बैंकले ब्याज बढाएर आर्थिक र मानसिक तनाव दिएको भन्दै व्यापारीहरु विरोधस्वरुप सडकमा उत्रिए पनि तत्कालै ब्याजको दर घट्ने सम्भावना न्यून छ । पोखरामा केही अघि उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीहरुले ब्याजदर नघटाए अर्थ मन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका थिए । बैंक तथा बित्तीय संस्थाले एकोहोरो ब्याज बढाएर धराशायी बनाएको आरोप लगाइरहँदा राष्ट्र बैंकले भने त्यसप्रति चासो राखेको पाइएन । बैंकले बढाएको ब्याजदर र व्यवसायीको आन्दोलनका विषयमा जिज्ञासा राख्दा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराले नारा, जुलुस वा कुनैपनि प्रकारको आन्दोलनले ब्याज घट्न नसक्ने बताएको छ । ‘हामीसँग अहिले सूचना अधिकारी हुनुहुन्न, मैले आधिकारिक धारणा राख्न नमिले पनि केन्द्रीय कार्यालयले यस विषयलाई गम्भीररुपमा लिएको छैन’ बैंकका एक उच्च अधिकारीले भने । उनका अनुसार कोभिडअघि लिएको रिनको ब्याज अहिले आएर बढाइएको भएपनि प्रतिशतकाआधारमा त्यसलाई ‘अधिक’ भन्न नमिल्ने उनको भनाई छ । ‘कोभिडअघि वाणिज्य बैंकले ११ प्रतिशत ब्याजमा रिन दिने गरेका थिए’ उनी भन्छन् ‘अहिले औसत ब्याजदर १२.७९ पुगेको छ ।’ ब्याजदर विरुद्ध देशभर आन्दोलन नै हुन थालेपछि वाणिज्य बैंकहरुले ब्याज कम गर्न छलफल भने चलाउन थालेको उनले बताएका छन् । उनले भने ‘बैंकहरुले श्रेणीअनुसार कम गराउन परामर्श सुरु गरेको जानकारी पाएका छौं ।’ हाल आर्थिक कारोबारमा ‘टर्नओभर’ नभएकाले व्यापारीहरुलाई रिन र ब्याजले तनाव दिएको बताउँदै उनले बैंकबाट लिइएको ठूलो राशी अनुत्पादक क्षेत्रमा लगानी भएको आशंका गरेका छन् । ‘बैंकको पैसा शेयर मार्केट र रियल स्टेटमा पुगेको देखिन्छ’ बैंकको अनुसन्धान शाखामा आबद्ध वरिष्ठ कर्मचारी भन्छन् ‘त्यहाँबाट पैसा थप रकम बटुलेर फर्कने सम्भावना छैन, अहिलेकै अवस्थामा बेचबिखन गर्दा झन् बढी घाटा छ ।’ त्यस्तै, सरकारले पूँजीगत खर्च गर्न नसक्दा पनि बजारमा पैसाको अभाव भएको बताउँदै उनले सोही कारण व्यापारीहरु तनावमा परेको टिप्पणी गरे । अनुसन्धान अधिकारीले बजारमा पैसा नभएको ३ प्रमुख कारण बताइरहँदा बैंकको केन्द्रीय कार्यालयअन्तरगत बैंक तथा बित्तीय नियमन विभागका एक अधिकारीले अन्य कारणसमेत समावेश गरे । उनका अनुसार वाणिज्य बैंकहरुले विशेषतः व्यवसायिक कर्जा प्रवाहलाई प्राथमिकता दिन्छन् । जसको उद्देश्य देशको कूल गार्हस्थ उत्पादनमा टेवा पुगोस् भन्ने हो । तर वास्तविकता केही फरक पाइएको उनको भनाई छ । अनुसन्धान अधिकारीकै भनाइलाई आधार मान्ने हो भने वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई दिएको ब्याजलाई मापन गर्दा तत्कालै ऋणीहरुलाई ब्याजदर घटाउन बैंकले दबाब दिन सक्दैन । मुद्दतिमा बढी ब्याज दिनुपर्दा केही वाणिज्य बैंकले ‘बेस रेट’ मिलाउन केही प्रतिशत ब्याजदर बढाएर लिने गरेको पाइएको उनले उल्लेख गरे । ‘राष्ट्र बैंकको १८ विभाग छन्, विभागले रिन दिने संस्थामात्र हैन, रिन लिनेमाथि पनि अध्ययन÷अनुसन्धान गरिरहेको हुन्छ’ उनले भने ‘पैसा अन्तै गयो, व्यापारिक क्षेत्रले लिएको रिनबाट जिडिपीमा ०.२ प्रतिशतमात्र योगदान छ, अब आफै बुझ्नुहोस् ।’ अध्ययन÷अनुसन्धानमा देखिए अनुसार व्यापारीहरुले बैंकबाट लिएको व्यावसायिक कर्जाबाट गाडी किनेको, छोराछोरीलाई विदेश पठाएको, घरजग्गामा लगानी गरेको पाइएको छ । ‘सबैलाई एउटै बास्केटमा हालेर भन्न खोजिएको हैन तर शहरोन्मूख क्षेत्रमा एउटा प्रयोजनकालागि लिएको रकम अन्यत्र लगानी गरेको पाइएको छ’ उनले भने । राष्ट्र बैंक सुत्रले त्यसो भनिरहे पनि ठ्याक्कै विश्वास गर्न कठिन भएको बताउँछन् नेपाल बैंकर्स एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष समीर केसी । ‘पछिल्लो समय हेर्दा त्यस्तो हो की जस्तो लाग्छ’ केसी भन्छन् ‘तर भनाइलाई पुष्टी गर्ने आधिकारिक तथ्यांक छैन ।’ यद्यपि विश्लेषण गर्दा गलत नै मान्न नसकिने केसी स्वीकार्छन् । एशोसियशनले जनाए अनुसार बैंकहरुबीच ब्याज कति घटाउन सकिन्छ भनेर अनौपचारिक कुराकानी भने भएको छ । खुल्ला अर्थतन्त्रमा यति नै ब्याज लिने भनेर तोक्न नमिल्ने भन्दै उनले कोभिडकालमा तरलताकाकारण सस्तो भएको ब्याज अहिले केही बढेकै बताए । ‘व्यवसायीहरु पनि मर्कामा परेको एशोसियशनले महशुस गरेको छ’ केसीले भने ‘तर ब्याजदरको विषय राष्ट्रि«य मुद्दा हो, सरकार र राष्ट्र बैंकले नै पहल गर्नुपर्छ ।’ मुख्यतः स्थिर ब्याजदरको पोलिसी नबनुञ्जेल आगामी दिनमा पनि समस्या निरन्तर हुन सक्ने केसीको ठम्याई छ । सामान्यतयः आर्थिक मन्दीकै कारण समस्या निम्तिएको बताउँदै उनले समस्याको जड राष्ट्रिय नभई अन्तर्राष्ट्रिय भएकाले आर्थिक मन्दी छाएको बताए ।
पोखरा: ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाले हस्तकलाको सामग्री प्रदर्शन गर्ने भएको छ । संस्थाले आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थामा आवद्ध महिलाहरुले उत्पादन गरेका हस्तकलाको सामग्री प्रर्दशन गर्ने जानकारी दिएको हो । महिला सिप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्काले ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा महिला उद्यमीहरुले उतपादन गरेका हस्तकलाका सामग्री प्रर्दशन हुन लागेको बताईन । ‘समाजका उपेक्षित, अपहेलित र न्यून आय भएका महिलाहरुलाई हस्तकलाका तालिम प्रदान गर्ने संस्थाको उद्धेश्य हो, खड्काले भनिन्, ‘महिलाहरुलाई तालिम प्रदान गरी व्यवसायिक तथा आयमुलक क्षेत्रमा अग्रसरसँगै आर्थिक उत्थानमा सीप विकास गर्ने हो लक्ष्यसहित अगाडि बढेका छौं ।’ संस्थाले नारी दिवसको अवसरमा पोखराको सभागृहमा संस्थाले उत्पादन गरेका हस्तकलाको सामग्री प्रर्दशन गर्ने तयारी गरेको हो । संस्थाका निर्देशक खड्काले यस संस्था नेपाल सरकार र कुनै पनि विदेशी संघ संस्थाको सहयोगमा सञ्चालन नभएको बताईन । ‘यस संस्थामा कुनै पनि विदेशी संघ संस्था र नेपाल सरकारको कुनै प्रकारको सहयोग प्राप्त हुँदैन, विशुद्ध स्वआर्जनबाट सञ्चालन भएको संस्था हो ।’ उनले भनिन् । महिला सीप विकास संस्थाले उत्पादन गरेको विभिन्न प्रकारका हस्तकलाका सामग्रीहरु विदेशी मुलुकमा निर्यात गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन । उनका अनुसार हस्तकलाका सामाग्रीहरु अमेरिका, जर्मन, इटाली, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशहरुका निर्यात हुँदै आएको छ । करिव २१ हजार महिलाहरुलाई तालिम प्रदान गरेको संस्थाले कोभिडको समयमा ६ सय र अहिले ३ सय ५० जना महिलाहरुले संस्थामा उद्यमी गरिरहेका छन् । संस्थाले वार्षिक रुपमा करोडौं रुपैयाँको हस्तकलाका सामग्री निर्यात गरेपनि कोभिडपछि सामान निर्यातमा कमि आएको जानकारी दिएको छ । वि.स २०३२ सालमा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाको स्थापना भएको हो ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज (आइतबार) भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा रू. एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ । आज बैंकिङ समूह १२ दशमलव ८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ४ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव ८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको रू. आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।
काठमाडौं : आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर छ।
काठमाडौं : सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ विन्दुमा अडिएको छ। सन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेको छ। यसदिन १९३ कम्पनीको मूल्य ओरालो लाग्दा १९ को मात्रै मूल्य बढ्यो। २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाख ३३ लाख ९६७ रूपैयाँमा खरिदबिक्री भयो। २८ हजार ५०० पटक कारोबार भयो। आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य ७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।
काठमाडौं: बिहीबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार सुन बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको छ। यसदिन १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो। आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो। आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ । आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
काठमाडौं: सेयर बजारमा तीव्र उतारचढावबीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो । आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.८९ प्रतिशत, जीवन बीमा उपसूचक ०.१४ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३० प्रतिशत र व्यापार उपसूचक १.४० प्रतिशतले गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.७८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.३४ प्रतिशतले बढेको छ । आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ७९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ७ करोड ८७ लाख र छिमेक लघुवित्तको ७ करोड १७ लाखको कारोबार भएको छ । आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.६० प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले गिरावट हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.९४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।