काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

  बलेवा   :   बागलुङमा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो ।    जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो ।    उत्पादित अण्डाले जिल्लाको जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिका लागि वार्षिक ४८ अण्डाको आवश्यकता हुन्छ । तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ मात्रै पुग्ने गरेको छ ।    बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् । दानाको मुल्यवृद्धि हुने र अण्डाको मूल्य घट्ने गरेका कारण घाटा सहन नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्कबहादुर केसीले बताउनुभयो । केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आउनुभएको छ ।   ‘‘एकातिर ठूलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीले बजारमा निकै सस्तो मूल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’’, केसीले भन्नुभयो, ‘‘उत्पादन लागत र बजार मूल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’’ उहाँले अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने मात्र नभएर यहँको उत्पादन शून्यमा पुग्ने बताउनुुभयो ।   अण्डाको उत्पादन लागतका आधारमा आधार मूल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी विस्थापन हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो । ‘‘दानाको मूल्य दुई हजार हुँदा एक पेटी अण्डको मूल्य दुई हजार सात सयदेखि तीन हजार थियो’’, केसी भन्नुहुन्छ, ‘‘अहिले दानाको मूल्य बढेर तीन हजार सात सय पुग्यो अण्डाको मूल्य घटेर रु दुई हजार पाँच सय पेटीमा झरेको छ ।’’ बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा रु दुई हजार आठ सय प्रतिपेटी पर्ने गरेको छ भने बाहिरी जिल्लाबाट दुई हजार तीन सयदेखि दुई हजार पाँच सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ ।    जिल्लाभर घरायसी प्रयोजनका लागि उत्पादन हुनेबाहेक ३० वटा मात्रै फार्मले अण्डा  उत्पादन गर्छन् । तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । ‘‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’’ विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले भन्नुभयोे, ‘‘हामी आत्मानिर्भरको बाटोमा थियौँ, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’’ घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यावसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरामा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उहाँले बताउनुभयो । सरकारले अण्डा उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भए पनि अपर्याप्त रहेको किसानको गुनासो छ । 

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ ।   यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २२ कम्पनीको ३४ लाख ४० हजार नौ सय कित्ता शेयर रु एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० मा कारोबार भयो ।   कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ शून्य दशमलव १५, लघुवित्त तीन दशमलव ९८, सामूहिक लगानी कोष शून्य दशमलव १६ र लगानी शून्य दशमलव ३८ अङ्कले ओरालो लाग्यो ।   यस्तै, व्यापार १७ दशमलव १४, होटल तथा पर्यटन ३५ दशमलव ३८, विकास बैंक २८ दशमलव १३, जलविद्युत् छ दशमलव ९२, वित्त ३१ दशमलव, निर्जीवन बीमा सात दशमलव शून्य नौ, उत्पादन ४० दशमलव ५५, अन्य छ दशमलव ९३ र जीवन बीमा ४३ दशमलव १२ अङ्कले उकालो लागेको छ ।   नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५६ अर्ब ७७ करोड ७९ लाख ५९ हजार ४३ बराबर रहेको छ । सोमबारको कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड २५ लाख ७६ हजार सात सय ७८ बराबरको कारोबार भयो ।   यस्तै, अरुण काबेली पावर रु पाँच करोड ५५ हजार एक सय आठ, हिमालयन डिस्टिलरी रु चार करोड दुई लाख ४९ हजार एक सय ९२, शिवम् सिमेन्ट रु तीन करोड ५८ लाख चार हजार सात सय र रिडी हाइड्रोपावर रु तीन करोड ५४ लाख ६० हजार छ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेका छन् ।   नेप्सेका अनुसार विन नेपाल लघुवित्त सात दशमलव ४८, रिलायन्स फाइनान्स छ दशमलव ६४, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ८४, सिभिल लघुवित्त चार दशमलव ९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाए ।   त्यस्तै, रुरु जलविद्युत् परियोजना पाँच दशमलव ७०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ७३, एनआइबिएल प्रगति फण्ड तीन दशमलव ६९, नबिल ब्यालेन्स फण्ड तेस्रो तीन दशमलव शून्य दुई र सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४७ प्रतिशतले गुमाएका छन् । 

