म्याग्दी: चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न रु नौ करोड छ लाख बजेट प्राप्त भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत रु तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु दुई करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताउनुभयो । खायन आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई रु एक करोड २० लाख छ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि रु २१÷२१ लाख, तरकारीबाली प्रवद्र्धन आयोजनाका लागि रु १५ लाख पचास हजार, पोषण सुरक्षण कार्यक्रमका लागि रु २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई रु ६७ लाख विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताउनुभयो । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी रु ८० लाख बजेट प्राप्त भएको छ । यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई रु २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि रु १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि रु तीन लाख, घुम्ती गोठ संरक्षणका लागि रु चार लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई रु पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान रु एक लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि रु तीन लाख बजेट प्राप्त भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रु ६० लाख विनियोजन भएको जानकारी दिनुभयो । बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि रु १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि रु १६ लाख, कृषि उपज सङ्कलन केन्द्रलाई रु आठ लाख, बजारीकरणका लागि रु १५ लाख र यान्त्रिकरणका लागि रु दश लाख बजेट प्राप्त भएको छ । पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताउनुभयो ।
बागलुङ (बलेवा): बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो । विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन । ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउनुहुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ । कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताउनुभयो । ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताउनुभयो । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उहाँले बताउनुभयो । घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो । “असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन”, पुन भन्नुहुन्छ, “व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।” केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ । बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो । त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।
ललितपुर: नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ । कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुसन्धानमा व्यस्त छन् । काठमाडौँ फरेस्ट्री कलेजका स्नातक तहमा अध्ययनरत छात्रछात्रा क्रमशः आर्शिवादराज झा र कोहिनुर श्रेष्ठ हुनुहुन्छ भने कृषि विज्ञान क्याम्पस स्नातक तहका छात्र अभिनव थापा तथा काठमाडौँ विश्वविद्यालय स्नातक तहका छात्र दिनेश प्रजापति र सन्दिप शाक्यमा संलग्न हुनुहुन्छ । उहाँहरुले परियोजनाको नाम ‘इको ग्रव समूह’ राख्नु भएको छ । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालयबाट ‘फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ गर्नका लागि विश्वका नौ देशबाट १८ समूहले सहभागिता गरेको थियो । त्यसमध्ये एशियाबाट नेपाल मात्र ‘इको ग्रव समूह’ ले जितेको थियो । यसका लागि फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४ को संयोजक नेपालबाट उमाशङ्कर पाँडे रहेका छन् । उहाँ काठमाडौँ विश्वविद्यालयमा सहायक प्रधानाध्यापक हुनुहुन्छ । उहाँका अनुसार, नेदरल्यान्डका वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा ‘इको ग्रव समूह’का पाँच विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धान गर्दैछन् । यस अनुसन्धानमा राम्रो गर्ने विद्यार्थीमध्ये काठमाडौँ फरेस्ट्री कलेजका आर्शिवादराज झालाई केही दिनका लागि नेदरल्यान्डका वाइनिगन विश्वविद्यालयमा थप अध्ययन गर्नका लागि पठाइनेछ । विद्यार्थी झाका अनुसार यस झिँगाबाट लार्भा उत्पादन गरी मल र