काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।  गत शुक्रबार हालसम्मकै उच्च अ...

चितवन:  दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।  निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको  जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो “दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै  मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।  जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् ।  विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उहाँले बताउनुभयो । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उहाँको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी  भुक्तानी पाउन सकेका छैनन् ।  भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।  

पर्सा:  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।  गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”  कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको  एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।   जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो ।  चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।  जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

गण्डकी: उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् ।  देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ ।  उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् ।  गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो ।  छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ ।  “झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।” पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उहाँले बताउनुभयो । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाउनुभयो ।  “कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात÷आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।” इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताउनुभयो ।  “कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उहाँले भन्नुभयो, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।”

काठमाडौं:  स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ ।  आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ ।  सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चितवन:  आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।  नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ ।  यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो ।  बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ । 

पर्वत:  पर्वतको  महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ ।   पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताउनुभयो ।        उहाँकाअनुसार गत कात्तिकमा रु ३६ लाख १९ हजार, मङ्सिरमा रु १३ लाख ७८ हजार ८३५, पुसमा रु २९ लाख ९७ हजार ८८० र माघमा रु १८ लाख १२ हजार १८५ बाराबरको तरकारी बिक्री भएको हो ।       महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी  उत्पादन हुने गरेको छ । यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।       उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन् । हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताउनुभयो ।       पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई  व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु पाँच उपलब्ध गराउँदै आएको छ । पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।  स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताउनुभयो । यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

स्याङ्जा:  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।      व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ ।      यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।”      गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ ।           करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सार्नुभएको थियो । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गर्नुभएको छ ।      “मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उहाँले भन्नुभयो, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गर्नुभएको छ ।

काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।       आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

सिन्धुली:   कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह छैन ।  ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन् । गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो । यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ । मङ्सिरको पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन् ।   यसका साथै पोथी प्रजनन लाइनमा उम्रिका ‘धानचमरा’ हटाउनुपर्ने छ । हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ । मकैको भाले फूललाई धानचमरा भनिन्छ ।  निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन् । सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ ।  कर्मचारीहरूकाअनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ । बाँया हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ । थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ ।  ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ । यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताउनुभयो ।  “मकैको दानाको अत्यधिक माग भएकाले परम्परागत खेती विधिबाट मात्र यो माग पूरा गर्न सम्भव छैन । यस समस्याको समाधानका लागि हाइब्रिड मकैलाई विकल्पको रूपमा अपनाइएको छ, यसले झन्डै दोब्बर उत्पादन दिन्छ”, उहाँले भन्नुभयो । प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती प्रदेश, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन, कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त प्रयासले हाइब्रिड मकैको बीउ उत्पादन कार्य सुरु गरिएको हो ।  स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठूलो धनराशि जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकाल बताउनुभयो । उहाँका अनुसार नेपालमा हाइब्रिड मकैको बीउ आयातमा हरेक वर्ष ठूलो रकम खर्च हुने गरेको छ ।   हरिहरपुरगढी गाउँपालिकामा मकैको हाइब्रिड बीउ उत्पादन कार्यले सफलता पाउन लागेकामा गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले खुसी व्यक्त गर्नुभयो । भन्नुभयो, “हरिहरपुरगढीलाई हाइब्रिड मकैको बीउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने हो । पहिला हरिहरपुरगढीमा धानबाहेक अरु पाइँदैन भन्ने थियो । अब मकैको बीउ पनि खरिद गर्न आउने बनाउँछौँ ।” आफ्ना पालिकाका किसानलाई भने मकैको बीउ निःशुल्क उपलब्ध गराइने योजना रहेको उहाँले सुनाउनुभयो । मकैखेतीको क्षेत्र विस्तार गर्दै यसको उत्पादनमा वृद्धि गरेर स्थानीय किसानको आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य छ । बाहिरबाट बीउ खरिद गर्ने झन्झटबाट बच्न र मकैखेतीको लागत घटाउन सहयोग पुग्नेमा स्थानीय किसान आशावादी भएका छन् ।  नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ । मकै खासगरी वसन्त ऋतु (फागुन–चैत), वर्षायाम (जेठ–असार) र हिउँद (असोज–कात्तिक) तिर लगाउने चलन छ । नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ र अझै हाइब्रिड मकैको क्षेत्रफल दिनप्रतिदिन तराई र भित्री मधेसमा मात्र नभएर मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपले विस्तार हुँदै गइरहेको छ ।