राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्।   सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए।   चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन्। विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ। पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन्।    पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ। पार्किङ शुल्क थप बढाउने कम्पनिको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन्।

काठमाडौं : मंगलबार सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भएको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।   मंगलबार राती देशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।   मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ।   'लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथ मै छ', बोर्ड अध्यक्ष भुवन केसीले भने।   प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गर्नेछन्। पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ।   प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाँङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ। साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए।   प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता,सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ छ।    'हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।' समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ छ । 'समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो,'यी कुरालाई सधैं सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे।   प्रधान सेनापतिले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ-आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा प्रस्तुत गर्न आग्रह गरे।   प्रधान सेनापतिले मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरी १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी गराए। सम्बोधनकै क्रममा प्रधान सेनापतिले भूतपूर्व सैनिकहरूको जीवनलाई थोरै भएपनि सरल,सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। मधेस प्रदेशका बासिन्दालाई नेपाली सेनामा भर्नामा आकर्षण बढाउन सिराहा,पर्सा र सर्लाहीमा तैनाथ नेपाली सेनाका युनिटहरूमा भर्ना छनौट भइरहेको र निकट भविष्यमा अन्य जिल्लामा पनि भर्ना छनौट केन्द्र तोकिने बताए।   हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।   सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सै​निकको सहभागिता रहेको थियो।

काठमाडौं : थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–२ मा गोविन्द भट्टराईलाई जिताउन अपिल गरेका छन् ।   तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई विजयी गराएर पठाउन मतदातासमक्ष आग्रह गरेका हुन् ।   थापाले भने,‘गोविन्द भट्टराईबाट सालिनता सिकेका छौं । कहिलेकाहीँ मिलाउने क्षमता पनि राख्नुपर्छ । भट्टराई तपाईंको माटोले चिनेको उम्मेदवार हो । उहाँले तनहुँबाट जित्दै गर्दा नयाँ र पुराना साथीलाई मिलाएर लैजानुहुन्छ । ’    कतिपय सांसद् कता जान्छन् भन्ने अत्तोपत् समेत नहुने उनको भनाइ छ।   थापाले भने,‘कतिपय सांसद् बिलाउँछन् । गोविन्द भट्टराई हराउने,कराउने,बिलाउने सांसद् हुनेछैनन् । तपाईंहरूले निर्वाचित गराएर पठाएको सांसद् राष्ट्रपति हुनुभयो । ’   थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए । थापाले भने,‘घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जो आयो  त्यसले बजाउँदै हिँडने ।’

काठमाडाैँ:  भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।   एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो ।   बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।   नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।   समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।   उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो ।   उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो ।    बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

पोखरा:  पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   इन्द्रेणी थिएटरको स्थापना बि.सं.२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाई छ । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् यो   जीवन बाँच्ने फरक विल्कुल फरक तरिका तरिका रहेको नाटका निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ । मञ्चमा पौडेल सँगै, कपिल शर्मा र दिपेन्द्र पौडेलको पनि अभियन हेर्न पाईनेछ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ । २०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदार नाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको थिएटरले जनाएको छ । यसलाइ २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । पोखराका साथै काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि यो नाटक भव्य प्रर्दशन भयो । त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा लैजान लागिएको पौडेलले जानकारी दिए ।

मध्यविन्दु: नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ ।    उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु. दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।”   हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताउनुभयो । प्रतिकिलो रु. छ सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको छ । “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।”    दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी हुन थलोको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका  बिरुवा  लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।”    एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगार दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो ।   ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।”    पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाे फल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ ।