काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

जुम्ला:    यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् ।  कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।  स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो ।  किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए ।  प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न  कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो ।वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ ।  मुख्यमन्त्री कँडेलसमक्ष  किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा ४ हजार ४ सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा रु ६१ करोड ४१ लाख  स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दी:    विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उहाँले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उहाँले बताउनुभयो । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उहाँले रु २ लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिनुभयो । “हालसम्म रु २ लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उहाँले भन्नुभयो । उहाँको परिवारका ४ सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ ।  बेर्नासँगै उहाँले सागसब्जी पनि लगाउनु भएको छ । जैविक उत्पादन भएकाले ती खरिद गर्न उहाँको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् ।  सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् ।  उहाँले १ याममा बेर्ना बेचेर रु २ लाखभन्दा बढी आर्जन गर्दै आएको बताउनुभयो । २ रोपनी जग्गामा उहाँको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु २ लाखदेखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भन्नुभयो ।

सिन्धुपाल्चोक:    साँगाचोकगढी  नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।  ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ  । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ ।    विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको २ पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु ५सय भन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी  नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु ४ लाखसहयोग गरेको छ ।  एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट  प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

रामेछाप:    रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा  व्यावसायिकरुपमा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उहाँले राससलाई बताउनुभयो ।  अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताउनुभयो । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो । रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उहाँले बताउनुभयो । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उहाँले भन्नुभयो ।  सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ ।  रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् ।  जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।  परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ ।  परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो ।  यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताउनुभयो । यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ ।  जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् । 

म्याग्दी:     १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।   “बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भन्नुभयो “त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”  बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु। चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताउनुभयो । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।  पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के।सी। मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्नुहुन्छ । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।  “विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पाले,” उहाँले भन्नुभयो “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।  मौरी सहितको प्रतिघार मौरी रु। १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् । किसान केसीको सिको गरेर सुर्केमेलाका १६  कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुनुहुन्छ । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताउनुभयो ।  बर्षमा आठ÷दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उहाँले बताउनुभयो । सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।  रसिलो, स्वादिलो सुन्तला काठमाडौ, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् । 

म्याग्दी:    मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।  हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पु¥याउन ठिक्क हुन्छ,” उहाँले भन्नुभयो “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ ।” पकाउदाँ घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ । सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुुर खत्रीले बताउनुभयो ।  “गौरिया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भन्नुभयो “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन् ।  म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउनुुहुुन्छ । “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र रु छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,” उहाँले भन्नुभयो “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन् ।” आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताउनुभयो । “पहिले सबैले गौरिया गर्दथे,” उहाँले भन्नुभयो “नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो ।”  गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौ रया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरु बताउँछन् ।  नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।  “जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,” उहाँले भन्नुभयो “कृषकहरुले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रुपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ ।”  गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन् । म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन् ।  यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ बिधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भैरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताउनुभयो ।  रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताउनुभयो ।  “अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यवसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्व स्थानीय स्तरमै सीमित भएको छ,” उहाँले भन्नुभयो “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रर्वद्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ ।”

मोरङ:     बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो ।  विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।  छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो ।  रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गर्नुभएको छ ।  उहाँको अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग  गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउनुहुन्छ ।  प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ ।  वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आउनुभएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आउनुभएको छ ।  साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उहाँ बताउनुहुन्छ । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो ।  विशेष गरी खाडी मुलुकमा रहेका उहाँ बताउनुहुन्छ । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।  पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उहाँले बताउनुभयो ।

झापा:     नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।  “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।  संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो । बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।   

दैलेख:    नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ ।  खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?” पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ ।  खड्का भन्नुहुन्छ, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा ।” उहाँको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।  “सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न जानुभएका उहाँ  आजभोलि गाउँकै अगुवा कृषक बन्नुभएको छ । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उहाँले भन्नुभयो ।  हाँसेर कुरा गर्ने उहाँको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछु ।  “एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उहाँ भन्नुहुन्छ, “बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !” श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाउनुभएको छ । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उहाँले भन्नुभयो ।   ‘गाउँले एफएम दाइ’ विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो ।  रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उहाँका छरछिमेकी बताउँछन् । “आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उहाँको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिनुभएछ, अहिले नगेन्द्र नामले होइन । उहाँले गाउँले एफएमदाई नामले परिचित हुनुहुन्छ ।   खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । “विस ं२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव रह्यो ।” देउडा र लोकगीतमा उहाँको रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्नुहुन्थ्यो । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उहाँ स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित हुनुभएको छ । अझै पनि उहाँको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्नुहुन्छ ।  बजार बुझेर उत्पादन गर्दा आम्दानी  बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उहाँको भनाइ छ । विगत सम्झँदै खड्काले भन्नुभयो, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ ।  मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे ।” उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उहाँले जानकारी दिनुभयो ।   सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ उत्पादन गर्नुहुन्छ । “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । विसं २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उहाँले भन्नुभयो, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।” ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेँडा फलेको उहाँले खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “भर्खरै मात्र रु दुई हजार पाँचमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, रु ६० केजीमा बिक्री भइरहेको छ ।”  कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउनुहुन्छ । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उहाँले भन्नुभयो, “अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।” परम्परागत रूपमा खेती गर्दै आउनुभएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाउनुभएको छैन । मैले मेहनतले नै पुरस्कार पाएँ ।  उहाँका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन् । हामीजस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए ।  तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उहाँलाई पाल दिएको थियो । पालको छानो राखी उहाँले बारीनजिकै पोखरी बनाउनुभएको छ । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।   कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्नुहुन्छ । कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाउनुभएको थियो ।   हरेक मानिसका आ–आफ्ना सौख हुन्छन् । ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन् । कुनै बेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिनुभएको छ । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर उहाँले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्नुहुन्छ ।