काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९० रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६ पैसा तोकिएको छ।
काठमाडौं: सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।
काठमाडौं: साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ । आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अङ्कले घटेर २०२२.६४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अङ्कले, फ्लोट इण्डेक्स ३.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अङ्कले घटेको छ । आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । आज छिमेक लघुवित्त आठ करोड ७० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
तीन हप्ताअघि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे चासो राख्दा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले फेब्रुअरी २३ देखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसँगै विदेशबाट जहाज आउने तयारी रहेको जानकारी दिएको थियो । क्यानले त्यसबेला आइएफआर जडानसँगै भुटाना वा चीनबाट जहाज आउने गृहकार्य भइरहेको जनाएपनि त्यसो हुन सकेन । अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने क्यानको जवाफ छ । विमानस्थल उद्घाटनको २ महिना हुनै लाग्दा अझै केही समय लाग्ने क्यानका डेपुटी म्यानेजर एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् । ‘नआत्तिनुहोस् न ! पसल खोलेका छौं, अब ग्राहक आउँछन्’ भुल भन्छन् ‘धैर्य गर्नुहोस्, पर्यटक बोकेर ठूलो जहाज छिट्टै पोखरा आउनेछ ।’ भुलका अनुसार विमानस्थल उद्घाटन हुनु भनेको पसल खोलेको हो । अब पसल हेर्न विदेश एयरलाइन्स कम्पनी पोखरा आउने तयारी भइरहेको छ । प्राधिकरणले जानकारी दिए अनुसार आइएफआर जडान भएपछि यहाँको विमानस्थल अवलोकन गर्न एयरलाइन्सको टीम आउनेछ । टीमले विमानस्थल, रनवे, प्रविधि, उपकरण र पर्यटनसँग सम्बन्धित पूर्वाधारको अध्ययन गर्नेछ । त्यसपश्चात्, विभिन्न एयरलाइन्सको टीमले उक्त अध्ययन प्रतिवेदन सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाएपछि बल्ल उडानबारे मिति घोषणा हुनेछ । चीनको अनुदान र रिनमा बनेको विमानस्थल भएकाले सर्वप्रथम चीनकै एयरलाइन्सले उडान थाल्ने सम्भाना अधिक भएको क्यानको विश्वास छ । ‘अबको २–३ हप्तामा चाइना साउथवेस्ट एयरलाइन्सको टीम अध्ययनार्थ पोखरा आउने पक्कापक्की छ’ भुलले भने ।
पोखरा: पोखरेली व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका छन् । पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजबाट आहत भएपछि आज पोखरामा सडक आन्दोलन गर्दै यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेको बताए । ‘व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने क्रममा गरिरहेको सम्झौता विपरित ब्याजदर वृद्धि गरिएको छ, कोइरालाले भने, ‘बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेर व्यापारीहरुलाई मारमा पारेका छन्, ऋण तिदैनौं भनेका छैनौं तर एकोहोरो रुपमा वृद्धि गरिएको ब्याजदर घटाउनुपर्छ ।’ राजनीतिक दलहरुले हरेक कुरामा राष्ट्रिय सहमति खोज्दै आएपनि व्यवसायीहरुको गुनासोमा चासो नदेखाएको उनले बताए ।‘व्यापारीहरुलाई चर्को ब्याजदरले मारमा पार्नु भनेको अर्थतन्त्र धरायसी बनाउनु हो, राज्यले कुनै किसिमको सहयोग गर्न सकेको छैन, उनले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको नारा लगाएपनि व्यापारीको पक्षमा कुनै चासो नदेखाउन दुखद पक्ष हो ।’ उनले व्यवसायीहरुले तिर्न सक्ने कर्जाको कार्ययोजना तयार गरेर नै बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिए पनि सम्झौता विपरित एकोहोरो ब्याजदर वृद्धि गर्दा व्यवसायी धरायसी भएको बताए । विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा बित्तीय संस्थाहरुले दैनिक फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदा व्यवसायीहरुमा नकारात्मक असर परेको बताए । ‘बैंक तथा बित्तीय संस्थाहरुले दिनहुँ व्यवसायीहरुलाई ऋण तिर्न दवाव दिदैं आएका छन्, व्यवसायीहरुको घर लिलामी गर्छु भन्छन्, प्रजापतिले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट सम्झौता भएर ऋण लिएको छ त्यसको विपरित एकोहोरो रुपमा ब्याजदर वृद्धि भएको छ, कसरी तिर्ने ?’ आजबाट सांकेतिक रुपमा विरोधको कार्यक्रम सुरु गरेका छौं, बैंक तथा बित्तीय संस्थाहरु हेरेका बसेका छन्, यसरी नै हेरेर बसे अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्न व्यवसायी पछि हट्ने छैनन्, त्यसबाट हुने क्षतिको जिम्मा सरकारले लिनुपर्ने व्यवसायीले बताएका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुले आज (बुधबार) पोखराको विपीचोकमा चर्को ब्याजदर घटाउने मागसहितकोे ‘उच्च सेवा शुल्क खारेज गर, गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ,उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, व्याजदर चर्को भो गरिखान गाह्रो’ भो लगायतका नारासहित विपीचोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
काठमाडौं: पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ । बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले बढेको छ । लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १.४ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेको हो । बुधबार नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा बुधबार २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ४९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । जमध्ये लिवर्टी इनर्जीको सेयरमूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ९.५६ प्रतिशत र दोर्दी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । यता आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ६.९९ प्रतिशतले गिरावट भएको छ ।
पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरु बैंक तथा बित्तीय संस्थाहरुको चर्काे ब्याजबाट आहत भएपछि सडक आन्दोलनमा उत्रने तयारीमा छन् । दुबै उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित छलफलमा सहभागी सदस्यहरुले चर्काे ब्याजदर घटाउने मागसहित बिहीबारदेखि विरोधका कार्यक्रम सुरु गर्ने भएका हुन् । विरोधस्वरुप बिहीबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म विपीचोकमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको छ । विरोध कार्यक्रमको संयोजकमा पोखरा उद्योग वाणिज्य संघ र सहसंयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ रहेको छ । यस विषयमा प्रतिक्रिया दिँदै संघका लेखनाथ अध्यक्ष छत्रधर आत्रेयले अवस्था निकै कठिन भइसकेकाले विरोधमा उत्रन बाध्य भएको जनाएका छन् । ‘चर्काे ब्याज तिर्न तारान्तार फोनसँगै धितो लिलाम गर्ने धम्कीले व्यवसायी आहत छन्’ अध्यक्ष आत्रेय भन्छन् ‘राष्ट्रबैंक लगायत सम्बन्धित निकायसमक्ष ब्याजदर घटाउन आन्दोलनमार्फत दबाब दिनेछौं ।’ भोलीको कार्यक्रम सांकेतिकरुपमा गरिने विरोध भएको बताउँदै पोखरा अध्यक्ष पवन प्रजापतिले यसपश्चात् व्यवसायीबीच थप छलफल गरी अघि बढ्ने उल्लेख गरे । ‘हाम्रो आन्दोलन सुरु भइसक्यो’ अध्यक्ष प्रजापति भन्छन् ‘व्यवसायीलाई बचाइयोस् भन्दै वृद्धि गरिएको ब्याजविरुद्ध हामी अर्थ र प्रधानमन्त्रीसम्म पुग्नेछौं ।’ सात प्रतिशतमा लिएको ब्याज अहिले आएर तीन गुणा बढाइसकेको भन्दै प्रजापतिले व्यवसायीमारा ब्याज विरुद्ध आयोजना गरिएको कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाइदिन आग्रहसमेत गरेका छन् ।
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।