काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।  सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार ...

पोखरा:    पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो ।  महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ ।  महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ ।  महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का विभिन्न स्थानमा गहुँखेती प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयन गरिने छ ।  यस वर्ष महानगरपालिकाले चार हजार किलोग्राम गहुँको बीउ ५० प्रतिशत अनुुदानमा वितरण गरेको छ । 

काठमाडौँ:  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।   राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।   केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।   यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।   यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ ।   यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।   धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताउनुभयो ।   चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।   उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताउनुभयो ।   रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको बताउनुभयो ।   रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका–६ का किसान दिनेश मण्डलले बताउनुभयो ।   रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका–२ का किसान अनिल साहले बताउनुभयो ।   रिपर मेसिनको मूल्य स्थानीय बजारमा रु दुई लाख १५ हजार पर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ ।   आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।   आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ ।   साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।   दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।   त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ ।   केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।   खेती किसानी पनि गर्दै आउनु भएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई दाइँ गर्ने परम्परा थियो । तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।”   गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रयाक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताउनुभयो ।   उहाँका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ ।   थ्रेसर मेसिन, ट्रयाक्टर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृति भने हराउन थालेको मिथिला नगरपालिका–६ ढल्केवरका ज्येष्ठ नागरिक रामवरण महतोको धारणा छ ।   उहाँ भन्नुहुन्छ, “मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको छ ।   श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध नागरिकलाई असर गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाई दाइँ गर्दा त्यस्तो समस्या हुँदैनथ्यो ।”    युवा शक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् ।   यसबाट अन्न झार्ने तथा पराल भुसा वा नल एकैपटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् । धान उत्पादनमा वृद्धि हुने अनुमान यसैबीच मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।   मधेशका आठवटै जिल्लाबाट गतवर्षको तुलनामा यसवर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा १२ लाख ९६ हजार छ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो ।   उहाँले चालु आर्थिक वर्ष २०८१÷८२ मा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जानकारी दिनुभयो ।   गत वर्षभन्दा यस आवमा धान रोपाइँ बढी क्षेत्रफलमा भएको हुँदा उत्पादनमा समेत वृद्धि हुने बताइएको छ । कषि प्रसार अधिकृत मेहताले गत वर्षको तुलनामा यस वर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको जानकारी दिनुभयो ।   आव २०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आवमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपिएको उहाँले जानकारी दिनुभयो ।   धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा यस वर्षमा शून्य दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ ।   गतवर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यसवर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

काठमाडौँ:  सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ ।   सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   आज चाँदीको मूल्य पनि बढेको छ ।   हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।

पोखरा:   रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा साथ दिने भएको छ ।   युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटर मुख्य प्रायोजक बनेको हो ।   पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा तेश्रो पटक मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।    यसअघि दुई पटक सम्म पोखरा महोत्सवको मुख्य प्रायोजकमा रही सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा आफुहरु निकै गौरवान्वित भएको रौनियारको भनाई थियो ।    पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, ,प्रेसर कुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ ।    युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले तेह्रौं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए ।    महोत्सवको आयोजना गरि युनाईटेड क्लबले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।    तेह्रौं संस्करणदेखि युनाईटेड क्लबले आफ्नो परियोजनामा युनाईटेड छात्राबासलाई अगाडी सारेको छ ।   उक्त परियोजना अन्तर्गत हालै मात्र पोखरा २७ अर्चलेमा रहेको क्लवको आफ्नै जग्गामा हालै मात्र युनाइटेड आवासिय छात्राबासको सिलान्यास सम्पन्न गरी निर्माण कार्य अगाडी बढाइएको छ । उक्त छात्राबास मार्फत गरिब विद्यार्थीलाई आवासिय सुविधा सहितको शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको छ ।    युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ ।   सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना,  युनाइटेड क्लबका कोषाध्यक्ष जयराम आचार्य लगायतको सहभागिता रहेको थियो ।   यो पनि पढ्नुहोस   पुष २५ देखि १३ औं पोखरा महोत्सव  

