झापा: नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गर्नुभएको छ । “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे”, उहाँले भन्नुभयो, “सोच जति फूल फूलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।” भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहे र उत्पादन कम भएकाले पु¥याउने अवस्था नरहेको बताउनुभयो । यहाँ प्रतिकेजी रु तीन सय ५० का दरले फूलको मूल्य तोकिएको छ । तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरुले धेरै मन पराउने फूलमा पर्छ । सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ । नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरु बताउँछन् । पुुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताउनुहुन्छ । विगतमा जिल्लामा २० बिघा भन्दाबढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।
पाल्पा: पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उहाँहरुको व्यस्त बढेको छ । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउनुहुन्छ । उहाँ रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुनुहुन्छ । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिनुभएको छ । “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहनुभएको छ । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आउनुभएको छ । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एक÷दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उहाँबताउनुहुन्छ । रामपुर उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्री राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैँले जानी नजानिकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यवसायको रुपमा थालनी गरेको हुँ ।” हाल खुद्रा मूल्य रु एक सय र थोक मूल्य रु ९० मा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताउनुहुन्छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् । हाते मेसिनबाट सुरु गरिएको व्यवसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताउनुहुन्छ । “दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “यस व्यवसायबाट दशैँ तिहारमा मात्रै करिब रु पाँच लाखदेखि सात लाख बराबरको कारोबार हुने गरेको छ ।” महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उहाँले बताउनुभयो । महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ । विद्युतीय मेसिन जडान गरेपछि यहाँ उत्पादन बढाइएको छ । यस मेसिनबाट उत्पादन गर्न धेरै सजिलो छ । छोटो समयमा धेरै उत्पादन हुने भएपछि व्यवसाय क्रमशः बढाउँदै लगिएको छ । दुई दिनको पूरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । साथै रुद्रनारायणले कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आउनुभएको छ । आफ्नै घरमा उहाँले विसं २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहनुभएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनिया बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् । झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ । गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ
गलकोट: चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् । दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् । विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । दसैँ र तिहारका बीचमा मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् । विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलले आकर्षित गर्न थालेपछि यहाँका होटल भरिभराउ हुन थालेको पाइएको छ । पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकसमेत बागलुङ आउन थालेका हुन् । दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्जलगायत क्षेत्रबाट मुस्ताङ आउने पर्यटक बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । “पोखरा, काठमाडौँ, चितवनबाट आउने पर्यटक थोरैमात्र बागलुङ बस्दछन्, उनीहरु सोझै कालिका मन्दिर पसेर मुस्ताङ पुग्छन्”, चोखालले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग कालोपत्र भएसँगै नेपालको रुकुम, दाङ र नेपालगञ्जजस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बनेको छ ।” जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ । चोखालले दसैँ सकिएपछि मात्रै बागलुङका होटलमा पर्यटकको चाप बढेको बताउनुभयो । बागलुङमा पर्यटकको चाप बढेपछि होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिनुभयो । अहिले बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारीसाधन बाक्लै देखिने गरेको छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आउने गरेको कालिका मन्दिरका अध्यक्ष कुमार खड्काले बताउनुभयो । दसैँपछि मन्दिरको पार्किङस्थल पर्यटकका सवारीसाधनले भरिएर वैकल्पिक व्यवस्थापन मिलाइएको खड्काको भनाइ छ । बागलुङमा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचारप्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई गन्तव्य बनाउन थालेका छन् । मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका र पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो । टाढाबाट आएका पर्यटक बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दसैँको पूर्णिमादेखि आफ्नो होटलको शतप्रतिशत कोठा पर्यटकले भरिभराउ भएको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले बताउनुभयो । “दसैँअघि पर्यटक खासै थिएनन्, कात्तिकको १ गतेपछि भने हाम्रो होटलको एउटा कोठासमेत खाली छैन, यहाँ आएका पर्यटकलाई अन्य होेटलमा पठाउँदै आएको छु, सुविधा सम्पन्न होटलमा पर्यटक भरिएका छन्”, शाक्यले भन्नुभयो, “पछिल्लो समय ढोरपाटन, मुस्ताङ र कालिका मन्दिर आउने पर्यटक नै हाम्रो होटलमा आउने गरेको पाइन्छ ।” बागलुङसमेत पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ । पछिल्लो समय बागलुङमा दुई दर्जनभन्दा बढी सुविधा सम्पन्न होटलमा आन्तरिक पर्यटक बस्दै आएका छन् ।
