पर्वत: खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा एक सय ५२ हेक्टरमा आलुखेती गरिएको थियो । यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट रु तीन करोड विनियोजन भएको थियो । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ । हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ । गत आवमा जिल्लाभर तीन हजार तीन सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु बेचेर रु आठ करोड आम्दानी भएको केन्द्रले जनाएको छ । पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस–४२, कुफ्री, ज्योति, ताराखोला जातका आलु राम्रो उत्पादन हुने गरेको छ । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिक टनदेखि अधिकतम ४६ मेट्रिक टनसम्म उत्पादन भएको केन्द्रका बागवानी विकास अधिकृत पौडेलले बताउनुुभयो । यसबाट उपभोगका लागि किसानहरूलाई खरिद गर्न नपर्नुका साथै बिक्रीबाट राम्रो आम्दानी हुने पौडेलले बताउनुभयो । आलुखेतीमा लागेका किसानलाई अनुदान रकमबाहेक केन्द्रले यान्त्रिकीकरण, मल र बीउमा सहयोगका साथै नियमित रूपमा अनुगमन पनि गर्दै आएको छ । किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको छ । कार्यक्रम सुरु हुनुपुर्व जिल्लाका उत्तरी क्षेत्रमा पर्ने शालिजा, लेखफाँट, बनौ, बाँसखर्क र दक्षिणी भेगका भोक्सिङमा मुख्य बालीका रूपमा आलुखेती हुने गरेको थियो । जिल्लाको एक हजार तीन सय हेक्टर जमिन आलु उत्पादनका निम्ति उर्वर मानिन्छ । उक्त क्षेत्रमा १३ हजार सात सय ७५ मेट्रिक टन आलु उत्पादन हुने केन्द्रका प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।
काठमाडौं: विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ । केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । आयात चार दशमलव दुई प्रतिशतले घटेको र निर्यात छ दशमलव एक प्रतिशतले घटेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ दशमलव पाँच प्रतिशतले बढेको छ । विवरणअनुसार, शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड छ । सरकारको खर्च रु तीन खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन रु दुई खर्ब ४८ अर्ब २६ करोड छ । विस्तृत मुद्राप्रदाय तीन दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव छ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव आठ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ प्रतिशत छ । चालु आवको पहिलो तीन महिनामा कूल वस्तु आयात चार दशमलव दुई प्रतिशतले घटी रु तीन खर्ब ९० अर्ब ७५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव सात प्रतिशतले वृद्घि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव नौ प्रतिशत, एक दशमलव पाँच प्रतिशत र सात दशमलव नौ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायत वस्तुको आयात बढेको छ । यस्तै, सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ । सो अवधिमा विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । तीन महिनामा कूल वस्तु व्यापार घाटामा चार प्रतिशतले कमी आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव एक प्रतिशतले वृद्घि भएको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ४५ अर्ब ५८ करोड बराबरको भएको थियो । सो अवधिमा खुद सेवा आय रु ३ अर्ब २९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २९ अर्ब ३९ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब १३ करोड थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय रु ३२ अर्ब ९२ करोड थियो । चार खर्बभन्दा बढी विप्रेषण आप्रवाह गत असोज मसान्तसम्मको तुलनामा विप्रेषण आप्रवाह ११ पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई अर्ब ७६ करोड थियो । सो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब चार अर्ब सात करोड थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १३ हजार तीन सय ९७ र ४९ हजार दुई सय ९७ रहेको थियो । चालु खाता र शोधनान्तर बचतमा सो अवधिमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । त्यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९इक्विटी मात्र० रु चार अर्ब ८१ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९इक्विटी मात्र० रु तीन अर्ब ३८ करोड रहेको थियो । यस्तै, शोधनान्तर स्थिति रु एक खर्र्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा रहेको छ । गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा सात दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा २६ दशमलव नौ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत छ । आर्थिक वर्ष २०८१र८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । त्यतिबेला घरेलु कार्यालयले मौरीपालनसम्बन्धी चारदिने तालिम दिएपछि यसतर्फ आकर्षित भएको थापाले बताउनुभयो । २ घारबाट मौरीपालन सुरु गर्नुभएका थापाले तालिम लिएपश्चात् मौरीपालन गर्न सकिन्छ भन्ने आँट आएको बताउनुभयो । शिक्षण पेसासँगै मौरीपालनलाई निरन्तरता दिँदै आउनुभएकाले उहाँ हाल शिक्षण पेसाबाट अवकाशपश्चात् पूर्णकालीन रुपमा मौरीपालनलाई अगाडि बढाउँदै आउनुभएको छ । मौरीसँग खेल्दा सिकेको अनुभव अन्य कृषकलाई सिकाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मौरीसँग खेल्दै गर्दा मौरीले धेरै कुरा सिकायो, अहिले आफूले सिकेको सीप अरू कृषकलाई बाँड्ने गरेको छु ।” कुनै समय ८२ घारसम्म रहेको उहाँसँग हाल ४२ मौरी घार रहेको थापाको भनाइ छ । १ वर्षमा १ हजार १ सय किलोसम्म मह उत्पादन भएको बताउँदै थापाले वातावरण राम्रो भएको खण्डमा मह उत्पादन उच्च हुने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग माग उच्च भएका कारण पु¥याउनै सकिएको छैन, यहाँ उत्पादन भएको मह मलेसिया, बेल्जियमसम्म जाने गरेको छ ।” थापाका अनुसार मह प्रतिकिलो रु १ हजार ५ सयमा बिक्री हुने गरेको छ । कुनै बेला मह बिक्री नभएको अवस्था पनि थियो, तर अहिले माग निकै उच्च रहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा मह बिक्री गर्न लैजान्थ्यौँ, बिक्री नभएर घर फिर्तासमेत ल्याउँथ्यौँ । तर अहिले अवस्था बदलिएको छ ।” कुनै बेला मौरीले शान्तसँग काम गर्ने तर कुनै बेला बिच्किएर टोक्नेसमेत गरेको उहाँको अनुभव छ । थापाका अनुसार यहाँका अधिकांश कृषक मौरीपालनमा लागेका छन् । यहाँ उत्पादित महको माग विदेशमा समेत हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध ४१ घरधुरी मौरीपालनमा छन् । थोरैमा २ घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । थापाले भन्नुभयो, “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् ।” यहाँका कृषकले याममा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका ३ याम उपयुक्त मानिन्छ । दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । १ हजारदेखि १ हजार ३ सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ ।” कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकका रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । १ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताउनुभयो ।