तनहुँ:   “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्नुहुन्छ, “यहाँ बस्ने अवस्था छैन ।”  उहाँ म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुख्र्यौली जमिन सफाइ गरी सुन्तलाखेतीमा व्यस्त हुनुहुन्छ । पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झर्नुभएका मोहन अहिले बाँझो जमिनमा सुन्तलाखेती गर्दै हुनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “अन्य खेती गर्न समस्या भए पनि सुन्तलाखेतीलाई कम पानीले पुग्ने भएकाले यसतर्फ आकर्षित भएको हुँ ।”बाँझिएको पुख्र्यौली जमिनको उपयोग गर्दै उहाँ अहिले नौ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरिरहनुभएको छ ।  आर्थिक वर्ष २०८०÷८१ मा उक्त बाँझिएको जमिन सफा गरी दुई सय ५० बिरुवा रोपेर उहाँ सुन्तलाखेतीमा लाग्नुभएको छ । चालु वर्षमा भने उहाँले ४४ सुन्तलाका बिरुवा थप्नुभएको छ ।  उहाँ भन्नुहुन्छ, “कोभिड १९ को बन्दाबन्दीपछि गाउँमै गरिएको खेतीले सुरक्षित बनाउँछ भन्ने महसुस भएर सुन्तलाखेतीतर्फ लागेको हुँ, आफ्नो जमिन खेर फालेर अन्य पेसामा लाग्नुभन्दा आफ्नैमा नाफाघाटा बेहोरौँला भनेर जङ्गल बनेको बाँझो जमिनमा सुन्तला लगाएको छु, केही वर्षमा उत्पादन लिनसक्ने देखिएको छ ।”  सिँचाइ अभाव भएकाले कृषि ज्ञान केन्द्र तनहुँबाट हिलट्याङ्क अनुदानमा पाएपछि सहज भएको उहाँ बताउनुहुन्छ । उहाँ जस्तै व्यास नगरपालिका–१ हाई स्कुलटार निवासी नारायण रानाभाट पनि बाँझो जमिनको उपयोग गर्दै सुन्तलाखेतीतर्फ आकर्षित हुनुभएको छ ।  बाँझिएर जङ्गल बनेको पुख्र्यौली जग्गा फँडानी गरी सुन्तलाखेती गर्दै आउनुभएको छ । बिहान सुन्तलाको रेखदेख गर्न बगैँचामा पुग्ने र साँझ घर फर्किने गरेको उहाँ बताउनुहुन्छ ।       कृषि ज्ञान केन्द्रको सुन्तलाखेती विस्तार कार्यक्रमले सुन्तलाखेतीतर्फ किसान आकर्षित भएका छन् । झाडी बनेको जमिनको उपयोगलाई प्राथमिकता दिएर ल्याइएको सुन्तलाखेती विस्तार कार्यक्रमले यसतर्फ सर्वसाधारण आकर्षित भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउनुहुन्छ ।  उहाँका अनुसार धेरै ठाउँमा बाँझो जमिनमा सुन्तलाखेती विस्तार भइरहेको छ । उहाँ भन्नुहुन्छ, “झाडी सफाइ गरी अहिले किसानले सुन्तलाखेतीको स्याहारसुसारले उत्पादन बढ्दो रहेको छ, यसले कृषिमा युवाको आकर्षण बढेको तथ्याङ्कले देखाएको छ ।”  सुन्तला बगैँचाबाट नै खरिदबिक्री हुने हुँदा पनि किसान यस खेतीतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । यहाँको सुन्तला विशेषगरी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री वितरण हुने गरेको छ ।       बाँझो जमिनमा गत आर्थिक वर्ष ५ हजार ६ सय बिरुवा रोपण गर्न अनुदान दिइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले बताउनुभयो ।  उहाँका अनुसार जिल्लाका विभिन्न स्थानका दुई सय ५५ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । तीमध्ये १० रोपनी क्षेत्रफलको सुन्तलाका बिरुवा मरेको उहाँ बताउनुहुन्छ ।       उहाँले भन्नुभयो, “राम्रो बच्चा बनाउनका लागि सानो गरिएको स्याहारसुसारले भविष्यमा असल बनाउँछ भनिन्छ नि, त्यसैगरी सुन्तलाका साना बिरुवालाई पनि सरसफाइ तथा हेरचाह राम्रो भएमा उत्पादन राम्रो हुन्छ ।”      जिल्लामा विशेषगरी बिज बिरुवा नै रोपण गर्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ । “हाइब्रिडको प्राक्टिस भएको पाएका छैनौँ”, सूचना अधिकारी परियारले भन्नुभयो ।  जिल्लाकै देवघाट गाउँपालिका–२ नरमस्थित नर्सरीमा उत्पादित सुन्तलाका बिज बिरुवा अनुदानमा अन्य क्षेत्रका किसानलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । बसाइँसराइ गरेका थानसिं गाउँका स्थानीय गाउँमा फर्केर झाडी बनेको बाँझो जमिनमा सुन्तलाखेती गर्ने क्रम बढ्दै गएको छ । म्याग्दे–२ सुन्तलाखेतीको प्रख्यात ठाउँ हो ।  यसका साथै १ र ३ नम्बर वडाका केही स्थानमा सुन्तलाखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पकेट क्षेत्रको क्षेत्रफल बढ्ने क्रममा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।       आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका एक हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।  आव २०७९÷८० मा ११ हजार चार सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन गरेको केन्द्रको तथ्याङ्मा उल्लेख छ ।चालु आर्थिक वर्षमा केही क्षेत्रफल वृद्धि हुनेगरी विस्तार भइरहेको केन्द्रले जनाएको छ । यस तथ्याङ्कका आधारमा पनि सुन्तलाखेतीको क्षेत्रफल वृद्धि भएको देखिन्छ ।  चालु आर्थिक वर्षमा सुन्तलाखेतीकै लागि बजेट छुट्याएर आएकाले अझ सहज भएको र यसको क्षेत्रफलसमेत वृद्धि हुने देखिएको केन्द्रले जनाएको छ । राष्ट्रिय फलका रुपमा सूचीकृत सुन्तलाखेतीमा सरसफाइ र स्याहार पुगेमा उत्कृष्ट सुन्तला यहाँ उत्पादन हुने केन्द्रले जनाएको छ ।   

खोटाङ:   यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।  सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब ४ हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ । किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ ।  शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।  विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । “मेरो फार्ममा ३ सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा १ सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”,  उहाँले भन्नुभयो, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।”  किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुहुन्छ । किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।  नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो ।  जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ ।  त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु १ सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको रु ६० लाख बराबरको हुन्छ ।” नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ ।  फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो ।किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।  जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।