बझाङ: गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा २ पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे । अहिले २ साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “२ सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उहाँले बताउनुभयो । जोशीले भन्नुभयो, “गत चैतमा टुसाउँन सुरु भएको स्याउ फूलेर, फलेर असारमा सकियो । त्यसपछिका ३ महिना बोटमा पात मात्रै रहन्छ । अहिले ३ महिनापछि भने स्याउ सिधँँ लटरम्म फलेको देखियो ।’’ ५ वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताउनुभयो । लामो समय भारत बसेर दसैँ बिदामा घर आउनुभएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भन्नुभयो, “कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।” लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गर्नुभयो । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उहाँले धारणा राख्नुभयो ।“एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकूलका स्याउका बोट रोपिएको थियो । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि? ”, शर्माले प्रश्न गर्नुभयो । अहिले मौसम उपयुक्त नभएकाले फलेका स्याउ बोटमै सुक्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।“हाम्रो ठाउँको उचाइ २ हजार मिटरको हाराहारीमा छ”, शर्माले भन्नुभयो, “यहाँ पाकेको स्याउ भदौको अन्तिमतिर निकालिन्थ्यो । असोजसम्म पात झरेर बोट नाङगै हुन्थे । अहिले पात झर्ने छाँटकाँट छैन । फल पनि हुर्किरहेका छन् ।” चिसो बढिरहेकाले तुसारोले फल र बोट सुक्नसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा २ पटक फल्नु अनौठो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि मौसममा फलेका फल कुहिएर सकियो । तापक्रम बढेर यस्तो समस्या आएको हुनसक्छ । अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि जलवायु परिवर्तनको असरले भएको होला ।” खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।” गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताउनुभयो । “पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ”उहाँले भन्नुभयो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै सङ्कटको अवस्था हो ।” प्रमुख विष्टले असोजरकात्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकरजस्ता बो बिरुवाले आराम गर्ने बेला भएको भन्दै यो समयमा फल दिन थालेपछि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “अनुसन्धान गर्दा जलवायु परिवर्तन वा अन्य कारण पनि देखिन सक्छन् । अहिले भने यो समस्या तापक्रम वृद्धिले भएको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं: सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ ।
गलेश्वर: गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ”, उहाँले भन्नुभयो । असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताउनुभयो । उहाँका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताउनुभयो । “धानकोे एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।
पाल्पा: उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । उहाँको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गर्नुभएको छ । “गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उहाँ विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध हुनुुहुन्छ । पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उहाँले कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पाल्नुभएका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताउनुभयो । उहाँले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आउनुभएको छ । उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थाल्नुभएको हो । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उहाँले बताउनुभयो । व्यवसाय धान्न एक जनालाई रोजगार दिनुभएको छ । टिक्ने खालको संरचना बनाएर व्यवसाय गर्नुभएको छ । गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आउनुभएको छ । कुखुरापालनसँगै उहाँले माछापालन पनि गर्नुभएको छ । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ । व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उहाँको अनुभव छ ।
म्याग्दी: स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भन्नुभयो, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।” विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष रु ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब रु २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो । यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य रु ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ । स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी रु दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब रु ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब रु ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ विक्री भएको बताउनुभयो । उहाँका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिकरूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ । मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन् । उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिकटन स्याउ फलेको छ । जसको विक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ । यसको कुल मूल्य रु २५ करोड रुपैयाँ रहेको छ । यहाँ उत्पादन भएकामध्ये १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको र बाँकी ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँलगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको निर्देशनालयले जनाएको छ । मुस्ताङमा एक हजार चार सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको र पाँच सय ८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ ।
म्याग्दी: आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् । असिनापानीले धान बालीमा क्षति पु¥याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन् । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पु¥याएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “अहिले हामी क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण सङ्कलन हुन्छ”, वडाअध्यक्ष कार्कीले भन्नुभयो । असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहनुभएका चन्द्रकान्त रिजालले बताउनुभयो । उहाँका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ । रिजालका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताउनुभयो । “धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा उच्च क्षेत्रमा भने असिनासहितको वर्षाले असर गरेको हो । “असिना र वर्षाले धान नै झारेको छ, चर्को हावाले ठाडो धान नै खेतैमा सुताएको छ”, बेनी–२ का कृषक मोहन कार्कीले भन्नुभयो, “पाक्ने बेलाको धानमा असिना परेपछि खेतमै झरेको छ ।” कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो । कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका भने देखिरहेको जानकारी दिनुभयो । कतिपय जातका धान अब भित्र्याउनका लागि पाकेर तयार हुनै लागेकाले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउनसक्ने प्रमुख बाँस्तोलाले बताउनुभयो ।