पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँसडकको आयोजनामा पुचःका ३२ सदस्यले मखमलको चप्पल र थैली बनाउने तालिम लिएका छन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे । ‘हामीसँग महिलाहरुले संचालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरणहरु छन्’,उनले भने,‘तर, व्यवसाय गर्नु अगाडि महिलाहरुले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ ।’पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् । नेवा: मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि उनको रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ,प्रशिक्षकको तर्फबाट जमर कँडेल,नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ,नेवाः मिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ,नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर रु एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सामूहिक लगानी कोषबाहेक १२ वटा उपसमूहको शेयर मूल्य उकालो लागेको छ । लघुवित्त, उत्पादन, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार आठ सय १० बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ९६ हजार छ सय ८६ बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंक रु सात करोड नौ लाख एक हजार एक सय ७५, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ७५ लाख ४८ हजार एक सय ८६, जाल्पा सामुदायिक लघुवित्त रु पाँच करोड ६६ लाख २५ हजार नौ सय १९ र हिमालयन डिस्टिलरी रु चार करोड ४७ लाख २५ हजार नौ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीहरूमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्त छन् । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नौ दशमलव ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नबिल इक्विटी फण्ड दुई दशमलव ४८, आरबीबी म्युचुअल फण्ड पहिलो दुई दशमलव ४०, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र एक दशमलव ९९, एभरेष्ट बैंक एक दशमलव ९६ र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।
‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने
पोखरा : ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रण दिन बिहीबार काठमाडौं आएको थियो । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका अनुसार उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ । सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल - भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् । ‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’ उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’ २ हजार ५ सय वटा वुथ हुने शो मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै प्याविलोन गरि १ हजार ३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् । साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफलसमेत गर्ने अवसर मिल्ने बताइएको छ ।
ढोरपाटन : पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् । चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकेपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि किसान हर्षित भएका छन् । चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार बिरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाए उहाँले जानकारी दिनुभयो । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो । कार्कीले हालसम्म करिब रु ४२ लाख खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ । “सुरुमा लगाएको बिरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्ने छौँ”, उहाँले भन्नुभयो,“सुरुआती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख बिरुवा गाउँभरी लगाउँछौँ ।” स्थानीय भीमबहादुर थापाले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले बिरुवा सप्रिँदै गएको भन्दै एक÷डेढवर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा बिरुवा हुर्काउन समस्या भयो, अहिले राम्रो हुँदै गएको छ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रहेछ, अब जताततै बिस्तार गर्ने योजना छ ।” थापाले चिया प्रशोधनका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका किसान चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने दुई हजार एक सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जनका माध्यम बनाइ गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो । अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका बिरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको बिरुवा निकै राम्रो भयो, यसले किसानलाई थप ऊर्जा मिलेको छ, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर रु एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र लघुवित्त उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबारको कारोबारपछि कूल बजार पुँजीकरण रु २७ खर्ब ७७ अर्ब ४७ करोड १९ लाख ५७ हजार एक सय ५४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ६५ लाख ६० हजार दुई सय १५ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ९२ लाख ७० हजार, शिवम् सिमेन्ट रु पाँच करोड १७ लाख ८४ हजार दुई सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड ३९ हजार दुई सय ९० र एभरेष्ट बैंक रु चार करोड ६८ लाख पाँच हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर कम्पनी नौ, युनियन हाइड्रोपावर, आठ दशमलव ८२, माउण्टेन हाइड्रो नेपाल आठ दशमलव ७७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ६८ प्रतिशतले कमाएका छन् । त्यस्तै, एनसिसी बैंकको ऋणपत्र तीन दशमलव ९१, सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ७३, गरिमा विकास बैंकको ऋणपत्र दुई दशमलव ५८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव २७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले दुई दशमलव शून्य पाँच प्रतिशतले गुमाएका छन् ।
ताप्लेजुङ : लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो । विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनु भएका फुङ्लिङ नगरपालिका-१० का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बन्नुभएको छ । सात वर्ष अगाडि प्रतिकिलो रु २० हजारमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । उहाँले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गर्नुभएको थियो । उहाँले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लगाउनुभयो । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आउनुभएको छ । प्रतिबोट रु १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री गरिरहनु भएकाले लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहनु भएको छ । “सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन”, लिम्बूले भन्नुभयो, “हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।” एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उहाँको भनाइ छ । “एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ”, उहाँले भन्नुभयो । सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उहाँको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताउनुभयो । चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहनुभएका फक्ताङलुङ गाउँपालिका(६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्याग्नुभयो । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गर्नु भएको छ । सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ । “बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ”, राईले भन्नुभयो । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६/७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ । “सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ”, फुङ्लिङ नगरपालिका(५ का सतुवा व्यापारी सविन बानियाँले भन्नुभयो, “कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।” स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने (अल्काइन हुने), अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ ।
काठमाडौं : विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वल्र्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०२२ को मुद्रास्फीतिदर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९÷८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
काठमाडौं : नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ । सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र रु एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ । विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । केरा आयातमा १६ करोड बाहिरियो नेपालीले तीन महिनाको अवधिमा रु १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै रु १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म रु ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुुजा, रु १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ । पछिल्लो तीन महिनामा रु दुई करोड ९१ लाख ७१ हजारको किबी, रु एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा रु १८ करोड ७४ लाख बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ ।