झापा: किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ । प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड ६० लाखको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको जनाउँदै उहाँले ६० प्रतिशत अर्थात् रु एक करोडका सामग्री युरोप र अमेरिका निर्यात भएको बताउनुभयो । सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग ‘लिफ प्लस प्रालि’ स्थापना गरेको थियो । मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा रु एक करोड ५० लाख लगानीमा स्थापना भएको उद्योगमा हालसम्म रु चार करोड लगानी भइसकेको छ । दुई वर्षअघि आगलागी भएर ठूलो क्षति भएपछि उद्योगलाई मेचीनगर–९ बाट १३ मा स्थानान्तरण गरिएको छ । आगलागीबाट पुरानो मेसिन काम नलाग्ने बनेपछि भारतबाट नयाँ मेसिन ल्याइएको बानियाँले बताउनुभयो । “सालको पातबाट जस्तै सुपारीको पातबाट दुना टपरी बनाउन सकिन्छ भन्ने लागेर यसको व्यावसायिक उत्पादन गर्ने योजना बनायौँ,” उद्योगका संस्थापकमध्येका बानियाँले भन्नुभयो, “सुरुमा स्थानीय बजारमा यसलाई चिनाउन केही समय लाग्यो । पछि विदेशमा बजार प्रवद्र्धन गर्दै युरोपर अमेरिकाको बजारसम्म यसलाई पु¥याउन सफल भएका छौँ ।” माइक्रोवेभमा तताउन मिल्ने, रेफ्रिजेरेटरमा चिस्याउन मिल्ने, वातावरणमैत्री, नचुहिने र प्राकृतिक रुपमै विसर्जन गर्न सकिने विशेषताका कारण विदेशी बजारमा नेपालमा निर्मित सुपारीको थाल, बटुकालगायतका सामान छिट्टै लोकप्रिय बनेको उहाँको भनाइ छ । सुरिलो बोटको टुप्पामा झुप्प भएर सुपारीका पात हुर्किने गर्छन् । सुपारी खेतीको भुइँमा किसानहरुले अन्य बाली लगाउने गर्छन् । ठूलो आकारका पात खेतीमा झरेर बाली नोक्सान नहोस् भनेर विगतमा किसानहरु यसलाई खेताला लगाएर बारीबाट हटाउने गर्थे । तर अहिले बोटबाट आफैँ झरेका पात बिक्री भएपछि किसानहरुले अतिरिक्त आम्दानी पाउन थालेका छन् । एउटा पात रु चारका दरले बिक्री हुने गरेको छ । झापामा दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३५ लाख वटा सुपारीका बोट रहेको छ । एउटा बोटबाट बर्सेनि पाँचदेखि आठवटा पात छिप्पिएर खस्ने गर्छन् । यस हिसाबबाट बर्सेनि दुई करोड ५० लाखभन्दा बढी पात खेर गइरहेको छ । उद्योगहरुले त्यही खेर जान लागेको पातलाई उपयोग गरेर सामान उत्पादन गर्दछन् । यसबाट सुपारी किसानले फलबाहेक पातको मूल्य पाउने अवस्था सिर्जना भएको छ । स्वदेशभित्र मठमन्दिरमा हुने पूजा, विवाह, व्रतबन्ध र सार्वजनिक समारोहको भोजभतेरमा सुपारीको पातबाट बनेका सामान प्रयोग हुने गरेको छ । भाटभटेनी, सेल्सबेरी, होटल सोल्टीलगायतका राजधानीका ठूला होटल र रेस्टुरेन्टमा यी सामग्री प्रयोग हुँदै आएको उद्योगका सञ्चालक बानियाँ बताउनुहुन्छ । झापाको बाहुनडाँगी, शान्तिनगर र बुधबारेबाट सुपारीका पात सङ्कलन हुँदै आएको उद्योगले जनाएको छ । ती क्षेत्रका अरू उद्योगबाट उत्पादित सामान उद्योगले किनिदिने गरेको छ । लिफ प्लस प्रालिमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेसिन सञ्चालन र पात सङ्कलनमा रोजगारी पाउने अधिकांश महिला श्रमिक छन् । उद्योगमा जडान गरिएको सातवटा मेसिनले दैनिक १२ हजार वटा थाल, बटुकालगायतका सामान उत्पादन गर्दै आएको छ । अर्जुनधारा नगरपालिका–२ मा इनर्जी क्रप्स नाम उद्योगले पनि सुपारीको पातबाट दुना टपरीलगायतका सामान उत्पादन गर्दै आएको छ । सञ्चालक दीपक ढुङ्गानाले रु एक करोडमा स्थापना गरिएको उद्योगमा १० जनाको संयुक्त लगानी रहेको बताउनुभयो । सञ्चालकहरु आफैँ सुपारीको पात खोज्न किसानका बगानमा पुग्ने गर्छन् भने उत्पादित सामान बिक्रीका लागि आफैँ खटिने गर्छन् । सुपारीको सुकेका पातलाई सङ्कलन गरेर सजिलैसँग उद्योगको कच्चापदार्थ बनाउने गरिएको छ । सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ । धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ । प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट पाँच वटासम्म थाल बनाउन सकिने बताउनुभयो । मेचीनगर–४ बाहुनडाँगीका राजेन्द्र मिश्र सुपारीखेतीबाट धानखेतीको तुलनामा दशौँ गुणा बढी आम्दानी हुने बताउनुहुन्छ । अढाई बिगाहामा सुपारीखेती गर्नुभएको उहाँले सुपारीको फलबाट वार्षिक रु चार लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । सुपारीको बिरुवा रोपेको ६ वर्षपछि दाना फल्न थाल्छ । तर फल फल्नुभन्दा अघि नै यसको बोटले पातमार्फत आम्दानी दिन सुरु गर्छ । सुपारी बगानभित्र तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा आदिको खेती सँगसँगै गर्न सकिन्छ । मेचीनगर–६ मा याम निरौलाले मल्टी प्रोडक्सन कम्पनी प्रालि स्थापना गरेर बाहुनडाँगी क्षेत्रका सुपारीको पात सङ्कलन गरेर थाल, बटुका, चम्चा आदि सामान उत्पादन गर्दै आउनुभएको छ । स्थानीय क्षेत्रमै आफ्ना सामान बिक्री हुने गरेको जनाउँदै उहाँले वातावरणीय स्वच्छताका लागि प्लास्टिकका थाल बटुका निषेध गरेर सुपारीका पातको सामान प्रयोग बढाउन स्थानीय तहका सरकारहरुको भूमिका हुनुपर्ने बताउनुभयो । यही माघमा विर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विक्री कक्ष राख्दा मुलुक बाहिरका अवलोकनकर्ताले समेत सुपारीका पातको सामानबारे निकै चासो राखेको उहाँले जानकारी दिनुभयो । “बिक्री भएन भने घाटा व्यहोर्नुपर्ने हुन्छ भनेर उद्योगहरुले थोरै मात्रामा सामान उत्पादन गर्छन्,” उहाँ भन्नुहुन्छ, “बजार प्रवद्र्धनमा