काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ । कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अङ्कले उकालो लागेको छ । त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०।०३ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् । नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।
काठमाण्डौँ: धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लाग्यो । त्यस्तै व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ । चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भयो । यस्तै एभरेष्ट बैंक रु छ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त रु पाँच करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी रु चार करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर रु चार करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुछ्रे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावर ५.३१, माउन्टेन हाइड्रो नेपाल ४.७६, रिभर फल्स पावर ४.७२, बोटलर्स नेपाल तराई ३.९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको दशौं अधिवेशनअन्तरगत बजेटमा उठेका सवालका जवाफ दिने क्रममा १० लाख घटीको योजना नल्याउन आग्रह गरेपनि त्यसो हुन नसकेको बताएका छन् । मैले माननीयज्यूहरुलाई १० लाख घटीको योजना नल्याउन भनेपनि लागु हुन सकेन’ अर्थमन्त्री बरालले भने ‘सोही कारण टुक्रे योजनामा पैसा छुट्याउन बाध्य भइयो ।’ १० लाखभन्दा कम योजनामा बजेट छुट्याउँदा टुक्रे योजनामा पैसा छरेको आरोपप्रति उनको सफाई छ । सम्बन्धित माननीयज्यूहरुले किन र कसरी टुक्रे योजना ल्याउनुभयो ? भन्दै बरालले यस्ता योजना प्रभावकारी नहुने उल्लेख गरे । ‘मैले साना योजनाहरु वार्षिक विकास पुस्तिकामा नसमेटौं भनेको हो तर सांसदहरु पुरानै ढर्रामा चल्न मन पराउनु भयो’ उनले भनेका छन् । टुक्रे योजनाले समग्र विकासमा योगदान दिने नभई सांसद विशेषलाई फाइदा पुग्ने उनको टिप्पणी छ ।
बागलङु ः सानै उमेरदेखि व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देख्नुभएको उहाँ आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया जानुभयो । इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आउनुभएको छ । उहाँले छ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आउनुभएको हो । जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो” उहाँले भन्नुभयो, “दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।” जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् । उहाँले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गर्नुभएको हो । सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताउनुभयो । कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उहाँले भन्नुभयो । “सुरुवातमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन” जिसीले भन्नुभयो,“अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।” उहाँले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आउनुभएको छ । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उहाँले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिनुभयो । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ । कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उहाँले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताउनुभयो । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ ।
पोखरा: सामान्यतयः आर्थिक वर्षको बजेट आएपछि सवारी साधनको मूल्यसमेत बढ्ने गर्दछ । तर यसपटक भने केही फरक नतिजा आएको छ । पछिल्लो समय युवाहरुको रोजाइमा परेको रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको मूल्य भने ह्वात्तै झरेको छ । यस सिरिजको क्लासिक मोटरसाइकलमा करिब ६० हजार रुपैयाँसम्म घटेको शोरुमहरुले जनाएका छन् । पोखराको नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुमका शिव पौडेलका अनुसार ३ सय ५० सिसी बुलेटको कालो रंगमा करिब ६० हजार रुपैयाँ घटेको छ । यसअघि यसको मूल्य ६ लाख ९९ हजार रुपैयाँ रहेको थियो । ‘कालो रंगको बुलेट भन्दा अन्य रंगको बाइकको मूल्य भने १० हजार रुपैयाँले बढी रहेको छ’ पौडेलले भने ‘यसअघि ६ लाख ९९ हजारमा बिक्री भएको कालो रंगको भन्दा अन्य रंगको बुलेटको मूल्य ६ लाख ५० हजार रहेको छ ।’ नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले करिब एक महिना पहिले मूल्य सार्वजनिक गरेकोमा हाल यसमा परिमार्जन गरेको हो । रंग अनुसार मूल्य वितरक कम्पनीले बुलेटको रंग अनुसार मुल्य तोकेको छ । खैरो, हरियो, रातो र खरानी रंगको बुलेको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ । उल्का रातो, म्याट हरियो, पहेलो र रातो रंगको बुलेटको मूल्य ८ लाख ३० हजार रुपैयाँ कायम छ । यस्तै निलो, कालो र रातो बुलेटको मुल्य ८ लाख ५० हजार छ भने, उल्का सुपरनोभा ब्राउन, निलो र रातो बुलेटको मूल्य ८ लाख ७० हजार रुपैयाँ रहेको अल्फा अटोमोटिभ्सले जनाएको छ । युवाहरुको पहिलो रोजाइमा पर्ने यस रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको आधिकारिक विक्रेता नयाँ बजारस्थित रोयल इन्फिल्ड शोरुमका अनुसार पोखराबाट वार्षिक ७ देखि ८ सय सङ्ख्यामा विक्री हुने गरेको छ ।
काठमाण्डौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेलमा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो । मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो । कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ ।
काठमाण्डौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ । कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अङ्कले ओरालो लागेको छ । त्यस्तै व्यापार १.१३, होटल तथा पर्यटन १६.२२, विकास बैंक ७२.७५, जलविद्युत् ३३.८४, वित्त ४२.१३, उत्पादन २०.७२, अन्य २१.६८, लघुवित्त १०.६३, जीवन बीमा २६६.३२ र लगानी ०.२२ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए । त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए ।
पोखरा: राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् । १३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनलाई संघले स्वागत गरेको थियो । सोही अवसरमा बोल्दै उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे । ‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ, अधिकारीले भने, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र,निर्माण र सेवा क्षेत्रमा रहेको पनि बताए । उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पाकत्व वृद्धिमा सघाएको उनको भनाइ थियो । राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गर्दै उनले भने, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’ उनले नयाँ व्यवसायीहरुको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाए । राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे । उनले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्महरुमाथि विभागले अनुसन्धान थालेको र पोखरा क्षेत्रमा पनि २÷४ दिनमै विभागले देखिने गरी काम गर्ने उद्घोष गरे । यसअघि महानिर्देशकलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरेका थिए । विभागले सुराकी दिनेलाई प्रोत्साहित गर्ने नीति गलत भएको बताउँदै उनले भने,‘ यसो गर्दा कोही रिस गर्ने व्यक्ति,आरिसे प्रतिस्पर्धी वा सुराकीबाट कमिसन पाउने लोभ पालेको व्यक्तिले छुस्स चुक्ले लगाउँदाको असर निजी क्षेत्रमाथि पर्न गएको छ । यो व्यवस्थामा पुनरावलोकन होस् ।’ पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले अगाडि भने,‘ तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन । उसले सफाइको मौका पाउँछ । अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस् ।’ उनले न्याय माग्न जाँदा पनि कर्मचारीलाई नै माथि पार्ने गरी निर्णय आएको गुनासो पनि गरेका थिए ।