काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

ढोरपाटन:    साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ । हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन् । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।  “बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ”, उहाँले भन्नुभयो । बजार क्षेत्रका चोक, फुटपाथ र गल्ली जोखिमयुक्त छन् । बसपार्क साँघुरो छ । खानेपानीको समस्या पनि उस्तै छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताउनुभयो । “बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन”, उहाँले भन्नुभयो ।  बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२÷७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र  पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताउनुभयो । “बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन”, उहाँले भन्नुभयो, “चारवटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।” आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा रु १५ करोड ६० लाख विनियोजन भएको अधिकारी बताउनुहुन्छ । भब्रेटामा सभाहलको काम सुरु भएको छ । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ । हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुनसकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं:  सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ । बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए । नेशनल हाइड्रो, हिमाल दोलखा हाइड्रो, ग्रीनलाइफ हाइड्रो, अपर तामाकोशीसहितका कम्पनीको आज धेरै कारोबार भएको छ ।

काठमाडौं:  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले बढेको छ  । आज कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख ३० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव चार करोडको शेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २।५१ अङ्क बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अङ्क घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।

काठमाडौं:  सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभावित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘केही सातादेखि गत वर्ष बराबरकै उच्च बिन्दुमा सुनको कारोबार भइरहँदा नै बजार प्रभावित भएको थियो,’ उनले भने, ‘तर मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै छ । बरु पुरानो गहना बिक्री गर्न आउनेहरु बढेको जानकारी व्यापारीहरुबाट आएको छ ।’ अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ । नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ । यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

कावासोती:  पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ।  कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो।  नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।  नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्दछ। त्यहाँ उत्पादित वनतरुल प्रतिकेजी एक सय रुपियाँ, पञ्जेतरुल ८० तथा मुढेतरुल ५० रुपियाँमा बिक्री गरी पोखरा र काठमाडौँतर्फ निर्यात गरेर एक करोड आम्दानी भएको सारूले बताउनुभयो। यस वर्ष जिल्लाबाट ४० टन तरुल निर्यात गरी राम्रो आम्दानी भएको उहाँको भनाइ छ। पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको र अहिलेसम्म ४० टन तरुलको व्यापार गरेको सारूले बताउनुभयो। पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ। उहाँले भन्नुभयो, “अन्य तरकारीभन्दा तरुलको बिक्री बढी छ।” जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन। यसमा रोग तथा कीराको आक्रमणसमेत नहुँदा खानका लागि स्वस्थ भएकाले पनि तरुलको माग बढेको हो। नवलपुरको पहाडी क्षेत्रको जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो।  नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ। आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँ पठाउने गरेको व्यवसायी कृष्णबहादुर सारूले बताउनुभयो। माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ।  

काठमाडौं:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारको मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ । कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर रू तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार दुई सय ३३ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष  स्थानमा छ । बैंकको रू १८ करोड चार लाख ४४ हजार छ सय ५३ बराबरको शेयर कारोबार भयो । यस्तै, रिडी पावर रू १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् । त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त पाँच दशमलब ४४, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।     

काठमाडौं:  बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य बुधबारकै मूल्य भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

पोखराः  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन ।    युनाइटेड क्लबले आयोजना गरेको ११ औं महोत्सवमा करिव १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने महोत्सवमा करिव ४ करोड बरावरको कारोवार भइसकेको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।   महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए । युनाइटेड क्लबले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने  कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।  

पोखराः   पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याएका हुन् ।  लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीहरुलाई मन पर्नेछ ।’, उनले भने । लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाई उनको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरु बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको अभिव्यक्ति उनको थियो । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे । लेकसाइड १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उनको छ । ‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महङ्गो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ ।’, उनले भने । त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारी समेत उनले गराएका छन् । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् । म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको एक महिनामा त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेको समेत बताए । त्रिपुराका संचालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेलजीवन सँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब संचालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् ।