मुगुको छायाँनाथ रारा नगरपालिका-५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।     यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् ।    भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । “हाम्रो आम्दानीको श्रोत नै यही हो”, छायाँनाथ रारा–५ ताल्चाकी विस्नमाया रोकायाले भन्नुभयो । यो समय स्याउ टिप्नका लागि उपयुक्त नभएको उहाँको भनाइ छ । “भदौ अन्तिम सातामा टिप्नलाई उचित हुन्छ ।”    समय अघि नै किसान स्याउ टिप्न थालेका छन् । “ढिला टिपे कुहिन्छ की भन्ने चिन्ता छ”, छायाँनाथ रारा-५ कै हरिबहादुर भामले भन्नुभयो, “बिक्री नहुने हो की चिन्ता छ ।” धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन् । किसानलाई स्याउ भण्डारण गर्न समस्या छ । “उचित ठाउँ अभावले स्याउ कुहिने डर छ”, उहाँले भन्नुभयो ।    स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन् । व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ । “पछि व्यापारी  भेटिन्न की भन्ने समस्या छ”, भामले भन्नुभयो । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ३० मा स्याउ किन्ने गरेका छन् । उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले हतार हतारमा बिक्रि गर्न लागेको उहाँ बताउनुहुन्छ ।    स्याउ किसान सूर्यप्रकाश भामका अनुसार राख्नलाई कार्टुनसमेत अभाव भएको छ । “स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका छौँ, राख्नलाई केही छैन ।  बजारीकरणको समस्या पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेतलगायत ठाउँ लगेर आफै बिक्री गर्ने योजना रहेको भामको भनाइ छ । सकभर स्थानीय व्यापारीलाई बिक्री नगर्ने उहाँ बताउनुहुन्छ ।    छायाँनाथ रारा–५ मा स्याउ उत्पादन अत्यधिक छ । स्याउ टिपरे गोठमा राख्ने गरिएको छ । स्याउ उत्पादन प्रशस्त भए पनि सडक सुविधा नुहुँदा स्याउ बिक्री गर्न किसानलाई समस्या भएको छ । यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालका निमित्त कार्यालय प्रमुख दुर्गबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष जिल्लामा गत वर्षभन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको शाहीले बताउनुभयो । मुगुमा विशेष गरी रोयल डेलिसेस्, रेटडेलिसेस र गोल्डेन डेलिसेस स्याउ उत्पादन हुने गरेको छ ।

  मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताउनुभयो ।    “यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उहाँले भन्नुभयो “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।” रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् ।    नपाक्दै काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाएका हुन् । थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको सङ्क्रमण नदेखिएको र फल राम्रो लागेको बताउनुभयो । “मौसम राम्रो भयो, रोगकीरा देखिएको छैन,” उहाँले भन्नुभयो “राम्रो फल लागेको छ । पाक्न थालेको छ ।” थासाङ–१ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताउनुभयो ।    तुलाचनले कृषि ज्ञान केन्द्रको रु पाँच लाख र व्यक्तिगत १५ लाखमा विसं २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गर्नुभएको थियो । “बगैँचा नै ठेक्कामा लिएका व्यापारीले पाकेको स्याउ टिपेर बजारमा लैजाने तयारी गरेका छन्,” उहाँले भन्नुभयो “व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या छैन ।” म्याग्दी, पोखरा, धादिङ, काठमाडौँ, चितवनका ब्यापारी बगैँचानै ठेक्कामा लिएर स्याउ खरिद गर्न मुस्ताङ पुगेका छन् ।    कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् । उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको छ । गण्डकी प्रदेशको कृषि निर्देशनालयले मुस्ताङमा इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उच्च घनत्वका स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।    स्याउ जोन मुस्ताङले १८ हजार ५०० गोटा उच्च प्रविधिको स्याउको बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताउनुभयो ।    समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर अग्लो उचाइ भन्दामाथि स्याउखेती गरिन्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ ।    उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तीर्थयात्रीले स्याउ कोसेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई किसानले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ वटा उद्योग छन् । 

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु चार सयले घटेको हो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो ।       त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार एक सय ८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा पुगेको छ ।    कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङ सात दशमलव ९३, व्यापार २३ दशमलव ७४, होटल तथा पर्यटन १६ दशमलव १२, विकास बैंक एक सय १७, जलविद्युत् ७० दशमलव ७७, वित्त ५३ दशमलव ९३, निर्जीवन बीमा ५७ दशमलव ५६, उत्पादन ५३ दशमलव दुई, अन्य ३५ दशमलव ७३, लघुवित्त ६१ दशमलव ५६, जीवन बीमा ५२ दशमलब ३१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ र लगानी शून्य दशमलब ९७ अङ्कले उकालो लागेको छ ।    सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ बराबरको कारोबार भयो ।    यस्तै अपि पावर कम्पनी रु सात करोड ८० लाख २६ हजार छ सय ३५, शिवम् सिमेन्ट रु छ करोड तीन लाख ९४ हजार चार सय ७३, अरुण काबेली पावर रु पाँच करोड ५६ लाख ३७ हजार सात सय ५५ र आइसिएफसी फाइनान्स रु पाँच करोड २८ लाख ८० हजार नौ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।    नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर नौ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।   त्यस्तै एनआइबिएल प्रगति फण्ड तीन दशमलव ८०, सपोर्ट माइक्रोफाइनान्स तीन दशमलव २८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी एक दशमलव ९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले एक दशमलव ९५ प्रतिशतले गुमाएका छन् । 

हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् ।    सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताउनुभयो । “रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पु¥याउन भने सडकका कारण समस्या छ,” उहाँले भन्नुभयो ।    रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उहाँले बताउनुभयो । “हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो, “यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।”    यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्‍याउन सकिने उहाँ बताउनुहुन्छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्‍याउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।    सहज रुपमा यहाँको स्याउ बजारमा पुर्‍याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उहाँहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पुर्‍याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पु¥याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ । 

   काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।          त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।