अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ। अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय भएको हो। 'नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो,' निर्माता रामबाबु गुरुङले भने। उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ। निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन्। अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए। ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ। पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म निर्माण भएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। यो फिल्म वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ।
काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो। चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन्। ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए। लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ।
काठमाडौं: नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
बागलुङ : चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो। घुम्टेले पहिलो र तेस्रो सेट आफ्नो जितेको थियोभने पुलिसले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो। पुलिसले पहिलो १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो। तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १२५–९ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो। उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको घुम्टेले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन्। दुवै टिम एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको हो। तेस्रो भएको हिल साइड निर्माण सेवा निलोले ७० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरेको छ। यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन्। परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो। प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो।
काठमाडौं : स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत भएको थिएन । डा.उप्रेती स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् । डा.उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।
काठमाडौं: खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ । शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ । राजश्व सङ्कलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्स लगायतका काममा विगतको झण्झट हटेका छन् । यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजाउँ ।’’ “सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,’’ प्रधानमन्त्रीले थप्दै भन्नुभयो, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’’ प्रधनमन्त्री प्रचण्डले नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको बताउनुभएको छ । ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’’
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्री र अलराउन्डर सीता रानामगर हङकङमा हुने टी-२० फ्रेन्चाइज लिग खेल्न प्रस्थान गरेका छन्। ललितपुर मेयर टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट शुक्रबार दुई महिला क्रिकेटर हङकङतर्फ प्रस्थान गरेका हुन्। बिहीबार भएको फाइनलमा सीताको कप्तानीमा रहेको एपिएफले उपाधि जितेको थियो। उपाधि जित्ने क्रममा सीताको टिमले रुबिनाको कप्तानीमा रहेको कोशी प्रदेशलाई पराजित गरेको थियो। हङकङमा हुने फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट प्रतियोगितामा कप्तान रूबिना द बार्बी आर्मी र सीता द टोनेडसमा आवद्ध छिन्। १५ दिन चल्ने प्रतियोगितामा नेपालका दुई खेलाडीको पारिश्रमिक कम्तिमा ५ हजार अमेरिकी डलर हुनेछ। खेलाडीले खेलको थप भत्ता पनि पाउनेछन्। दुवैले अघिल्लो सिजनको प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी हुँदैछन्। प्रतियोगिता हङकङको कोलुन क्रिकेट क्लबको मैदानमा हुँदैछ। प्रतियोगिताको पहिलो खेल चैत २१ मा हुनेछ। फाइनल आगामी वैशाख ३ मा हुनेछ। दिनमा दुई वटा खेल हुनेछ। एक टोलीले समूह चरणमा एक अर्कासँग एकपटक खेल्छन्। समूहको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ। २८ देशका कुल ८३ खेलाडी ६ टिममा आबद्ध छन्। अमेरिका क्रिकेटसँगको सहकार्यमा आयोजना गरिएको २०२३ को लागि एक अतिरिक्त प्रतियोगिताका खेलहरू १५ देखि ३० सेप्टेम्बर २०२३ मा अमेरिकामै खेलिनेछ।
भैरहवा: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “हिजो राजनीतिक दलहरु परिवर्तनको आन्दोलनको भूमिकामा दिए, मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अब यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले विगतको भूमिका बदल्नुपर्छ ।” मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ । राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनुहुँदै मन्त्री शर्माले भन्नुभयो, “आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन्, अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।” जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । यसैगरी, कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको सङ्कट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनका लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैँमा गौरवको विषय भएको जानकारी दिनुभयो । सदस्यता शुद्धीकरण अभियानमा महासंघ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले कमिसनमा काम गरेको भन्दै यो विज्ञापन बोर्ड खारेजी गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुहुँदै सरकारी र निजी सञ्चार प्रतिष्ठानले श्रमजीवी सञ्चार ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने औंल्याउनुभयो । शुद्धीकरणको अभियान कसैको पूर्वाग्रही ढङ्गले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्नेभन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पनि बोल्नुभएको थियो ।