बझाङः बुङ्गल नगरपालिका-३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि साइपालमै फलेको । दिनमा एक पटक बजार डुलिरहनुभयो । घर जान लागेकै दिन संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेट्नुभयो र सबै खरिद गरेर घरतर्फ लाग्नुभयो । “उहाँले लगातार साइपालकै स्याउ किन खोज्नुभयो” धेरैको मनमा प्रश्न उब्जन सक्छ । बोहरालाई साइपाल बसेको लामो अनुभव छ । दसैँ तिहारको समयबाहेक उहाँ साइपालमै बस्नुहुन्छ । घर आउँदा विशेष गरी उहाँको कोसेली नै स्याउ हुन्छ । उहाँका छिमेकीले समेत साइपाले स्याउको स्वाद चाखेका छन् । बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ । बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा धेरै प्रकारको स्याउ आउँछ । हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ ।” “बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन”, उहाँले भन्नुभयो, “साइपालको स्याउ धेरैजसो धेरै पटक खाएको हुँदा बुंली (बुङ्गली) स्याउको स्वादै लाग्दैन । स्याउ खानु प¥यो भने साइपालेकै याद आइहाल्छ ।” साइपालको स्याउले बजार पाए दिनमै लाखौँको बिक्री हुने उहाँले अनुमान गर्नुभयो । “साइपाले स्याउको बजार टाढा भएर मात्रै हो । नत्र त यो स्याउ तराईसम्म पुग्ने हो भने दैनिक दसौँ क्विन्टल बिक्री हुन्थ्यो ।” उहाँ भन्नुहुन्छ । खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी पनि साइपालको स्याउ सम्झिने बित्तिकै मुख रसाउने बताउनुहुन्छ । साइपालका विभिन्न वडामा स्याउ सिजनमा नै धेरै पटक गएको हुँदा साइपाले स्याउ जतिको मीठो अन्य ठाउँको नलाग्ने उहाँले बताउनुभयो । “म जति पटक साइपाल गएँ, त्यति पटक नै एक÷एक झोला साइपाले स्याउनै ल्याएँ ।” चिसोका कारण साइपालमा स्याउ मीठो हुने गरेको उहाँले बताउनुभयो । “साइपालको स्याउ सबैका लागि “डाँडापारि सुन छ”, भनेजस्तै छ”, उहाँले भन्नुभयो, “तर, खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउसँग दाँज्ने हो भने पनि उत्कृष्टमा पर्न सक्छ ।” साइपालको स्याउको स्वाद चाख्नेले कहिल्यै नबिर्सिने गरेको उहाँले बताउनुभयो । “पछिल्लो दुई वर्ष भने साइपालबाटै एक÷दुई झोला स्याउ खच्चरमार्फत मगाएँ”, उहाँले भन्नुभयो, “साइपालको स्याउ आयातभन्दा सस्तो पनि मीठो पनि ।” भारत तथा अन्य जिल्लामा आउने स्याउभन्दा रु २०/३० सस्तो पर्ने गरेको उहाँले बताउनुभयो । साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ । सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेका छन् । साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले मात्रै सयौँ बोट स्याउ लगाउनुभएको छ । “सुरूमा आफैँलाई खानका लागि दुई बोट लगाएको थिएँ । अहिले चार/पाँच सय बोट लगाएको छु । पन्ध्र/बीस बोट त फल्न लागिसके ।” उहाँले भन्नुभयो । धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौँ बिरुवा रोपेका छन् । “उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गरिरहेका छौँ ।” उहाँले भन्नुभयो । गाउँमा रु ६०÷७० मै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “स्याउ ढुवानी गर्न निकै कठिन छ”, उहाँले भन्नुभयो, “बिरुवा रोपेको तीन वर्षमै फल्न सुरू भइसक्यो । बिक्रीका लागि बजारमा ल्याउन बाटो नै छैन । बोकेर सम्भव नै हुँदैन । थोरै थोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौँ । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ ।” साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन सुरू गर्नुभएको छ । वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो । जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरूवाहरू कृषकले बढी रोप्न थालेका छन् । “कतिपयले उत्पादन गरेर बिक्रीसमेत गर्न थालिसके । कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको छ । ढुवानीको लागि पैसा पर्दैन । कृषकले उत्पादन गरे पनि निकै फाइदा हुन्छ ।” उहाँले भन्नुभयो । यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि रु १५ लाख अनुदान दिएको बताएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बझाङका विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चिसो हुने हुँदा हामीले बढी जोड दिएका छौँ । त्यसैमाथि साइपालमा फल्ने स्याउ बजारको रोजाईमा पनि पर्न थालेको हो ।” विष्टले स्याउका लागि सबैभन्दा चिसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताउनुभयो । “चिसो ठाउँको उत्पादन स्वादिष्ट पनि हुन्छ, बजार पनि पाउँछ । त्यसैले