काठमाडौं: गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् । विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् । सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ । सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ । विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो । विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन् । विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्कीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् ।
चितवन: भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज तामाङ्का अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन् । उहाँले भन्नुभयो, “अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ ।” बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन् । भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताउनुभयो । काठमाडौँको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौँ भित्रिने गरेको उहाँले बताउनुभयो । यहाँको माछाको बजार काठमाडौँ, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको सङ्घका सदस्य नीरञ्जन थापाले बताउनुभयो । थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौँ, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको उहाँले बताउनुभयो । मङ्सिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उहाँले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गर्नुभयो । अहिले किसानकोमा जलकपुर र पाङ्गास माछा तयारी अवस्थामा रहेका छन् । जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ । पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गङ्गा भण्डारीका अनुसार जिल्लामा हाल १ हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ । त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ ।” भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको उहाँले बताउनुभयो ।
पाल्पा: रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु १ लाख ५० हजा बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिनुहुन्छ । रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब १ रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उहाँले बताउनुभयो । लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार बिरुवा बिक्री गरेर १ सिजनमा रु १ लाख ५० हजारबढी आम्दानी हुन्छ । “बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ”, दुवाडीले भन्नुभयो, “स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ ।” प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उहाँले जानकारी दिनुभयो । दुवाडीका अनुसार प्याज रु १ को ३ वटा, काउली रु ५ को एउटा, हाइब्रिड बन्दा रु ५ को एउटा, स्थानीय बन्दा रु ५ को २ वटा, ब्रोकाउली रु १० को एउटा बिक्री भइरहेको छ । “प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ”, उहाँले भन्नुभयो, “एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।” आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को वर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताउनुभयो । आधाकिलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हँुदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उहाँले उल्लेख गर्नुभयो । यहाँ उत्पादित बिरुवा काठमाडौँ, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ । यसवर्ष रु १ लाख ५० हजार बढीको आम्दानी हुने अनुमान गरिएको उहाँकी श्रीमती मतिकला दुवाडीले बताउनुभयो । बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान्श्रीमती दिनभर खटेर काम गर्नुहुन्छ । यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उहाँहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताउनुभयो । “यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ”, उहाँले खुसी हुँदै भन्नुभयो । रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्नुहुन्छ । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले १ सिजनमा रु १ लाखबढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उहाँको अनुभव छ । पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडालगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताउनुभयो । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिमलगायतमा सहयोग गरिने उहाँको भनाइ छ ।
दैलेख: कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताउनुभयो । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाउनुभएको छ । केही दिनपछि यो धान भित्र्याउने तयारीमा खत्री र विक हुनुहुन्छ । अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताउनुभयो । दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै ८ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताउनुभयो । १ हजार हेक्टरमा भने हुने गुणेखेती भएको छ । हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन् ।
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा १ पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् । चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।” यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०÷१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ । परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहालेँ भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ । कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै ९ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ । प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”
पर्वत: सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा १ सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ । पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताउनुभयो । देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ । गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाईले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताउनुभयो । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो । “मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,” उहाँँले भन्नुभयो, “अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो ।अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।” ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताउनुभयो । पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताउनुभयो । थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताउनुभयो । सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाटरु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए ।