महेन्द्रनगर । आइतबार राति बझाङको साइपालबाट भेटा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उहाँले काठमाडौँ÷पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताउनुभयो । “बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।” उहाँले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताउनुभयो । “एक लटमा रु ५०/६० लाखसम्मको कारोबार पनि हुन्छ ।” उहाँले भन्नुभयो, “दुख: गरेअनुसार पारिश्रमिक आइहाल्छ ।” उहाँले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग/अनुदान नरहेको दुखेसो पोख्नुभयो । “थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु ।” उहाँले भन्नुभयो, “साइपालको फेदबाट पोखरा पुग्दासम्मको दु:ख भनेर सम्भव छैन ।” उहाँले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताउनुभयो । “समयमा पुर्याउन सके राम्रै खपत हुन्छ ।” छपन्न भेडा लिएर पोखरा हिँडेका उहाँले भन्नुभयो, “हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।” त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उहाँको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् । पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा÷च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उहाँको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । “दसैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ”, पूर्वअध्यक्ष धामीले भन्नुभयो, “बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।” फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य रु २० देखि २५ हजार पर्छ । “साइपालमा रु २०/२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा रु ४०/४५ हजार पर्छ”, उहाँले भन्नुभयो, “बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।” गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उहाँले सुनाउनुभयो । गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताउनुभयो । अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन् । त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उहाँले बिक्री सुरु गरेको जानकारी दिनुभयो । “हिजो १६ च्याङ्ग्रा बिक्री गरेँ ।” उहाँले भन्नुभयो, “यस पटक दुई ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।”
पोखरा: पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्तालाई खाताबाटै पैसा निकाल्न सकस परेको छ । सहकारीले २ हप्ताअघि मिटिङ् बसेर जति नै बचत भएपनि हाल ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको हो । त्यसबेला कुनैपनि खातावालको चेकबाट पहिलो आउनेलाई ५० हजार रुपैयाँ दिने गरिएको थियो । तर सहकारीको उक्त निर्णय पनि हप्ता दिनभन्दा बढी टिक्न सकेन । हाल सहकारीले १० हजार रुपैयाँभन्दा बढी झिक्न नपाउने सूचना निकालेको छ भने कारोबारको समयसमेत घटाएर दिनको २ बजे बनाएको छ । सहकारीले संस्थाको आन्तरिक आर्थिक रणनीति व्यवस्थापनको लागि सेयरधनीको खाताबाट दिनमा १० हजार मात्र निकाल्न दिएको बताएको छ । त्यस्तै, आइतबार देखि बिहिबारसम्म १० देखि २ बजे र शुुक्रबार १० देखि १२ बजेसम्म कार्यालय खुल्ला रहने सुचना निकालेको छ । यस विषयमा सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकताअनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । ‘लिक्विडिटीको मारमा परेर भुक्तानी दिन नसकेका हौं’ व्यवस्थापक बुढामगर भन्छन् ‘तिहारयता सहकारीले १० हजार बढी दिन सक्दैन ।’ उनले सूर्यदर्शनमात्रै नभएर प्रायः सहकारीको अवस्था उस्तै रहेको जनाए । राष्ट्रबैंकले दैनिक ८ लाख रुपैयाँको हाराहारीमामात्रै पैसा दिने गरेकाले पनि भुक्तानीमा असहज भएको सहकारीको भनाई छ । व्यवस्थापक बुढामगर भन्छन्, ‘तिहारपछि अवस्था सहज हुन्छ, हामीले चाहेको भुक्तानी दिन्छौं तर रकम डुब्ला भनेर चिन्ता लिन पर्दैन ।’ सहकारीका एक संरक्षक हेमन्त अधिकारीका अनुसार देशमा आर्थिक मौज्दात कम छ । बित्तीय संस्थाहरुमा पैसा सटही (रोटेसन) भएको छैन । त्यसैले सेयर धनीले माग गरेजति पैसा दिन समस्या भएको छ । चाडवाड नजिकिएकाले पैसा निकाल्ने बढी भएकाले आन्तरिक आर्थिक रणनीति व्यवस्थापन गर्न एक खाताबाट १० हजार मात्र दिने गरेको उनले बताए । अधिकारीले थपे ‘अरु कुनै कारणले होइन ।’ उनका अनुसार देशको केही शहरमा सहकारीहरुले चाबी लगाएर शेयर सदस्यलाई बिचल्ली पारेका छन् । ‘त्यसैले पनि केही सेयर धनीहरुले हामी प्रति नकारात्मक साेंच राखेका हुुन सक्छन्’ उनले भने ‘हामी शेयरधनीलाई बिचल्लीमा पार्दैनौ ।’ आर्थिक मौज्दात बलियोे हुँदा बचतकर्तालार्ई २० लाख रुपैयाँसम्म दिएको बताउँदै उनले यतिबेला शेयरधनीलाई अवस्था बुझ्न अनुरोधसमेत गरे । संरक्षक अधिकारीका अनुसार लाख भन्दा बढी कारोवार गर्ने व्यापारीलाई दैनिक ५० हजार दिएर नपुग्ने भएपनि केही दिनपछि अप्ठ्यारो हुनेछैन । ‘जसले कुटो कोदाली गरेर, ज्याला मजदुरी गरेर बचत गर्नुुभएको छ, उहाँहरुले रकम नपाउने भन्ने हुँदैन’ अधिकारी भन्छन् ‘तर केही समयका लागि धैर्य गरिदिनुहोस् ।’ यता, यही विषयमा पोखरा महानगरपालिकाअन्तरगतको सहकारी शाखाले नजिकबाट अध्ययन गरिरहेको छ । शाखाका जिम्मेवारी पाएका प्रमुख भरतराज पौडेलले सूर्यदर्शन सहकारीलाई ‘समस्याग्रस्त’ सहकारीको सूचीमा राख्ने बताएका छन् । ‘हामीलाई हप्ताअघि नै जानकारीमा आएको हो’ प्रमुख अधिकारी भन्छन् ‘बचतकर्ताले खाता बन्द गर्न आए सबै भुक्तानी दिनुपर्छ, तर सूर्यदर्शनमा त्यस्तो पाइएन ।’ उनका अनुसार सहकारीले लगानी गरेपछि उ सँग बचत छैन भने हाल १० प्रतिशत सञ्चिति रकम पनि छैन । अहिले नै कारवाहीको प्रक्रिया अघि बढाए हाल बाँडिरहेको १० हजार रुपैयाँ पनि बचतकर्ताले नपाउने भएपछि महानगरले कारवाही अघि बढाउन सकेको छैन । ‘अब लिक्विडेसनमा लैजान पर्ने हुनसक्छ’ पौडेल भन्छन् ‘त्यतापट्टिबाट भएपनि शेयर सदस्यको रकम उठाउने काम हुनसक्छ ।’ जानकारीमा आए अनुसार सूर्यदर्शन सहकारी जिल्ला सहकारी संघ कास्कीमा आबद्ध छैन ।
पोखराः गण्डकी प्रदेश सरकारले चालु बजेटमा बढाएको करमध्ये ४ शीर्षकका करको दर घटाएको छ । अर्थमन्त्री रामजी बरालले वैज्ञानिक र समायानुकूल भन्दै बढाएको करलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा घटाइएपछि दुई मन्त्रीबीचको टकराव पुनः सतहमा आएको छ । यस आर्थिक वर्षमा अर्थमन्त्री बरालले घरजग्गा नामसारीमा ३२८ प्रतिशतसम्म कर बढाएको थियो । त्यस्तै, सवारी करमा पनि १० हजार रुपैयाँसम्म बढाएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जनस्तरबाट करको वृद्धिमा भएको विरोध र आन्दोलनलाई समेत बेवास्ता गरेको सरकारले शुक्रबार घटाएपछि अर्थमन्त्री असन्तुष्ट भएका छन् । प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद् बैठकले घरजग्गाको रजिष्ट्रेशन शूल्क, तीन पुस्ताभित्रको नामसारी, सवारी कर र विद्यार्थी सहुलियत दरलाई पुरानै अवस्थामा कायम गरेको छ । आर्थिक ऐन, २०७९ अनुसार तीन पुस्ताभन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० हजार र गाउँपालिकामा पाँच हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५ सय रुपैयाँ मात्र थियो । तीन पुस्ताभित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५ सय तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपरेको थियो । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा ५०० तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार ५ सय कायम थियो । हाल साबिक दस्तुर पनि महानगरमा ४ सयबाट एक हजार रुपैयाँ पुग्यो । नगरपालिकामा यो शुल्क २ सयबाट ५ सय र गाउँपालिमा १ सयबाट २ सय रुपैयाँ पुगेको थियो । संशोधन शुल्क पनि दोब्बर बढाइएको थियो । अंशबन्डामा पनि ५० प्रतिशतसम्म कर बढाइएको थियो । अंशबन्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्र भएकोले कर घटाउनुपर्ने माग संसद्मा पनि उठेको थियो । मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को ९क० अन्तर्गत घरजग्गालगायत रजिष्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्कको क्रमसंख्या ४ अंशबन्डा तथा अंश भर्पाइको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिष्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ । यस्तै, अनुसूची–१ को क्रमसंख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरिएको छ । अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण (२) को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ) सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ । अनुसूची–२ को प्रकरण (६) अन्तर्गत भाडाका बस, मिनिबस तथा माइक्रोबस सवारीसाधनले विद्यार्थीलाई सहुलियतको रूपमा भाडामा छुट दिएबापत त्यस्ता सवारीसाधनका धनीले तिर्नुपर्ने सवारीसाधन करमा ३३ प्रतिशत छुट पाउने व्यवस्थालाई गत आवबमोजिम नै हुने गरी व्यवस्था गर्ने निर्णय गरिएको छ ।
