राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले  बागमती  सभ्यताहरूको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।   ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ,' उनले भने,' हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छेभन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऔं, त्यसपछि लिपुलेक जोगाउँला,लिम्पयाधुरा पनि जोगौंला।'   यस्तै शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन भनेका छन् । सम्मेलनमा बोल्दै मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए। उनले यसका लागि यसपटकको सरकार केही समय टिकेमा आफूलाई समन्वय गर्न सहज हुने बताए।   ‘हाम्रो स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,' बालेनले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहि हुनुहुन्छ, मन्त्रीज्यू यहि हुनुहुन्छ । उहाँहरूको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्युलाई पनि यसपालि सरकार चाहिँ केही समयलाई टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ । किनभन्दा धेरै कुराहरु जोडिदो रहेछ । स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’   त्यस्तै उनले सम्बन्धित नगरपालिका उपप्रमुखहरूलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन आग्रह गरे।  उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभाश दिलाउनुपर्ने बताए।   'साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ,न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस,’कार्यक्रममा बोल्दै मेयर शाहले भने,‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा आउन नपरोस् । आफ्नै पालिकामा यस्तो न्याय पाइयोस्।। यसका लागि तपाईंहरू जिम्मेवार हुनुहु्न्छ।'

वालिङ: यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ ।  जिल्ला शिक्षा इकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परीक्षा केन्द्रमा तोकिएको स्थानमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परीक्षार्थीले एसइई दिने भएका हुन् ।    सामुदायिक विद्यालयबाट एसइई दिनेको सङ्ख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिगरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ जना विद्यार्थी एसइईमा सहभागी हुने आचार्यले जानकारी दिनुभयो ।    यस्तै, संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिगरी ९०४ जना परीक्षार्थी सहभागी हुने आचार्यको भनाइ छ ।    प्राविधिक विषयतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साइन्समा ६४ जना विद्यार्थीले एसइई दिने भएका हुन् । जिल्लामा परीक्षाका लागि ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको शिक्षा इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो ।   परीक्षालाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको शिक्षा इकाई कार्यालयले जनाएको छ ।

काठमाडौं:  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरु सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका छन्।    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफै उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन्।   मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैले स्वीकार गरिसकेको तर महिनाै‌ंसम्म कानुनको मस्यौदा गृहमन्त्रालयमा अड्किँदा साहु महाजनले  छलकपट गरी धमाधम  किसानकाे जग्गा लिलामी गरिरहेकाे उनले बताए।    ‘यसले दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन् बढिरहेको छ। सरकारले आफै सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’उनले भने।   सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे।    मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरुसमेत सुन्नमा आएको बताउँदै पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराए। 

काठमाडौँ:  पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ ।   पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो ।   विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुन समेत कोषले सबैलाई आग्रह गरेको छ । 

अर्खला:  पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् ।   पूर्वी नवलपरासीको पहाडी क्षेत्रको बुलिगंटार गाउँपालिकाको वडा नं. ४ अर्खला चुलीबोझामा ४ वर्षअघि स्थापना गरी सञ्चालन गरिएको देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे (घरबास)मा आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै स्थानीयको जीवन स्तरमा समेत परिवर्तन आएको अर्खला वडा नं ४ का वडाध्यक्ष मिनबहादुुर आलेमगरले बताउनुभयो ।   स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएको सो होमस्टे निरन्तरको अथक प्रयासपछि अहिले सफलता तर्फ उन्मुख भएको देवचुली चुलीबाेझा मगर सामुदायिक होमस्टेका अध्यक्ष हेमलाल बरालले बताउनुभयो ।   पूर्वी नवलपरासीको उत्तरपूर्वी क्षेत्र पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं. ४ बोझा पोखरीमा रहेको होमस्टेमा गएको सात महिनायता आन्तरिक पर्यटक तीन हजार एक सय जनाले होमस्टेमा बास बसेको अध्यक्ष बरालले बताउनुभयो ।   मगर सामुदायिक होमस्टेसँगै रहेको प्रसिद्ध देवचुली डाँडा ७ महिनाको अवधिमा तीन हजार एक सय स्वदेशी पर्यटकले होमस्टेमा बास बसेको अभिलेख रहेको होमस्टे सञ्चालकले बताउनुभयो । मगर समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, सांस्कृतिक पहिचान, रहेको भन्दै पर्यटकको आकर्षण बढेको अध्यक्ष बरालको भनाइ छ ।   मगर होमस्टेमा समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, देवचुली डाँडा, त्रिकन्या देवीको दर्शन, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार ( कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुरा)ले गर्दा समेत पर्यटनको आगमन बढेको सञ्चालक नौसिंह ठाडाले बताउनुभयो ।   होमस्टेमा बस्न आउने व्यक्तिहरू मध्ये आलोपालो प्रणाली अन्तर्गत सबैको घरमा बस्ने कारणले समेत आफूहरूले सबै खालका पाहुनाहरूको स्वागत गर्ने मौका पाएको र उनीहरूबाट नयाँ कुरा समेत सिक्न पाएको ठाडाको भनाइ छ ।   पूर्वी नवलपरासीको बुलिङटार वडा नम्बर ४ मा स्थापना गरिएको होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । सो होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।   होमस्टेमा जाने पर्यटकलाई बस्ने, खाने सबै व्यवस्था सञ्चालक समितिले गर्दै आएको छ । होमस्टे पुगेका आगन्तुकबाट उठेको रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यहरूलाई वितरण गर्ने गरिएको छ । कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने होमस्टेले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याएको वडाध्यक्ष आले मगरको भनाइ छ ।   होमस्टे सञ्चालनपछि गाउँमा विकास निर्माणको कामदेखि स्थानीयवासीको आनीबानी तथा व्यवहारमा परिवर्तन आएको स्थानीय बताउँछन् । जिल्लामा मात्र थारु, मगर, गुरुङ र निजी क्षेत्रमा सञ्चालन गरिएको बरौली होमस्टे सञ्चालनमा छन् । जिल्लामा रहेका अमलटारी र पिप्रहर होमस्टे भने देशका प्रमुख होमस्ट मध्ये पर्दछन् ।

तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । ६५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेका अवस्थामा फेला परेको थियो । जसका कारण स्थानीयवासी झाडापखाला फैलिएको थियो ।   दूषित पानीका कारण फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।   ‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मीसहित गाउँमै पुग्यौँ हाल सबैलाई निको भएको छ,’’ अधिकारीले भन्नुभयो ।   उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना बिरामी भएकोमा हाल सामान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।   ‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालका लागि मलुको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा वैकल्पिक सार्वजनिक धारा व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।   ‘‘तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजनिक धाराबाट वितरण गर्ने गरी काम भइरहेको छ,’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा आइतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   ७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्कीमार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीय शान्ता श्रेष्ठको शव दुर्गन्धित अवस्थामा ट्याङ्की भित्र भेटिएपछि गाउँवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्याङ्जा:  कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिनुभएको हो ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेसँगै सार्वजनिक भएको हो ।    हाई प्रोफाइल कतारी राजकुमारी अल्थानी स्याङ्जामा आउँदा यहाँको प्रशासनसमेत अनभिज्ञ रहेको छ । राजकुमारी अल्थानी आएको आफूहरूले थाहा नपाएको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजकीय रूपमा नआई पर्यटकका रूपमा आएकाले थाहा नपाएको बताउनुभयो ।    विश्वकप प्याराग्लाइडिङ सफल भएको भीरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको उहाँले दाबी गर्नुभयो ।    राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भीरकोटका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाउनु भएको थियो । सञ्चालक सानुबाबु सुनुवारले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका–१, दौवाफाँटमा अवतरण गर्नुभएको  सुनुवारले बताउनुभयो ।     राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले बताउनुभयो। राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैँ गरेको र अन्तिम उडान दौवाफाँटसम्मको गर्नु भएको हो।    प्याराग्लाइडिङ तालिम सिकेर एक्लै उडान र अवतरण गर्न सक्ने बनेर अल्थानी फेरि अन्नपूर्ण प्रथम आरोहणमा निस्के पनि मौसमका कारण पोखरामा रहनुभएको छ।    आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताउनुभयो। धेरै पहिलादेखि  भीरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले बताउनुभयो।    उच्च तहका पाहुना भीरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको बताउनुभयो।   

खोटाङ : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।    मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत  हारगुहार गरिरहेका छन् ।    काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्।   'यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्', उनले भने, 'नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।' 

पोखरा: पोखरा महानगरपालिका वडा नं.१२ मा प्लाष्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।  ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो ।  वडा स्तरमा प्लाष्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रा.लि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा.लि ९((जीआरडब्लुएम) ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् ।   परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लाष्टिकको प्रयोग र प्रयोग हुने प्लाष्टिकका वस्तु लगायत प्लाष्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लाष्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लाष्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गरिनेछ ।  यस्तै समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन कार्यान्वयन गर्न तुलनात्मक डेटाको लागि वडा नं.१२ का किराना पसलहरूमा पर्यावरण–अनुकूल कपास झोला र बायोडिग्रेडेबल ब्यागहरूमा अनुदानको व्यवस्था र पीईटी बोतलको खपत कम गर्न वडामा पानीका बोतल रिफिल गर्न मोबाइल पिउने पानीको व्यवस्था पनि मिलाइनेछ ।  प्लाष्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लाष्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति समेत अवलम्बन गरिने सम्झौतामा उल्लेख छ । यसमा प्लाष्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लाष्टिक फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लाष्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्दछ, प्रमुख आचार्यले भन्नुभयो, अहिले वास्तव मै प्लाष्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको छ ।” प्लाष्टिकको प्रयोगलाई अन्त्य गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धनको अभियानमा सामेल हुन उहाँले आग्रह समेत गर्नुभयो ।  स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै उहाँले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिनुभयो । महानगरपालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।