तनहुँ: तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खोलामाथि पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि स्थानीयवासी खुसी भएका छन् । कादूरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरूको तर्फबाट श्रमदान रु एक लाख त्रिपन्न हजार गरी कूल रु ७८ लाख ६४ हजार पाँच सय १९ को लागतमा पुल निर्माण गरिएको हो । वि.सं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो । ८६ मिटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यस क्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन्। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान हुने बताए। प्रधानमन्त्रीले भने,' क्रिकेट रंगशालाको १ या २ हप्ताभित्र समस्या समाधान हुन्छ र निर्माणकार्य अघि बढ्छ।' धुर्मुस सुन्तली फाउन्डेसन रंगशालाको निर्माणको जिम्मा लिएको थियो। तर, ऋण काढेको रकम तिर्न नसकेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिन महानगरपालिकासँग आग्रह गरेपछि थप पक्रिया अघि बढने भएको हो। भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो।
गण्डकी प्रदेशको आर्थिक वर्ष ०७८÷८० को बजेटमा राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदानस्वरुप उपलब्ध गराउन १० करोड रुपैयाँ छुट्याइएको छ । बजेटमा छुट्याइए पनि हालसम्म अनुदान उपलब्ध नभएपछि केन्द्रका अध्यक्ष महावीर पुनले रोष प्रकट गरेका छन् । अध्यक्ष पुनले हालसम्म उक्त रकम नपाएपछि त्यसको दोष कर्मचारीको ढिलासुस्ती र अस्थिर सरकारलाई लगाएका छन् । सुनगाभा न्यूजसँग कुरा गर्दै पुनले मुख्यतः मन्त्रालयकै कर्मचारीको ढिलासुस्तीकाकारण हालसम्म रकम उपलब्ध हुन नसकेको बताए । ‘पहिलो ३ महिना कार्यविधि र मापदण्ड बनाउनै समय खर्च भयो’ पुन भन्छन् ‘त्यसपछि कर्मचारीहरुले केन्द्रको बुझाएको कागजातमा अड्को थापिरहेका छन् ।’ पुनले हालै पोखरा आएर मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई पनि भेटे तर केन्द्रलाई दिइने रकम पाउन अझै कसरत गर्नुपर्ने उनले ठम्याए । पुन भन्छन्, ‘मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई कर्मचारीले रनभुल्ल पारिरहेका छन्, बजेट उपलब्ध नभएकोमा उहाँहरु नै छक्क पर्नुभएको छ ।’ मन्त्रालय स्रोतका अनुसार बित्तीय टोलीको प्रतिवेदन अझै आइसकेको छैन । त्यस्तै, सामाजिक विकास मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले आविष्कार केन्द्रका सबै कागजात आइसकेको र अब अन्तिम प्रक्रियामा रहेको बताए । तर कहिलेसम्म रकम उपलब्ध हुन्छ भन्ने प्रश्नको उत्तर भने दिन चाहेनन् वा सकेनन् । ‘मैले कसरी समय दिने, उहाँको काम प्रक्रियामा गइसकेको छ, थप कुरा सचिवज्यूलाई थाहा होला’ प्रवक्ता लम्सालले भने । उनका अनुसार सरकार फेरिइहँदा प्रक्रिया रोकिएको हो । लम्लास भन्छन् ‘मन्त्रीज्यू अत्यन्त व्यस्त हुनुभयो, उहाँहरुको व्यस्तताकै कारण केन्द्रले पाउनुपर्नै बजेटमा थप छलफल र निर्णय हुन सकेको छैन ।’ लम्साले यससम्बन्धी बैठक बसेर केही निर्णय गर्न बाँकी रहेको तर बैठक बोलाउन नसकेको जनाए । यता, अध्यक्ष पुन भने मन्त्रालयका कर्मचारीहरुले पेश गरेको कागजात र प्रस्तावमा अझै विधि नपुगेको भन्दै अल्झाइहेको बताउँछन् । ‘मैले बुझाउनु पर्ने कागजात, प्रस्ताव सबै बुझाइसके, सबै मन्त्रीलाई भेटेर अवगत गराइसके तर अझै किन काम हुँदैन’ आक्रोश पोख्दै पुन भन्छन् ‘कर्मचारीले चाहे भने रातारात काम गरेर नतीजा दिन सक्छन् तर उनीहरुले चाहिरहेका छैनन् ।’ मन्त्रालय स्रोतका अनुसार भने अब नयाँ सरकारपछि मात्रै रोकिएका र बाँकी रहेका काम सुचारु हुनेछन् । उक्त रकम छुट्याइने बेला प्रदेशमा विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ रहेका थिए । मन्त्री श्रेष्ठकै कार्यकक्षमा प्रपोजल पेश गरेका पुनले तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेरै धन्यवाद दिएका थिए । २०७९/८० को बजेटमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ छुट्याइएको हो । पुन गण्डकी प्रदेशमा आईसीटी इनोभेसन सेन्टर खोल्ने योजनामा छन् । उक्त योजना पुरा गर्न पुनले केही अघि सामाजिक सञ्जालमा आफ्नो नाममा रहेको २८ रोपनी जग्गा बेच्ने सार्वजनिक सूचना जारी गरेका थिए । उक्त अनुदान रकमबाट केन्द्रले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्वका कामहरु गर्नेछ।
काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। चैत्र १४ गते इण्डिगो एयरको उडानबाट दिल्ली प्रस्थान गर्ने क्रममा लागुऔषध ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट तीन किलो कोकिन बरामद गरेको प्रहरी स्रोतले बताएको छ। प्रस्थान कक्षको एक्सरे मेसिनमा जाँच गर्दा तीन किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक भन्लालमी भएको प्रहरी स्रोतले बताएको छ। उनको बयानबाट थप एकजना भारतीय नागरिक पनि संलग्न रहेको पाइएको छ। घटनाबारे जानकारी दिन दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलन गर्दैछ।
म्याग्दी: बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसइईको तयारीमा जुट्नुभएको छ । भोलि देखि परीक्षा हो भन्छन् मनमा डर लागिरहेको छ उहाँले सुनाउनुभयो । ‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट वञ्चित भइयौँ’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघे पनि पढ्ने इच्छा जागेर आयौँ । राम्रो अङ्क ल्याएर एसइई पास गर्ने रहर छ ।’’ सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काउने र पढाउन तीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो । गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसइईको परीक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानु परेको अनुभव सुनाउनुभयो । नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसइईमा राम्रो अङ्क आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो । यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसइई पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसइई पास गरिसके मैले पनि यसपालि एसइई पास गर्ने हो ।’ उहाँले भन्नुभयो । रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीया डिलकुमारी पुर्जाले पनि एसइईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडा बाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरू बिते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइनँ ।’’ पुर्जाको छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो । उहाँहरू सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरू यसपालिको एसइई परीक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीया सङ्गीता छिनाल, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ३७ वर्षीया इन्द्र मति फगामी, २८ वर्षीया पूजा छन्त्याल र ५२ वर्षीया तुलकुमारी खत्री एसइई परीक्षामा सहभागी हुँदै हुनुहुन्छ । बुधबार विद्यालयले एसइई परीक्षामा सहभागी हुने आमाहरूलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ । बिचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो । विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराइदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २४ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा पाइन्छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८९ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका हुन्। जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुन: २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए। केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताए। स्रोतमा अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रले राख्ने भएका छन्। उनले हाल उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय दिने तयारी गरेका छन्। एमाले नेतृत्वको गठबन्धनमा अर्थमा एमाले र गृहमा रास्वपाले पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा भने माओवादीले अर्थ र कांग्रेसले गृह लिएको थियो। यसैगरी कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। उक्त नामसहित अन्य मन्त्रीको टुंगो लगाउन बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसैगरी एसले प्रकाश ज्वालालाई मन्त्रिमा पठाउने बताइएको छ।
काठमाडौं : उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका बमोजिम मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ । जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य ३१४ जना चालक समेत कारबाहीमा परेका छन्। काठमाडौं उपत्यकाको आवागमनलाई सहजीकरण गर्न,सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले नियमित तथा विशेषा चेकिङ गर्दै आएको छ।