हाम्रो पहिलो रोजाई पनि बर्सेनि हिमपात हुने क्षेत्र साइपाल परेको हो । अन्य पालिकामा पनि केन्द्रले सहयोग गर्दै आएको छ ।” विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुने गरेको छ । अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उहाँले बताउनुभयो । यो सिजनमा मात्रै बझाङबाट डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताउनुभयो । “विभिन्न पालिकाबाट करिब डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको छ भने जिल्लामै दुई÷तीन मेट्रिक टन बराबर खपत भएको अनुमान गरेका छौँ ।” उहाँले भन्नुभयो । जिल्लामै प्रति किलो रु सय बिक्री हुने स्याउ तराईंका जिल्लासम्म पुग्दा रु डेढदेखि दुई सयसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । स्याउ बोकेरै कृषक खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाउँका डबलबहादुर खड्का उमेरले ७० वर्ष कटिसक्नुभएको छ । उहाँ युवा उमेरदेखि नै भारतको सिम्ला पहाडमा सिजनअनुसार धेरै पटक स्याउ बोक्न जानुभयो । आफ्नै भूमिजस्तो ठाउँमा पर्याप्त स्याउ फलेको देखेपछि डेढ दशकअघि नै उहाँले खालिगडामा करिब पाँच सय बिरुवा रोप्नुभयो । “अहिलेको जस्तो अनुदान केही थिएन”, खड्काले भन्नुभयो, “सिम्ला पहाडमा स्याउ बोकेर कमाएको पैसाले नै स्याउका बिरुवा खरिद गरेँ र आठ÷नौ फिटको अन्तरमा खाल्डो खन्दै रोपेँ । त्यसले तीन वर्षमै फल दिन थाल्यो । अहिले त्यसैबाट वार्षिक रु पाँच लाख बराबर आम्दानी भइरहेको छ ।” खड्काको स्याउ बारीमा अहिले ५० क्विन्टलको हाराहारीमा स्याउ फल्छ । बैतडीमा तालिम लिएर स्याउ खेती गरेका खड्काले व्यावसायिक रूपमा खेती गर्न थालेको दशकपछि मात्रै छान्नामा अन्य कृषकले व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उहाँले बताउनुभयो । “मैले सुरूमा खालिगडामा स्याउ रोप्न जाँदा अन्न उत्पादन हुने जमिनमा स्याउ लगाएर जङ्गल बनाउन थाल्यो भन्नेहरू तीन÷चार वर्षदेखि नै स्याउ माग्न थाले । पछि मेरै सल्लाहअनुसार नै धेरैले स्याउ खेती गरेका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौंः नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो । चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सङ्र्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।” बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै सङ्घर्षमा उत्रनुको विकल्प छैन ।” चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा यसअघि नै ध्यानाकर्षण गराएको थियो । चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहीत हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।” कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।
पोखरा : पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ । चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए । ‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । यो निर्णय फिर्ता लिन हाम्रो माग हो ।’ उनका अनुसार चेम्बरले आकासिदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेको बताए । ‘ब्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध हुन सक्छ’ उनले भने,‘ देश समृद्ध बनाउन ब्यापार ब्यवसाय फस्टाउन पर्छ तर राष्ट्र बैंकले व्यवसायीहरुको विरुद्ध ब्याजदर वृद्धि गरेर व्यवसाय धरापमा पारेको छ ।’ यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ । सिडी र्याटियो ९० प्रतिशतको स्थानमा अन्य वर्षको जस्तै सिडी र्याटियो ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ । त्यसैगरि सो ज्ञापनपत्रमा प्रत्यक्ष त्रैमासिकमा पुजीगत खर्चको समीक्षा गरिनु पर्ने र खर्चको लक्ष्य प्राप्तिको लागि प्रभावकारी पहल गरिनुपर्ने माग राखेको छ । यस्तै चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुने नसकेको अवस्थामा रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पृथ्वी बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी लगायय व्यवसायीहरुको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझाउनुअघि पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्स कास्कीको कार्यालयबाट पस्र्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँसडकको आयोजनामा पुचःका ३२ सदस्यले मखमलको चप्पल र थैली बनाउने तालिम लिएका छन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे । ‘हामीसँग महिलाहरुले संचालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरणहरु छन्’,उनले भने,‘तर, व्यवसाय गर्नु अगाडि महिलाहरुले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ ।’पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् । नेवा: मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि उनको रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ,प्रशिक्षकको तर्फबाट जमर कँडेल,नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ,नेवाः मिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ,नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर रु एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सामूहिक लगानी कोषबाहेक १२ वटा उपसमूहको शेयर मूल्य उकालो लागेको छ । लघुवित्त, उत्पादन, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार आठ सय १० बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ९६ हजार छ सय ८६ बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंक रु सात करोड नौ लाख एक हजार एक सय ७५, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ७५ लाख ४८ हजार एक सय ८६, जाल्पा सामुदायिक लघुवित्त रु पाँच करोड ६६ लाख २५ हजार नौ सय १९ र हिमालयन डिस्टिलरी रु चार करोड ४७ लाख २५ हजार नौ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीहरूमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्त छन् । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नौ दशमलव ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नबिल इक्विटी फण्ड दुई दशमलव ४८, आरबीबी म्युचुअल फण्ड पहिलो दुई दशमलव ४०, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र एक दशमलव ९९, एभरेष्ट बैंक एक दशमलव ९६ र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।
‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने
पोखरा : ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रण दिन बिहीबार काठमाडौं आएको थियो । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका अनुसार उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ । सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल - भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् । ‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’ उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’ २ हजार ५ सय वटा वुथ हुने शो मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै प्याविलोन गरि १ हजार ३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् । साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफलसमेत गर्ने अवसर मिल्ने बताइएको छ ।
ढोरपाटन : पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् । चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकेपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि किसान हर्षित भएका छन् । चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार बिरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाए उहाँले जानकारी दिनुभयो । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो । कार्कीले हालसम्म करिब रु ४२ लाख खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ । “सुरुमा लगाएको बिरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्ने छौँ”, उहाँले भन्नुभयो,“सुरुआती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख बिरुवा गाउँभरी लगाउँछौँ ।” स्थानीय भीमबहादुर थापाले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले बिरुवा सप्रिँदै गएको भन्दै एक÷डेढवर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा बिरुवा हुर्काउन समस्या भयो, अहिले राम्रो हुँदै गएको छ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रहेछ, अब जताततै बिस्तार गर्ने योजना छ ।” थापाले चिया प्रशोधनका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका किसान चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने दुई हजार एक सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जनका माध्यम बनाइ गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो । अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका बिरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको बिरुवा निकै राम्रो भयो, यसले किसानलाई थप ऊर्जा मिलेको छ, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