दाना बनाइन्छन् । यो आर्गनिक दाना र मल घरपालुवा पशुपक्षी कुखुरा, बङ्गुर, माछा, भैँसी, बाख्रा, आदिका लागि उच्च प्रोटिनयुक्त आहारा बन्नेछ भने खेत र करेसाबारीमा मलिलो माटो बनाउन सकिन्छ । कुहिएको हरियो सागसब्जी, फलफूल, अन्न, मासु वा कुहिने फोहर व्यवस्थापनका लागि तिनै तहका सरकारले झिँगाको खेती गर्न र गराउनमा ध्यान दिएमा किसान प्रत्यक्ष राहात मिल्ने तथा देशमै मल तथा दाना उत्पादन गरी आम्दानीको स्रोत र रोजगारको अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ । यस झिँगालाई अङ्ग्रेजीमा ब्ल्याक सोल्जर फ्लाई (बिएसएफ) भनिन्छ । यसको वैज्ञानिक नाम “हेर्मेटिया इल्युसेन्स’ हो । यसमा प्रोटिन, अमिनो एसिडले भरपूर फाइबर भिटामिन पाइन्छ । झिँगाको खेती नेपालमा एकदम कम गरिएको पाइन्छ । यो आर्गनिक मल तथा दाना व्यवसाय गर्नका लागि २०औँ शताब्दीदेखि विश्वमा यसको खेती सुरु भएको बताइएको छ । झाका अनुसार बीएसएफ’ को जीवनचक्र ४५ देखि ७० दिनसम्मको हुन्छ । यसबाट उत्सर्जित दिसाबाट राम्रो प्राङ्गारिक दाना तथा मल उत्पादन हुन्छ । यो खानाले पशुपक्षीहरूलाई वृद्धि तथा बढ्नमा छिटो सहयोग गर्छ । यस दानामा कुनै रासायनिक पदार्थहरू मिसाएको नहुने भएकाले मानिसहरुले खाँदा पनि स्वस्थ्यकर हुन्छ । कालो सैनिक झिँगा राख्नका लागि सानो घर बनाएर खेती गर्न सकिन्छ भने कुनै डिब्बा, काठको ट्रे, प्लास्टिकको ट्रे आदिमा राखेर पनि उत्पादन गर्न सकिन्छ । घाम लाग्ने ठाउँ नभएमा बत्तीको व्यवस्था गर्नुपर्छ । २५ देखि ४० डिग्री सेल्सियस तापक्रममा कालो सैनिक झिँगाको खेती गर्नको लागि उपयुक्त मानिन्छ । त्यस्तो नभएमा हिटरको व्यवस्था गरी ताप दिनुुपर्छ । आफूलाई झिँगा तथा लार्भा कति चाहिन्छ ठाउँ अनुसारको सामग्री तयार गर्नुपर्छ । झिँगा उड्ने भएकाले यसलाई झुल अर्थात जालीभित्र राख्नुपर्छ । झुलभित्र नै अण्डा पार्नका लागि राख्नुपर्छ । बाँस वा काठ १० देखि २० इन्चको लम्बाइ, मोटाइ दुई देखि तीन इन्च र चौडाइ तीनदेखि पाँच इन्चको हुनुपर्छ । त्यस टुक्रालाई दुई दुईवटा खप्टाएर ट्रेरेमाथि झुलभित्र नै राख्नुपर्छ । झुलभित्र भएमा झिँगालाई काठभित्र अण्डा पार्न सजिलो हुन्छ । झिँगालाई खानाको आवश्यकता पर्दैन थोरै मात्रामा पानी भएहुन्छ । झुलकोमाथि भागमा पानीको स्प्रे गर्नुपर्छ वा झिँगालाई पानी खानको लागि फोम भिजाएर एक छेउमा राखिदिन सकिन्छ । काठको कप्टेरोको मसिनो भागमा गएर अण्डा पारेकालाई एक वा दुई दिनमा पिन र सिन्काको सहायताले अण्डा निकाल्नुपर्छ । झिँगाको आयु जम्मा सात दिनको हुन्छ । झिँगाबाट मल तथा दाना उत्पादन गर्नका लागि पाँच प्रकारको चरण अण्डा, लार्भा, पूर्वप्युपा, प्युपा हुन्छन् । अण्डालाई एउटा पारदर्शी प्लास्टिकको ट्रे, काठबाट बनाएको ट्रे वा हावा छिर्ने डिब्बामा राख्नुपर्छ । मुखमा जाली वा झुलले बाँधेर जालीमाथि यी अण्डा राख्नुपर्छ र फेरि अर्को जालीले छोप्नुपर्छ । यस्तो अवस्थामा पानी र खाना केही दिनुहुँदैन । अण्डा फुट्ने डर हुन्छ । धेरैजसो अण्डा चारदेखि पाँच दिनमै अण्डाबाट लार्भा निस्किन् थाल्छ । यसको लम्बाई १.० मिलिमिटरदेखि ०.०४ इन्चको हुन्छ भने तौल ०.२२ ग्रामदेखि ३.४ ग्रामको हुन्छ । अण्डालाई लार्भा अवस्थामा आउन एक हप्ता लाग्छ भने लर्भाको चरण औसत १४ देखि १७ दिनसम्मको हुन्छ । अण्डाबाट लार्भा अवस्थामा आउने वित्तिकै यसलाई अर्को ट्रेमा राख्नुपर्छ । यसलाई पनि २५ देखि ४० डिग्रीको बीचको तापक्रममा राख्नुपर्छ । गिलो वा धेरै पानी भएको खाना खान दिनुहुँदैन। यसको खाना कुहिएको हरियो तरकारी फलफुल हड्डी नभएको मासु र अन्नहरू दिनुपर्छ । यसलाई धेरै सुक्खामा पनि राख्नु हुँदैन । कम्तीमा ६० देखि ९० प्रतिशतको बीचमा चिसोपन अर्थात् गिलो खान दिनुपर्छ । त्यहीँ अनुसारको बासस्थान पनि बनाउनुपर्छ । यसलाई दिनको दुई वा तीनपटक खाना लार्भा कति छ त्यस अनुसारले दिनुपर्छ । लार्भा १५ दिनको भएपछि उसको मुखको आकारको भाग चुच्चो हुन थाल्छ । सेतो रङको लार्वाको रङ विस्तारै परिणत हुन्छ । यसलाई लार्भाभन्दा अलि सुखा बनाएर राख्नुपर्छ । लार्भाको ट्रेबाट अर्को ट्रेमा सार्नुपर्छ । यसलाई धेरै उज्यालोको आवश्यकता पर्दैन । यस चरणमा धेरै चिसो र धेरै तातो भएमा पूर्व प्यूपा मर्छन् । उपयुक्त वातावरणमा आइसकेपछि पूर्वप्युपापमा परिणत हुन जान्छ । अब यो हिँडडुुल गर्न छोड्छ । कालो र सेतो धर्का भएको रङ्मा बदलिन थाल्छ । झिँगा उड्ने प्रक्रियामा आउन दुईदेखि तीन