काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनमा सरकारको ध्यानाकर्षणसमेत गराए। शाहले भने, ‘सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ। हिजो ११ दिन हिँडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गयौं तर, उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो।’ विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको बताए। शाहले भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं र उहाँहरूको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्छौं। हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँ गाउँमा सरकार पुगोस्।'
काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ। उनलाई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा आज सम्मान गरिएको हो। खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै उनलाई प्रतिनिधि सभा सांसद विनोद चौधरीले सम्मान गरेका हुन्। क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए। आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने चौधरीले बताए। कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए। ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,’ उनले भने। उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए। नवलपरासी बर्दघाट–१४ का पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो।
काठमाडौं : थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो । उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’ राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ । जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ । उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो । जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो ।
काठमाडौं: सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । टेलिमेडिसिन सेवा यही चैत १५ गते बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमेललगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्व नाराबाजी गर्ने ३ जना कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर टेकुका सहायक प्रवक्ता निरञ्जन भट्टका अनुसार सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा कारागार चलान भएका हुन्। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो। गत मंगलबार स्वतन्त्र अभियान नेपालका केही कार्यकर्ताले प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए। उनीहरूले बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी प्रदशनमा उत्रिएका थिए। सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान गरिएको भट्टले जानकारी दिए। धरौटी रकम बराबरको दिनमा उनीहरू कारागार रहनेछन्। दिनको ३०० का दरले धरौटी कट्टा गरिनेछ। उनीहरूलाई डिल्लीबजार कारागार कार्यालय पठाइएको छ। बुधबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो।
काठमाडौँ: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाईउपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानगरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिभएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् । सोही अवसरमाप्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एकजना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
विराटनगर: पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने प्रादेशिक सरकारले निर्णय गरेको छ । कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।
पटक पटक विवादमा आइरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। गीत गाएर आलोचनामा परिरहने थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो। यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्। क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्। उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए। 'शनिबार वनभोज जाँदा मदिरा पिएर कुटपिट गरेको उजुरी परेको छ। दुर्गेशलाई हामीले सम्पर्क गरेका छौँ। उनले बाहिर छु भनेका छन्', जिसीले भने, 'उनी आइसकेपछि दुवै पक्षसँग यसबारे थप छलफलपछि निधोमा पुग्छौँ।'