पोखराः नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । आइतबारसम्म चल्ने एक्सोपोको उद्देश्य नेपालबाट इन्धनमा बाहिरिने पैसालाई रोक्नुपनि हो । पेट्रोल र डिजलमा वर्षेनी बाहिरिने अर्बाै रुपैयाँलाई जोगाउनु र वातावरणमैत्री बनाउन पनि एक्सपो आयोजना गरेको नाडाले जनाएको छ । एक्सपोमा हाल १६ लाखदेखि २ करोड रुपैयाँ बढी पर्ने गाडीहरु राखिएको छ । उक्त गाडीबारे जानकारी लिने र खरिदमा रुचि राख्नेहरुको भीड आज सबैभन्दा बढी रहेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिएका छन् । ‘एक्सपोमा आकर्षण बढेको पाइयो, भिजिटरहरुको चासो र सकारात्मक टिप्पणी पाइएको छ’ अध्यक्ष थापा भन्छन् ‘अबको भविष्य नै विद्युतीय सवारीको हो ।’ उनले विश्वबजारमै इभिको माग बढिरहेको सन्दर्भमा नेपाली उपभोक्ताको पनि चासो बढ्नु सकारात्मक भएको टिप्पणी गरे । पोखरामा पनि इभि एक्सपो सम्भव छ ? भन्ने प्रश्नमा थापाले भने ‘कामठमाण्डौंमा जस्तो वृहतस्तरमा उपभोक्ता भेट्न पोखरामा सम्भव छैन, तैपनि उद्योग वाणिज्य संघमार्फत आयोजना हुने मेला÷महोत्सवमा प्रदर्शन गर्नेछौं ।’ एक्सपोमा हालसम्म कति गाडी बुकिङ् वा बिक्री भयो भन्ने जानकारी आइतबारमात्रै दिइने आयोजकले जनाएको छ । एक्सपोमा सहभागी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले विद्युतीय गाडीबाट आफु प्रभावित भएको बताएका छन् । ‘एक्सपो शानदारमात्र हैन, प्रभावकारी पनि देखियो’ अध्यक्ष प्रजापतिले भने ‘अब देशमा उत्पादित विद्युत खपत गर्न पनि इभि चढ्नुपर्छ ।’ उद्योग वाणिज्य संघले पनि अटो मेलाको आयोजना गर्ने बताउँदै उनले त्यहाँ विद्युतीय गाडीकोसमेत स्टल राखिने जनाएका छन् । प्रजापति भन्छन् ‘अब बिस्तारै विद्युतीय साधनको प्रयोग बढाउँदै देशबाट पैसा बाहिरिने क्रम रोक्नुपर्छ । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ । साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखेकाे छ ।
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका १३ वटा मासु पसललाई कारवाही गरेको छ । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १३ वटा पसललाई जनही ५ हजारका दरले ६५ हजार जरिवाना गरेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च गण्डकी र पत्रकारको टोलीले असोज ४ गते पोखराका ३२ वटा फ्रेस हाउस अनुगमन गर्दा १३ वटा पसललाई जनही ५ हजारका दरले कारवाही गरेको हो । कोइरालाका अनुसार अनुगमनका क्रममा पोखराका केही पसलहरुले खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बिक्री गरेको पाइएको थियो । अनुगमनको क्रममा केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएकाले २ दिनभित्र पसल सुधार गर्न समय दिएको थियो । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जरिवाना गरिएको मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछनु’ अध्यक्ष कोइरालाले भने ‘पसल दर्ता गर्न ३ दिनको समय दिएको छ, त्यो समयभित्र दर्ता प्रक्रियाको क्रममा नगए थप कारवाही हुनेछ ।’ प्रशासनले उपभोक्ता संरक्षण ऐन अन्र्तगत रहेर कारवाही गरेको उल्लेख गरेको छ ।
लेखनाथ : कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्नुहुन्छ म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झर्नुभएकी उहाँलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब रु तीन करोड पुगेको छ । उहाँले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो पेशा अगाडि बढाउनुभएको थियो । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी छन् । पन्ध्र रोपनी जमिनमा शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, “दूध तथा तरकारी बिक्रीबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक रु डेढ लाख बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।” तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि रु सात हजार बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थाल्नुभयो, गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उहाँले भैँसीपालन गर्ने सोच बनाउनुभयो । शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भएपनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याउनुभयो । मेहेनत गर्दै अगाडि बढ्नुभएकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बन्नुभएको छ । दुई वर्ष अगाडिदेखि उहाँले बाख्रापालनसमेत सुरु गर्दै आउनुभएको छ । त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्थ्यो । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो । पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उहाँले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याउनुभयो । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो । दुई–तीन महिला उहाँका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिनुहुन्छ । किनेको एउटा भैैँसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उहाँले २०७५ मा भैँसी थप्ने योजना बनाउनुभयो । तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन । भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दिने भयो उहाँलाई । