राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

दोलखा : दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।   यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।  

काठमाडौँ:  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ।   जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।    उहाँले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताउनुभयो। सञ्चालनमा ल्याइएका दुईवटा धाराबाट आगन्तुक, सेवाग्राही र कर्मचारीले पानी खान सक्नेछन्।    निवर्तमान खानेपानी मन्त्री खानले जार तथा बोतलको पानी विस्थापित गर्ने कार्यलाई मन्त्रालयले प्रमुखताका साथ अगाडि बढाएको बताउँदै अबको केही महिनाभित्र नै पानीको मूल्य घटाएरै छोड्ने प्रतिबद्वता व्यक्त गर्नुभयो। मन्त्रालयले बजारमा जार र बोतलको मूल्य घटाउने सम्बन्धमा समेत काम गरिरहेको उहाँको भनाइ छ।   पानीमा धनी हुँदाहुँदै पनि किनेर खानु दुःखको विषय भएको बताउँदै उहाँले दुईदेखि साढे दुई वर्षभित्रमा तराई मधेशमा र पाँच वर्षभित्र मुलुकभरि नै पानीको समस्या समाधान गरी नेपालको पानी विदेश निर्यात गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो।   ‘एक घर एक धारा’ अभियान   सो अवसरमा निवर्तमान मन्त्री खानले मुलुकभरि नै ‘एक घर एक धारा’ अभियान सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले एक घर एक धारा अभियानका रूपमा काम अघि बढाइसहेका छौँ। हाम्रो मन्त्रालयको निम्ति मैले सोचेअनुसार ऐतिहासिक काम हो। यहीअनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’’   खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो।    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले सञ्चालनमा ल्याइएको धाराको पानी प्रत्यक्ष रूपमा खान हुनेगरी पूर्ण रूपमा शुद्ध रहेको बताउँदै सो धारा २४सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो।   काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नयाँ बानेश्वर केन्द्रका प्रमुख विजय विश्वकर्माले सिंहदरबारभित्र तत्काल थप तीन ठाउँमा सार्वजनिक धारा सञ्चालनमा ल्याउने योजना रहेको र अबको १० दिनभित्र ती धारा सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार अब गृह मन्त्रालय, खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा सार्वजनिक धारा जडान गरिने भएको छ।

काठमाडौँ:  सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।   शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटर ब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो आश्वासन दिनुभएको हो ।   उहाँले मिटर ब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनु भयो । उहाँले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पार्नुभयो ।    प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘ र्‍यापिड एक्सन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटर ब्याज पीडितहरूलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यस पटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।   मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्री स्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्न सक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढी सकेको छ ।   त्यसलाई र्‍यापिड एक्सन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् ।’ प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरू राखेका थिए । उहाँहरूले आफ्ना ६ वटा मागहरू पूरा सम्बोधन भएपछि मात्रै काठमाडौँ छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गर्नुभएको छ ।

काठमाडौं : नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।   कोभिड–१९ महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय नाका खुल्ला गरेको लामो समय भएपनि चीनका सिमा नाका पूर्ण सञ्चालनमा आउन सकेका थिएनन्।  तीन वर्षपछि चरसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।   दूतावासले नाका सञ्चालन भएसँगै द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेको छ। केही दिनअघि नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

त्रिशूली: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।   बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।    उहाँको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।   जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।      रातिको समयमा पनि देशभर बदली रहनुका साथै पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।   आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर हल्का वर्षाको  सम्भावना रहेको छ । बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौँमा ८ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।   मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।    बारा २ मा हुने उपनिर्वाचनमा के गर्ने भन्नेबारे छलफल गरी निर्णय गर्ने कांग्रेसको तयारी छ।    कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए।    यस्तै सरकारमा थप मन्त्री पठाउनेबारे पनि छलफल हुनेछ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ।    नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्रालय आफूहरुले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।  

ढोरपाटन:  ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।   गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्याएको छ । मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताउनुभयो । बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गथ्यौँ, पहिला बागलुङ बजार हटिया बजार जानु पर्थ्याे, त्यहाँ जान एक दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्थ्याे ।”   गाउँपालिकाले पाँचवटै वडाका बस्तीमा सडक पुर्याएको छ । गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताउनुभयो । विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको बताउनभुयो ।   उहाँ भन्नुहुन्छ, “सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ ।” गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म करिब करिब रु. २० करोड बढी लगानी गरिसकेको छ ।    स्थानीय ७० वर्षीया रुपकला घर्तीमगरले पछिल्लो एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । उहाँले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताउनुभयो । आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवललगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झनुभयो ।   “विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ लगाएर बटौली (बुटवल) जान्थ्यौँ”, घर्तीले आफ्नो विगत स्मरण गर्दै भन्नुभयो, “अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर गए, अहिले यही तराई भयो ।”   गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताउनुभयो । भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उहाँको भनाइ । उहाँले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गरेको बताउनुभयो । सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उहाँको भनाइ छ ।      उहाँ भन्नुहुन्छ, “एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको, गाउँपालिकासँगै प्रदेश सरकारको लगानीमा सडक निर्माण भएका हुन्, अझै केही बस्तीमा पुर्याउनुपर्नेछ, कच्ची सडक व्यवस्थित बनाउने योजना छ ।” गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ । यो सडक ताराखोलावासीलाई ‘लाइफ लाइन’ बन्नेछ ।

स्याङ्जा: कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्रता पाएको छ ।    कोरिडोरभित्र पर्ने स्याङ्जा खण्डको १० किलोमिटरमा कालीगडण्डी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने गरी आँधीखोलामा एउटा तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोड्ने गरी सेतीखोलामा अर्को पुल निर्माण गरिएको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।    आँधीखोला पुल रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले साढे दुई वर्षमा सक्ने गरी २०७७ असार ३० गते सम्झौता गरेको थियो । ५० मिटर लम्बाइको यो पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको हो । यस्तै सेतीबेनीखोला ट्रस्ट ब्रिज  मुक्तिनाथ/सुयान जेभीले निर्माण थालेको पाँच वर्षमा सम्पन्न गरेको आचार्यले बताउनुभयो । निर्माण कम्पनीले पाँच करोड ८६ लाख ८२ हजार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।    यस्तै कोरिडोर पाल्पा–गुल्मी–बागलुङ खण्डले कालोपत्रे गरिरहँदा स्याङ्जा–पर्वत खण्डमा निर्माणले तीव्रता पाएको छ । स्याङ्जा–पर्वतको ५३ किमिमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमि महादेव खिम्ती/आन्जना/पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।    निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी २०७७ भदौ १२ गते सझौता गरेको थियो । २१ करोड ९८ लाख छ हजार १९० रुपियाँ १९ पैसामा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा ५० प्रतिशत मात्र काम भएको आचार्यले बताउनुभयो ।   विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको आचार्यले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमि काष्ठमण्डप/कली/मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको छ । २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकोमा ६५ प्रतिशत काम सकेको छ ।    कोरिडोरले पर्वत खण्डको ४३ किमिमध्ये छ किमि कालोपत्रे हुँदा १७ किमि कालोपत्रेको अन्तिम तयारीमा रहेको छ । थप २० किमिको ठेक्का निकाल्ने तयारीमा रहेको आचार्यले बताउनुभयो । कोरिडोरको स्याङ्जा–पर्वत खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्खा, फलेबास, अर्मादी खण्डको सडक निर्माणले यहाँका लाखौँ नागरिक लाभान्वित हुनेछन् । यसबाट बुटवल, पाल्पा, नारायणगढ जाने यात्रुलाई समेत सहज हुनेछ ।