म्याग्दीः मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो रु एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य रु ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८।५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताउनुभयो । “बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो”, उहाँले भन्नुभयो, “अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।” कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताउनुभयो । यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् । यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताउनुभयो । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित भएको छ । कूल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर रु एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो । नवील बैंक रु सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट रु छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेष्ट बैंक रु पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलब १८, गरिमा विकास बैंकको ऋणपत्र छ दशमलब ११, नेपाल ल्यूब आयल छ दशमलब शून्य नौ, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलब १६ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलब ५६, ओरियन्टल होटल चार दशमलब ३१, जानकी फाइनान्स तीन दशमलब ९६, नेपाल एसबीआई बैंकको ऋणपत्र तीन दशमलब ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलब ९१ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले उकालो लागेर तीन सय ८६ दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार कूल दुई सय ३३ कम्पनीका ४२ लाख २३ हजार आठ सय ६७ कित्ता शेयर रु दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ मूल्यमा कारोबार भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार आठ सय ६९ मा पुगेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४५ करोड चार लाख सात हजार एक सय १९ बराबरको कारोबार भयो । नबिल बैंक रु १२ करोड तीन लाख २१ हजार नौ सय ८८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ७९ लाख ६३ हजार आठ सय ३३, शिवम् सिमेन्ट रु आठ करोड १८ लाख एक हजार चार सय २५ र नेष्डो समृद्धि लघुवित्त रु छ करोड छ लाख पाँच हजार दुई सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त आठ दशमलब २१, जीवन विकास लघुवित्त सात दशमलव ४३, कुमारी बैंक छ दशमलव ७७, ग्रीनलाइफ हाइड्रोपावर छ दशमलव ५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले छ दशमलव ५४ प्रतिशतले कमाएका छन् । त्यस्तै एनएमबी हाइब्रिड फण्ड पहिलो तीन दशमलव ११, प्रभु सेलेक्ट फण्ड दुई दशमलव २६, एनआइसी एशिया ब्यालेन्स फण्ड दुई दशमलव शून्य दुई, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २।०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १।९७ प्रतिशतले गिरावट भएको छ ।
पोखरा: कोरोना भाइरसको महामारीपछि पोखरामा २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका अध्यक्ष पवन प्रजापतिका अनुसार उक्त मेलामा करिब २ सय ५० वटा स्टलहरु रहनेछन् । जसमध्ये ४५ वटा अटोका रहने छन् । उनले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्रि तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको जानकारी दिए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने । उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए । ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९ ले हाम्रो अभियान रोकियो र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’ उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
बझाङः गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए । व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । “हामीले पनि किनेरै बेच्ने हो । रु १० नाफा नखाएर कसरी व्यापार गर्नु”, व्यापारी विनिता गिरीले भन्नुभयो, “हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा रु पाँच/दश नाफा त खानै प¥यो नि ” उहाँका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुग्नुभएको थियो । उहाँ अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित पर्नुभयो । “सिजनअनुसार सबै ठाउँमा रु १०/२० पर्ने बन्दाको कोहलपुरमा रु १५० भन्यो”, उहाँले भन्नुभयो, “कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधें, बन्दाको प्रतिकेजी रु १५० । गलत सुनेकी भनेर फेरि सोधेँ, रु १५० । अर्को स्टलमा सोधेँ, रु १५० नै । म त ट्वाँ परेँ ।” प्रमुख विष्टले बन्दाको प्रतिकेजी रु १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताउनुभयो । “अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’’ उहाँले भन्नुभयो, “बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी रु १२ छ । बित्थडचिरको आनन्दपुरमा रु १५, मुस्याखान बैतडीमा रु १०, खोड्पे बैतडीमा रु १४, अनारखोली डडेल्धुरामा रु १५, धनगढीको दुवै हाटबजारमा रु ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा रु ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो” कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताउनुभयो । “म त अचम्ममा परेँ”, उहाँले भन्नुभयो, “मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन्, उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।” यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भन्नुभयो, “हुनत तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।” व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले रु १३० देखि १४० मा खरिद गरेको बताउनुभयो । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उहाँको भनाइ थियो । “कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएकोर , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि रु १०÷१२ त नाफा खानु प¥यो ।” व्यापारी जिसीले भन्नुभयो । अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य रु सयको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । “अहिले बन्दाको थोक मूल्यसमेत रु ८०÷९० छ ।” अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४९ अङ्कले उकालो लागेर तीन सय ८१ दशमलव शून्य छ मा पुगेको छ । कूल दुई सय २३ कम्पनीको ४३ लाख ८४ हजार चार कित्ता शेयर रु एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ बराबरको कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ३९ लाख १५ हजार नौ सय ७२ बराबरको कारोबार भयो । त्यस्तै शिवम् सिमेन्ट रु १३ करोड ४० लाख २७ हजार दुई सय ८८, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ६३ हजार आठ सय ७३, फरवार्ड माइक्रोफाइनान्स रु सात करोड ९० लाख ६५ हजार दुई सय ७४ र हिमालयन पावर पार्टनर रु छ करोड १३ लाख २६ हजार आठ सय ३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई सात दशमलव ५१, रिडी पावर कम्पनी छ दशमलव शून्य तीन र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स दुई दशमलव ९७, इमर्जिङ नेपाल एक दशमलव ८७, तारागाउँ रिजेन्सी होटल एक दशमलव ६९, समता घरेलु लघुवित्त एक दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले शून्य दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् रु २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् रु ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ । यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् रु दुई खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् रु २२ अर्ब २८ करोड ४९ लाख उठेको छ । पहिलो चार महिनामा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले रु ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।
कास्की: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका रामजी बरालले लज सञ्चालनमा ल्याएका छन् । गतवर्षदेखि पोखरा महानगरपालिका २२ पुम्दीकोटमा ‘जय शम्भो पुम्दीकोट लज एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा रहेको बरालका छोरा कुलप्रसादले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक कारणले एक महिना सेवा बन्द गरिएको छ । सो लज आफुले हेर्दै आएको बताउदै पारिवारिक लगानी रहेको कुलप्रसादले बताए । ‘हामी कोही पनि छुट्टिएका छैनौं, उनले भने, ‘त्यसैले पारिवारिक लगानी नै भन्न मिल्छ र म माननीय कै छोरा हो नि ।’ लज स्थापनाको मूख्य उद्देश्य धार्मिक र आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले जनाए । यससँगै पर्यटनमार्फत आत्मनिर्भर र उद्यमी हुनपनि व्यवसायले सघाउ पुग्ने उनको धारणा छ । करिब डेढ करोड रुपैयाँ लगानी रहेको लजमा एक डिलक्ससहित पाँच कोठा, रेष्टुरेन्ट र ६० जना अट्ने सेमिनार हल रहेको छ । शिव मन्दिरबाट सो लज पाँच मिनेटको पैदल दूरीमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् मन्त्री बराल आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।