१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।   बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आ...

पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो । फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो ।   तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उहाँले बताउनुभयो । बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउनुहुन्छ ।   बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उहाँको भनाइ छ ।   फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ । प्रतिकिलो फूल रु पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताउनुभयो ।   हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उहाँको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ ।   गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् ।   यहाँ हरेक वर्ष रु दुई लाखदेखि रुतीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताउनुभयो । 

नहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।   शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले राससलाई जानकारी दिनुभयो ।   युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताउनुभयो ।   उहाँले भन्नुभयो, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।” किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उहाँको भनाइ छ ।   “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौँ,” उहाँले भन्नुभयो, “एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।”   गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताउनुभयो ।   शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कफीले युवाहरुको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।” नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ ।   बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।

 नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।   युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।   अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।   जापानी येन १० को खरिददर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८९ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा विक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो ।   पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ ।   दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो ।   “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भन्नुभयो, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।”   जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ ।   तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन् ।   गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ ।   गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ । धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउनुहुन्छ ।   “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नभुयो ।   व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताउनुभयो ।   सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उहाँको भनाइ छ ।   “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे । भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनार पाएको छ”, भट्टले भन्नुभयो ।   धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ ।   टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ ।   धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो ।   उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो ।   धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ ।   स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।

राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो । सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।   सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।   विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।   निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।   मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

म्याग्दी:    रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।       म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् ।  ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर ।       कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाईभैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् ।  राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्र्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।  “कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भन्नुभयो, “पशुहरु जङ्गलमा चराउन लैजाँदा उनीहरुको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।”      कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताउनुभयो ।  म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ ।  आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षति बनाएको कृषक राम्जालीले बताउनुभयो ।        बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ । 

कञ्चनपुरः   कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ ।  केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् ।  उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् ।  घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ ।   नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।  “करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।”  पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उहाँको भनाइ छ ।  रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताउनुभयो ।  मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ ।  मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ ।  कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ ।  बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् ।  किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।