले नेपाली र चिनियाँहरुको अथक परिश्रम र योगदानबाट विमानस्थल निर्माण र आज जहाज अवतरण सम्भव भएको उल्लेख गरे ।    ‘जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, ड्रागन डुंगा रेसका चिनियाँ खेलाडी र लिञ्जीका सांस्कृतिक समूह आएका छन्’ ढाका टोपीमा सजिएका सोङले भने ‘हामी यहीबाट एकअर्काका संस्कृति र सभ्यता सिक्नेछौं ।’     यसैगरी सोङले पोखरा विमानस्थललाई ‘चिनियाँ इन्जिनियरिङ र नेपालको गौरव’को प्रतीक भनेपनि चीनबाट नियमित उडानबारे भने केही पनि बोलेनन् । 

२०१८ सालको नापीको नक्शा अनुसार फेवातालको कूल क्षेत्रफल २२ हजार रोपनी अर्थात् १० वर्ग किलोमिटर रहेको उल्लेख गरिएको थियो । त्यसपछि विभिन्न समयमा उतारिएको नक्शामा यसको क्षेत्रफल घट्दै आएको छ ।   त्यसपछि ०३८ सालमा यूएनडीपीले तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको छ । पछि ०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा तालको क्षेत्रफल ५.६ वर्ग किलोमिटर भनि उल्लेख गरियो ।   उल्लेखित तथ्यांकलाई हेर्ने हो भने ३८ सालसम्मको २० वर्षे अवधिमा तालको आधा क्षेत्रफल घटेको छ ।त्यसपछि भने फेवाले चर्चेको क्षेत्रमा उल्लेख्य घटबढ भएको छैन ।   तालको निश्चित क्षेत्र तोक्ने विषय सदैव चुनौति भइरहेकाबेला पछिल्लो समय यसको आधिकारिक क्षेत्रफलको छिनोफानो गरिएको छ ।   ०७७ कात्तिकमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले अन्ततः तालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर तोकेको छ । उक्त क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा हुन आउँछ । जस अनुसार यसको परिधि १८ किलोमिटर भएको छ ।   यसबीच, स्थानीयले तालभित्र आफ्नो जमिन रहेको बताउँदै आएका छन् । कतिपयले बाटो खोल्ने र संरचना निर्माण गर्ने कार्यले स्थानीय निकायसँग टकराव भएको छ ।   पोखरा महानगरले २०७६ मा तयार पारेको प्रतिवेदनमा ६५ मिटर मापदण्ड लागू गर्दा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ । ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा अहिले व्यक्तिका नाममा छ ।     यसैबीच, सर्वोच्च अदालतले फेवाताल किनार वरपरका अवैध संरचना भत्काउन संघीय सरकार, पोखरा महानगर र सम्बन्धित सबै निकायका नाममा आदेश जारी गरेको छ । फेवा किनारादेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका कम्तीमा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ ।    तालकाकारण पीडित भएको भन्दै लालपुर्जासहित उनीहरुले समूहमार्फत ध्यानाकर्षण गराइरहेका छन् । तालको मापदण्डभित्र पर्ने जमिन र संरचानको क्षतिपुर्ति एवं मुआब्जामामात्रै करिब ३० अर्ब रुपैयाँ लाग्ने महानगरको अनुमान छ ।

पोखरा:  गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेश सरकारले आगामी ल्याएको बजेट देखाउन मात्र नभई काम गर्न ल्याएको बताएका छन् ।    मन्त्रालयमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै आर्थिक मामिलामन्त्री आलेमगरले प्रदेशको औचित्य पुष्टि गर्ने गरी देखाउन मात्र नभएर काम गर्न नै बजेट ल्याएको बताएका हुन् ।  ‘कसै–कसैले प्रदेश सरकारको औचित्य माथि प्रश्न उठाइरहेका छन्, प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी देखाउन मात्र होइन काम गर्न नै बजेट ल्याएका हौं’, मन्त्री आलेमगरले भने, ‘चालु आर्थिक वर्षको बजेट ६० प्रतिशत मात्र खर्च हुने आकलन छ, आगामी आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च हुने गरी काम गर्छौं।’   उनले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै अनुत्पादक क्षेत्रमा कम बजेट राखेको बताए । ‘यसवर्षको बजेटमा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं, अनुत्पादक क्षेत्रमा कम बजेट राखेका छौं, उनले भने, समाजघर निर्माण र टोल भवन निर्माणका लागि प्रदेश सरकारले कम बजेट विनियोजित गरेको छ ।’   मन्त्री आलेमगरले  यस वर्षको बजेटमा करको दायरा बढाएको जानकारी दिए । ‘प्रदेश सरकारले यस वर्षको बजेटमा करको दायरा बढाएको छ, कुनै पनि क्षेत्रमा कर बढाएको छैन, नयाँ कलकारखाना, उद्योगहरु अनुकुल वातावरणमा स्थापना गर्नका लागि कर थपघट भएको छैन,’ उनले भने ।    उनले यस वर्ष भौतिक पूर्वाधार मन्त्रालयबाट ३० लाख र सिँचाई तथा खानेपानीतर्फ १० लाख नघट्ने गरी बजेट विनियोजित गरेको बताए ।    प्रदेश सरकारले आगामी बर्षको बजेट ३३ अर्व, ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।   चालु खर्चतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार, पुजीगततर्फ २० अर्ब, १९ करोड ४ लाख ६२ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड बजेट विनियोजन गरेको छ ।     

काठमाडौं:  राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ ।   झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको हो ।   यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो ।   विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी सेवा सुरू गर्दा ३४ पृष्ठ र ६६ पृष्ठ गरी दुई प्रकारको राहदानी सेवा प्रवाह गर्दै आएको थियो । त्यही बेला विभागले ६६ पृष्ठको राहदानी ५ लाख थान छपाएको थियो ।   तर गएको डेढ वर्षमा ६६ पृष्ठको  राहदानी जम्मा ५ हजार थान खपत भएपछि विभागले स्टकमा रहेको राहदानी खपत गराउन भन्दै दस्तुर छुट गरेको हो ।   विभागले ६६ पृष्ठको राहदानी खपत गराउन भन्दै आजैदेखि ३४ पृष्ठको राहदानी वितरण बन्द गरेको छ ।  

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष ०८० ८१ को बजेटमा मर्दीखोलाले पु¥याएको क्षतिलाई सम्बोधन नगरेपछि चित्त दुखाएको छ ।    पोखरा महानगरवासीलाई पानी खुवाउने मुख्य स्रोत मर्दी भएको तर सोही मर्दीले गाउँपालिकाभित्र वर्षेनी क्षति पु¥याएको भन्दै पालिकाले महानगरलाई पत्र लेखेको छ । आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकामा मर्दीबाट उत्पन्न हुने क्षतिबाट आहत जनतालाई राहत दिने कार्यक्रम आउने विश्वास गरेको तर निराशामात्र हात लागेको गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जनाए ।      सुनगाभान्यूजसँग अध्यक्ष गुरुङले भने ‘पोखराको तिर्खा मेटाउने स्रोत हो मर्दीखोला तर प्रदेशको बजेटमा मर्दीखोलको कतैपनि नाम सुन्न पाइएन ।’   बजेटमा मर्दीलाई तिरस्कार गरिएपछि गुरुङले अब महानगरको नीति तथा कार्यक्रमसँग आशावादी रहेको बताए । वडाले जेठ १८ गते पोखरा महानगरलाई पत्रमार्फत मर्दीखोलालाई सम्बोधन गर्न आग्रह गरेको छ ।        ‘महानगरको आर्थिक वर्ष ०८० ८१ को नीति तथा कार्यक्रममा मर्दीखोला जोखिम तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम सिफारिश गरिदिनुहुन सिफारिशकासाथै अनुरोध गरिन्छ’ पत्रमा उल्लेख छ ।    त्यस्तै, गाउँपालिकाले मर्दीबाट उत्पन्न जोखिमको व्यवस्थापन र सम्बोधन नभएपछि अब खानेपानी संस्थानसँग रोयल्टी लिने प्रक्रियामा अघि बढेको छ ।      पालिका अध्यक्ष मीनबहादुर गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई खानेपानी स्रोतको रोयल्टी भर्पाइ गर्न पत्राचार गरेको छ । ०७९ चैतमा आयोगलाई पत्रमार्फत खानेपानी स्रोतको निश्चित प्रतिशत रोयल्टी गाउँपालिकालाई उपलब्ध गराउन आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।      खानेपानी संस्थान पोखराको तथ्यांक अनुसार मर्दीखोलाबाट दैनिक ४ करोड ५० लाख लिटर पानी प्रयोग हुँदै आएको छ ।      मर्दीखोलाको पानीबाट संस्थानले दैनिक ११ लाख २५ हजार आम्दानी गरिरहेको छ । जुन रकम वार्षिक ४१ करोड ६ लाख २५ हजार रुपैयाँ हुने देखिन्छ ।    खानेपानी संस्थानको मुख्य स्रोत मर्दीखोला भएकाले आम्दानीको हिस्साथ गाउँपालिकाले पनि पाउनुपर्ने पालिका अध्यक्षको भनाई छ ।    अध्यक्ष गुरुङका अनुसार मर्दीखोलाले पालिकाभित्र लुम्रे, ठाँटी, नयाँपुल, खोरामुख, भेडाबारी, समीबगरको भू–भाग कटान गरी वर्षेनी हजारौ रोपनी जमिन बगरमा परिणत गराइदिएको छ ।    ‘खेतीयोग्य जमिन त सकिँदैछ, मानवबस्तीसमेत जोखिममा परेको छ’ गुरुङले भने ।   

पोखरा:  पोखराको सेन्ट मेरिज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई भ्रमणमा लैजान साढे ४ लाख रुपैयाँ मागिएको छ ।    कोरोनाकालअघि विद्यालयले छात्राहरुलाई सोही बराबर शूल्क लिएर अमेरिका भ्रमण गराएको थियो । यसपटक युरोप भ्रमणमा लैजाने योजनाअनुरुप विद्यालयले अभिभावकहरुलाई उक्त शूल्क बुझाउन भनेपनि सफल नहुने छाँट देखिएको छ ।    केही अभिभावकले हालको समयमा ४–५ लाख रुपैयाँ जुटाउन नसकिने बताएपछि विद्यालय प्रशासनले भ्रमण रद्द गर्नसक्ने केही अभिभावकले बताएका छन् ।    ‘देशमा आर्थिक मन्दी छ, सबै अभिभावकले त्यत्रो रकम जुटाउन सम्भव छैन’ एक अभिभावक भन्छन् ‘केही विद्यार्थी यूरोप टुर जाने र केही नजाने भयो भने विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम हुन सक्दैन ।’   उनले भने ‘विदेशभन्दा पनि थोरै शूल्क लिएर देशभित्रै भ्रमण गराउन उचित हुनेछ ।’   यसअघि अमेरिका भ्रमणमा नगएका विद्यार्थीका अभिभावकले भने त्यसबेला सबैलाई अनिवार्य जानैपर्ने नियम नराखिएको जनाएका छन् ।    यसपटक पनि विद्यालयले सबै अभिभावकलाई बाध्यकारी नबनाएको प्रशासन स्रोतले जनाएको छ । बाध्यकारी अवस्था नभएकाले हालसम्म ३ जनाले मात्रै भ्रमण जाने रुचि देखाएकाले प्रशासनले लैजाने वा नलैजाने निर्णय गरिसकेको छैन ।    यस विषयमा विद्यालयकी प्रधानाध्यापिकासँग भेट्न समय मागेर विद्यालय पुगेपनि सम्वाददाता करिब सवा घण्टा कुरेर फर्कन बाध्य भए ।    विद्यालयले आगन्तुक भेट्न बिहानी १० देखि ११ बजेसम्म तालिका बनाएको छ । त्यसयता विद्यालयसँग असम्बन्धित व्यक्तिले भेट्न पाउँदैनन् ।    सेन्ट मेरिज् स्कुल बेलायती महिला मेरी वार्डको पहलमा सन् १६०९ बाट सञ्चालनमा आएको हो । पोखराको नयाँगाउँमा सन् १९८३ देखि स्कुल सञ्चालनमा रहेको छ ।      

भोजपुर:  भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब-इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ ।   बुधबार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राति १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको हाे ।   एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित भएका थिए । राई भने हाम फाल्न नसकेपछि खोलाले बगाएकाे थियाे ।   घटना लगतै प्रहरी चौकी पान्धारे र कोट बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार (आज) बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।