हप्ताको समय लाग्छ । प्यूपा झिँगामा परिणत हुने अवस्थामा अर्को जाली भएको ठाउँमा ट्रेमा राख्नुपर्छ । झिँगा उड्ने बेलादेखि एक हप्ता मात्र बाँच्छन् । यस अवस्थामा उनीहरू आफ्नो साथी खोज्न थाल्छन् । पोथी झिँगाले फेरि पहिलो चरणको कुरा दोहो¥याउँछ त्यहाँ काठबाट बनाएको ठाउँमा अण्डा दिन सुरु गर्छ । यस्तो बेलामा सूर्यको प्रकाश र तातोपन भएमा झिँगा छिटो जीवनचक्रमा अग्रसर हुन थाल्छन् । झिँगाको लम्बाइ दुईदेखि पाँच सेन्टिमिटरको हुन्छ । यसरी ४५ देखि ७० दिनसम्मको झिँगाको जीवन चक्र हुन्छ । एउटा झिँगाले आफ्नो जीवनकालमा ३०० देखि ५०० सयसम्म अण्डा दिन्छन् । कालो सैनिक झिँगाको खेती गर्दा बस्तीभन्दा बाहिर खुल्ला ठाउँमा गर्नुपर्दछ । गोदावरी नगरपालिकाका रामु महर्जन झिँगाको खेती गर्न धेरै खर्च नलाग्ने र राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । कुखुरा व्यवसाय गर्दै आउनु भएका उहाँ ‘इको ग्रव समूह’बाट तालिम लिएर कालो सैनिक झिँगाको उत्पादनमा लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘दुई महिनामै मल तथा दानाबाट राम्रो आम्दानी गर्न सक्छौँ । यसमा पटक–पटक लगानी गर्नुपर्दैन यसको अण्डाबाट व्यवसाय बढाउन सकिन्छ । लार्भालाई भुटेर वा काँचो नै कुखुरा, माछा, खसी, बङ्गुर अर्थात् कुनै पनि पशुपक्षीलाई दिँदा लाभदायक हुन्छ ।’’ लार्भा र प्यूपाले आफ्नो चक्र पूरा गर्ने बेलामा निस्केको काइटिनलाई खेत वा गमलामा राख्दा निकै उपयोगी हुन्छ । विदेशमा काइटिन र लार्भाबाट बनाएका बिस्कुटहरू पशुपक्षीहरूका खानको लागि बनाएका हुन्छन् । दाना र मलबाट वातावरणलाई स्वच्छ राख्न सहयोग पुग्ने विज्ञहरुको भनाइ छ । यसलाई व्यावसायिक रुपमा उत्पादन गर्न सकिए बजारमा पाउने कुखुराको दानाभन्दा सस्तोमा पाउन सकिन्छ ।
बागलुङ (ढोरपाटन): बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् । गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ । सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए । सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ । नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो । “गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।” महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।
काठमाडौं: आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताउनुभयो । “हामीले आइएमईलाई चाँडै नै नागरिकमाझ लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने हाम्रो यो अर्को पहल हो,” उहाँले भन्नुभयो, “राज्यको प्राथमिकतामा रहेको, आमजनतालाई सेवा दिन सकिने र आर्थिक रुपले सम्भाव्य क्षेत्रमा लगानी गर्नु व्यवसाय गर्ने मुख्य तीन सूत्र हुन् ।” दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष ढकालले आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ । आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क रहेको ढकालले बताउनुभयो । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको पनि उहाँले बताउनुभयो । सरकार तथा नियामक नेपाल राष्ट्र बैङ्कले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको अध्यक्ष ढकालको दाबी छ । “राष्ट्र बैङ्कले बैङ्कको पुँजी बढाउन एकापसमा गाभ्ने नीति ल्याउँदा त्यसको कार्यान्वयनमा हामी सदैव पहिलो पङ्क्तिमै उभिने गरेका छौँ । विभिन्न २१ बैङ्क तथा वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैङ्क नेपालको सबैभन्दा ठूलो वाणिज्य बैङ्क बनेको छ,” अध्यक्ष ढकालले भन्नुभयो, “अहिले राष्ट्र बैङ्कले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । सो नीतिको हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।” पछिल्लो समय रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैङ्क खातामा पठाउन सकिने भइसकेको अध्यक्ष ढकालले बताउनुभयो । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताउनुभयो । विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उहाँले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गर्ने बताउनुभयो । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषण करिब २४ प्रतिशत हाराहारी रहेको छ । अवैध हुन्डी नियन्त्रण र वैधानिक बाटोबाट विप्रेषण भित्रिन सके त्यसबाट अर्थतन्त्रमा थप योगदान पुग्ने देखिन्छ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्यभने स्थिर छ । आज प्रतितोला चाँदी रु एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ ।