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले रु ५० लाख रुपैयाँ दिने निर्णय ग¥यो । बैंकबाट लिएको पैसामध्ये रु ३० लाख भैँसी खरिद र रु २० लाख तरकारीको टनेल बनाउन प्रयोग गर्नुभयो उहाँले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर रु १० लाखमा पु¥याउनुभएको थियो। छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा-२७ मा नै किराना पसल गर्नुभएको छ । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको जानकारी उहाँ दिनुहुन्छ । “अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन रु तीन करोड गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उहाँले अहिले २९ रोपनी जग्गा भाडामा लिनुभएको छ । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु । कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स विषय पढे”, शेरपूर्जा भन्नुहुन्छ, “लेखनाथमा आफ्नै एउटा घर पनि छ ।” कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिनुभएको छ।
सिन्धुपाल्चोक : बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भन्नुभयो । काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउनुहुन्छ । मेलम्चीका माछा निकै स्वादिलो भएको उहाँ बताउनुहुन्छ । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो । बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।
तुलसीपुर : टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो । पहाडी जिल्लामा चामल पुर्याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ । ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । “अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन”, सुनारले भन्नुभयो । चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उहाँले बताउनुभयो । बास्मती चामलको मूल्य प्रतिकिलो रु एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ । दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ । खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उहाँको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ ।
नवलपुर : दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख सात हजार एक सय ९० मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लाको आवश्यकता भने जम्मा ३४ हजार छ सय ८० मेट्रिक टन रहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको दूध बाहिर बिक्रीका लागि लैजाने गरिएको छ । कार्यालयले दूधमा उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । प्रतिलिटर दूधमा यहाँ सहकारीमार्फत सञ्चालित दुग्ध सङ्कलन केन्द्रबाट सो अनुदान दिने गरिएको छ । “दूध उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानसमेत प्रदान गर्दै आएका छौँ, यसबाट पनि किसान लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो, “बजेट पर्याप्त नहुँदा सहकारीलाई निश्चित रकम प्रदान गर्ने गरिएको छ ।” यसैगरी मासुमा पनि नवलपुर आत्मर्निभर भएको छ । नवलपुरमा गत आर्थिक वर्षको तथ्याङ्कानुसार १२ हजार चार सय ९० मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लामा आवश्यकताभन्दा सात हजार एक सय ५५ मेट्रिक टन बढी हो । प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता रहेकामा नवलपुरमा ३२ दशमलव सात किलो उपलब्ध रहेको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । जिल्लाको जनसङ्ख्या र प्रतिव्यक्ति आवश्यकताको तुलनमा अण्डा उत्पादनसमेत धेरै हुने गरेको छ । प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकता रहेकामा नवलपुरमा प्रतिव्यक्ति प्रतिवर्ष ९० वटाका दरले अण्डाको उपलब्धता रहेको छ । प्रतिव्यक्ति आवश्यकताका आधारमा जिल्लामा अण्डाको उत्पादन धेरै रहेको र बढी भएको उत्पादन जिल्ला बाहिर बिक्री गरिन्छ । दूध, मासु र अण्डा आवश्यकता तथा उपलब्धताका आधारमा बढी उत्पादन भएको गुरागाईँले बताउनुभयो । माछाको उपलब्धतासमेत जिल्लामा राम्रो रहेको छ । “जिल्लामा माछाको उत्पादन पनि राम्रो छ, आवश्यकता प्रतिव्यक्ति कति भनेर पहिचान गरिएको छैन, यसले गर्दा आत्मनिर्भर नै भन्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “माछासमेत जिल्ला बाहिर बिक्री गर्ने गरिएको छ ।” गत आवको तथ्याङ्कानुसार नवलपुरमा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएको थियो । नवलपुरमा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको कार्यालयले जनाएको छ । यसबाहेक माछा उत्पादन हुने खोला, नदीजस्ता प्राकृतिक जलाशयको क्षेत्रफल दुई हजार आठ सय ४५ रोपनी छ । सरकारले पशुपक्षीपालन, माछापालनमा विभिन्न अनुदान दिने गर्दा नवलपुरमा यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ । ठूला सहर तथा उद्योगले पशुपक्षीजन्य वस्तु खपत गर्दै आएका छन् । बजारको समस्या नरहेको कार्यालयले जनाएको छ ।