कास्कीका ११ सय घरमा छन् बन्दुक, भएका छन् चोरी शिकारीदेखि जघन्य अपराधसम्म

कास्की | असार २७, २०८०

कास्कीका ११ सय घरमा छन् बन्दुक, भएका छन् चोरी शिकारीदेखि जघन्य अपराधसम्म

कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीको तथ्यांकले जिल्लाभर १ हजार १ सय ३७ हतियार रहेको देखाउँछ । जसमध्ये टुटु, १२ बोरको बन्दुक, भरुवा र हावादारी रहेका छन् । 

 

प्रशासन कार्यालयले उक्त तथ्यांक वर्षेनी नवीकरण हुन आउने बन्दुकको रेकर्डअनुसार उल्लेख गरेको हो । तर जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयलाई आधार मान्ने हो भने जिल्लामा उल्लेखित संख्याभन्दा बढी बन्दुक रहेका छन् । 

 

विशेषतः प्रशासन कार्यालयले निर्वाचनताका जिल्लावासीलाई हतियार बुझाउन गरेको आग्रहको आधार र वर्षेनी नवीकरण हुने संख्यालाई लिएर उक्त हिसाब देखाएको हो । यता, सरकारी वकिल र प्रहरी कार्यालयमा आउने हातहतियारसम्बन्धी मुद्दामा प्रयोग भएका अधिकांश बन्दुक भने दर्ता नगरी राखिँदै आएको पाइएको छ । 

 

जिल्लामा रहेका हतियार बाजे, बुवा हुँदै छोरा पुस्तामा आएको देखिन्छ । जसलाई वर्षेनी नामसारी र नवीकरण गरिँदै आइएको प्रशासन कार्यालयले जनाएको छ । 

 

त्यस्ता हतियारहरु हेर्दा सामान्य  घातक नदेखिएपनि त्यसबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारी हुँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)का सूचना अधिकारी डा. रविन कँडरिया बताउँछन् । 

 

अन्नपूर्ण क्षेत्रमा बन्दुकमार्फत रतुवा र घोरलको चोरी शिकारी हुने गरेको उनले बताए । ‘एक्यापले कारवाही गरेको १९ मुद्दा छन्, जहाँ नगद जरिवाना बढी छ’ कँडरिया भन्छन् ‘चोरी शिकारीमा एक्यापले नै मुद्दा चलाउँछ भने अन्यमा खरखजानाअन्तरगत प्रहरीकहाँ पठाउँछौं ।’
 

 

कंँडरियाको अनुभवमा अवैधानिकरुपमा राखिएका बन्दुकहरु चोरी शिकारीमा प्रयोग भएका छन् । ‘हामीलाई घरमा राखिएका बन्दुकबाट खतरा छ, परियोजना क्षेत्रमा बन्दुक पड्किएको आवाज सुनिनु नौलो होइन’ उनले भने ‘यद्यपि, पहिलेभन्दा अहिले चोरी शिकारी धेरै कम भएको रेकर्ड छ ।’

 

माछापुच्छ्रे गाउँपालिकाको खैमराङमा केही अघि ढुकुर हान्दा एक छिमेकी महिलाको छातिमा लागेको थियो । खैमराङका आइत सिं तामाङले चलाएको उक्त बन्दुकको लाइसेन्स थिएन । पछि एकापसमा मिलापत्र गरेपछि अदालतबाट कम सजायमा उनी छुटेका थिए । 

 

 उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ । 

 

त्यस्तै, चोरी शिकारी र खरखजाना मुद्धामा प्रयोग भएका बन्दुक पनि बिना इजाजत प्रयोग भएको सरकारी वकिल कार्यालयका एक न्यायधिवक्ता बताउँछन् । उनका अनुसार दर्ता भएका बन्दुकबाट भन्दा बिना दर्ता राखिएका बन्दुकबाट अपराध हुने सम्भावना बढी छ । 

 

जिल्ला प्रशासनका अनुसार पछिल्लो समय बन्दुक दर्ता भएको छैन । पहिलेदेखि घरमा भएका बन्दुक नवीकरण हुँदै आएको छ । 

 

यस्ता हतियारबाट हुने अपराधमा मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला गरी सजाय सुनाउने प्रावधान रहेको छ । दफामा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।

 

दफा विपरित भए ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । तर ज्यान मुद्दामा भने उक्त दफा लागु हुनेछैन ।

 

त्यस्तै, मादी गाउँपालिका निवासी विशाल गुरुङले अर्काको नाममा रहेको हतियारबाट बन्यजन्तु शिकार गरेपछि उनलाई ०७८ साउनमा कास्की जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । 
उक्त फैसला अनुरुप गुरुङले दिनको ३ सय रुपैयाँकादरले जरिवना बुझाई जेलमुक्त भएका थिए । 

 

यस्तै प्रकृतिको मुद्दामा अन्नपूर्ण गाउँपालिकाका ओमप्रसाद गर्बुजा पनि समातिएका छन् । उनले समातिएपछि उक्त बन्दुक जंगलमा भेटेपछि आफैले प्रयोग गरेको बताएपछि मुद्दा प्रक्रियामा रहेको छ । उक्त बन्दुक प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणार्थ पठाएको छ । जसको रिपोर्ट आउन बाँकी छ । 

 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ गुरुदत्त ढकालले पहिले भएका बाहेक नयाँ हतियार दर्ता गराउन आउनेको संख्या शून्य भएको बताएका छन् । खरिद स्वीकृति लिने र नामसारी गर्ने व्यवस्था प्रशासनले गर्ने बताउँदै प्रजिअ ढकालले कास्कीमा १२ र २२ बोरबाहेकका ठूला हतियार नभएको जनाए । 

 

त्यस्ता हतियारबाट कुनै अपराध भए हतियार जफतदेखि कानूनी कार्वाही हुने र भइरहेको ढकालले बताएका छन् । 
 

 

प्राचिन समयदेखि नेपालीहरुको घरमा हतियार राख्ने चलन चलेपनि हाल ‘अनावश्यक’ भएको सामाजिक अनुसन्धाता रामचन्द्र बराल बताउँछन् । 

 

‘हाम्रो समाज लाहुेर संस्कृतिमा भिजेको छ, शान मान र प्रतिष्ठास्वरुप हतियार राख्न थालिएको हो’ पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत बराल भन्छन् ‘विशेष पर्वमा कोतपूजा गर्ने, समाजमा शक्ति देखाउने काममा हतियार राख्ने गरिएको पाइन्छ ।’

 

पहिले राज्य कमजोर भएकाले आफ्नै सुरक्षाकाखातिर हतियार राखिने भएपनि अब आधा घण्टाको समयमा राज्यको उपस्थिति सम्भव भएकाले आदर्श समाजमा हतियार अनुचित भएको उनको टिप्पणी छ । 

 

‘सामाजिक मनोविज्ञानमा हतियार हुनुहुन्न’ बराल भन्छन् ‘बाँदर तर्साउन राखिने हतियारले मान्छे तर्साइयो भने समाज द्वन्द्वतर्फ अग्रसर हुनसक्छ ।’

पोखरा:     पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।  नेपाल लोकतान्त्रीक खेल...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेम...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्था...

थप पढ्नुहोस्