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार छ सय ८६ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौंः पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ । “पुनवरालोकन समितिमा नआउने, अदालतले पनि बिल उठाउ भनेको अवस्थामा राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँ,” प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “लोडसेडिङको समयमा सुविधा लिएका उद्योगलाई कानुनअनुसार बिल काटेको र त्यसको प्रमाण सुरक्षित रहेको छ ।” उद्योग व्यवसायलाई डेडिकेटेड र ट्रङ्क लाइन महशुलका सम्बन्धमा रहेको टाइम अफ डे ९टिओडी० मिटरको सबै विवरण संसद्को सार्वजनिक लेखा समितिलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “मैले मागेको ठाउँमा सबै विवरण दिएको छु । आवश्यक परे अझै विवरण उपलब्ध गराउँछौँ, तर सार्वजनिक स्थानमा जसले जति बेला जे प्रमाण माग्यो त्यो दिइ हाल्नुपर्छ भन्ने छैन । अब सम्बन्धित निकायलाई आवश्यक कागजात दिएको छु,” उहाँले भन्नुभयो । बिहिबार मात्रै प्राधिकरणले सार्वजनिक लेखा समितिले मागेअनुसार सबै विवरण उपलब्ध गराएको कार्यकारी घिसिङले बताउनुभयो । प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड कार्यकारी घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा रु १३ अर्ब ३१ करोड नाफा पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ । विद्युत्को महसुल तीन पटक गरी करिव २५ प्रतिशत घटाए पनि नाफामा बृद्धि भइरहेको उल्लेख गर्दै कार्यकारी घिसिङले प्राधिकरणका करिब कूल ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क रु ३० मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले सिँचाइका लागि प्रतियुनिट रु दुईमा विद्युत् उपलब्ध छ भने लिप्mटिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको बताउनुभयो । “विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पूरा गरिरहेका छौँ ।” इक्रा नेपालले गरेको ‘क्रेडिट रेटिङ्’ मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको जानकारी दिँदै कार्यकारी घिसिङले यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व बहन गर्न सक्ने क्षमतामा देखिएको बताउनुभयो । “यसरी, प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविस्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो । आम सर्वसाधारणलाई १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्राधिकरणले तयारी गरेको छ । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ वर्षमा मात्र प्राधिकरणले करिब रु एक खर्ब पूँजिगत लगानी गर्न सक्षम देखिएको छ । प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा रु ५६ अर्ब ६८ करोडभन्दा बढी लगानी गरेको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिकरूपमा लगानीका लागि एउटा दरिलो स्रोत हो ।” उहाँका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । “विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रुपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो,” उहाँले भन्नुभयो, “निर्यातको मात्रा बढ्दै गएर गत आवमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी रु १७ अर्ब सात करोड आम्दानी भएको छ ।” वर्षायाममा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको कार्यकारी घिसिङले जानकरी दिनुभयो । उहाँका अनुसार सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको छ । “गत आवमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “गत आर्थिक वर्षमा आयातभन्दा करिव रु १३ करोड बढीको विद्युत् निर्यात भएको छ ।” आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको बताउँदै कार्यकारी घिसिङले यो नेपालको जलविद्युत् विकासका लागि कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो । कार्यकारी घिसिङका अनुसार आठ वर्ष अघि दुई हजार आठ सय मेगावाटको मात्र विद्युत् खरिद सम्झौता गरिएकोमा निजी क्षेत्रका आयोजनालाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण हाल १० हजार तीन सय मेगावाट भन्दा बढीको विद्युत खरिद सम्झौता भएको छ । उहाँले आगामी पाँच वर्षभित्रै अर्थात सन् २०२८/२९ मा नेपालको जडित क्षमता झण्डै १० हजार मेगावाट पुग्ने प्रक्षेपण गरिएको बताउनुभयो ।