सरकारले सघाइदिने हो भने झापामा सुपारीको पातबाट चल्ने उद्योगबाटै हजारौँले रोजगारी र जीविकोपार्जन गर्नसक्ने सम्भावना छ ।” मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा रहेकाले उद्योगले किसानको घरमा पुगेर सुपारीको पात किनेर लैजाने गरेको सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । जङ्गली हात्तीको उपद्रो बढी भएको बाहुनडाँगी क्षेत्रका किसानले हात्तीले नखाने बालीका रूपमा सुपारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “सुपारीखेती र यसको पातबाट बनेका सामानको बजारीकणमा सरकारले सघाउनुपर्छ,” तिवारी भन्नुहुन्छ, “तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्था छ । सुपारीको खेती गर्ने किसान, दाना प्रशोधन गर्ने र पातबाट सामान बनाउने उद्योगीहरुलाई प्रोत्साहित गर्नसके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निश्चित छ ।” सुपारीको पातबाट बनेका सामानको विश्व बजारमा भारतीयले ९० प्रतिशत प्रभुत्व जमाएको र सुपारीको पातबाट बनेका सामान निर्यात हुँदा भारतको सरकारले त्यहाँका उद्योगीलाई नौ प्रतिशत प्रोत्साहन अनुदान प्रदान गर्दै आएको लिफ प्लस प्रालिका सञ्चालक बानियाँले बताउनुभयो । सुपारीको पातबाट बनेका सामान विदेश निर्यात गर्ने मुलुककै पहिलो उद्योग भए तापनि राज्यबाट प्रोत्साहन नपाएको उहाँको गुनासो छ । उत्पादित सामान मानव उपभोगयोग्य रहेको भनेर भारतीय प्रयोगशालामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताउनुभयो । “स्वदेश र विदेशको बजारमा माग भए जति आपूर्ति गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “बजारको कुनै चिन्ता छैन । बरु, वातावरणमैत्री सामान उत्पादन गरेर विदेश निर्यात गरिरहँदा राज्यबाट कुनै प्रोत्साहन पाएका छैनौँ भन्नु पर्दा दुःख लाग्छ ।”
दाङ: घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गर्नुभएको छ । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका उहाँले विगत दुई बर्षदेखि आफ्नै पुख्र्यौली थलोमा व्यावसायिक कागतीखेती गर्नुभएको हो । उहाँले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोप्नुभएको थियो । गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको भन्दै प्रतीक भन्नुहुन्छ, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ ।” बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उहाँले आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहनुभएको छ । सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको बताउनुहुन्छ । तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँच सय ५० बिरुवा रोपेको लोहनी बताउनुहुन्छ । कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिनुभएको छ । धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउनुहुन्छ । कागतीलाई बढाउँदै लग्ने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउनुभयो । सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्याउने व्यवस्था गर्नुभएको छ । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लाग्नुभएका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउनुहुन्छ । त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उहाँ बताउनुहुन्छ । गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको बताउनुहुन्छ । अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गर्नुभएका लोहनीले भन्नुभयो, “अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु”, अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उहाँ बताउनुहुन्छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।
म्याग्दी: म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । “सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्नुहुन्छ, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।” खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उहाँ बताउनुहुन्छ । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ । बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोप्नुभएको थियो । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थप्नुभयो । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो । विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै जानुभएको छ । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ । पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गर्नुभएको थियो । निवृत्त जीवन पनि उहाँले सुन्तला खेतीमै लगाउनुभएको छ । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् । खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताउनुभयो । समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् । बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ । देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो । आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं: सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेर एक लाख ६० हजार एक सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ ले घटेर एक हजार आठ सय ५० तोकिएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ६५ मा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।