कावासोतीमा तरुलबाटै एक करोडको व्यापार
काठमाडाैं | माघ ८, २०७९
कावासोती: पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ।
कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो।
नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।
नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्दछ। त्यहाँ उत्पादित वनतरुल प्रतिकेजी एक सय रुपियाँ, पञ्जेतरुल ८० तथा मुढेतरुल ५० रुपियाँमा बिक्री गरी पोखरा र काठमाडौँतर्फ निर्यात गरेर एक करोड आम्दानी भएको सारूले बताउनुभयो। यस वर्ष जिल्लाबाट ४० टन तरुल निर्यात गरी राम्रो आम्दानी भएको उहाँको भनाइ छ।
पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको र अहिलेसम्म ४० टन तरुलको व्यापार गरेको सारूले बताउनुभयो। पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ। उहाँले भन्नुभयो, “अन्य तरकारीभन्दा तरुलको बिक्री बढी छ।”
जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन। यसमा रोग तथा कीराको आक्रमणसमेत नहुँदा खानका लागि स्वस्थ भएकाले पनि तरुलको माग बढेको हो। नवलपुरको पहाडी क्षेत्रको जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो।
नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ। आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँ पठाउने गरेको व्यवसायी कृष्णबहादुर सारूले बताउनुभयो। माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...

