जुम्ला: जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिनुभयो । जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताउनुभयो । आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् । जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।” यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ ।” विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताउनुभयो । केसीले भन्नुभयो, “गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।” सयपत्री फूलखेतीबाट महिला कृषक उत्साहित भएको भन्दै यस वर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो । गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो । चुमानले भन्नुभयो, “धेरै मात्रामा प्लास्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पु¥याइरहेको छ, स्थानीय स्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।” चुमानले तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौं, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।”
सुनसरी: सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गर्नुभएको थियो । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उहाँसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्याएको समाजसेवी राजकिशोर मेहताले बताउनुभयो । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उहाँको भनाइ छ । देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिनुभएको थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । उहाँले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताउनुभयो । देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गर्नुभयो । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उहाँले बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिनुभयो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उहाँले बताउनुभयो । किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताउनुभयो । “सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ”, उहाँले भन्नुभयो । यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले राससलाई जानकारी दिनुभयो । कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो । हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो । सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उहाँले जानकारी दिनुभयो । बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताउनुभयो । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्याएको उहाँको भनाइ छ । बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
काठमाडौं: चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
काठमाडौं: यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ । आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर साङ््गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ । त्यस्तै, एलपी ग्यास रु नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ । नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै रु एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल रु दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा रु दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा रु २५ अर्ब नौ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ ।
काठमाडौं: सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि रु एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि रु ६० करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसअघि पनि कृषि मन्त्रालयको पहलमा मन्त्रिपरिषद्को बैठकले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान ९डिडिसी० लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार आठ जिल्लाका उखु किसानको गतवर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गतवर्षको अनुदान रकम पाउने भएका हुन् । त्यस्तै लामो समयदेखि दूध बिक्री गरे वापतको रकम पाउन नसकेका दूध किसानलाई पनि सरकारले प्रदान गरको ऋणमार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको हो । उहाँले उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गर्नुभएको थियो । मन्त्री अधिकारीले दसैँ अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो ।
काठमाडौँ: लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।
भोजपुर: दिनानुदिन बाँदरको उप्रदो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । बाँदरले खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि बस्ती नै छाड्नुपर्ने अवस्था रहेको किसानहरुको भनाइ छ । बाँदरका कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । बाँदरको उप्रदो बढ्न थालेपछि किसानले बस्ती नै छाड्न थालेका छन् । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेको स्थानीयको भनाइ छ । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका दलगाउँका स्थानीय दलबहादुर मगरले बताउनुभयो । बाँदरको आतङ्क बढ्दा बस्ती नै खाली हुने अवस्था आएको उहाँको भनाइ छ । “किसानको मुख्य शत्रु नै बाँदर बनेको छ”, उहाँले भन्नुभयो, “बाँदरका कारण उर्वर जमिन बाँझिएका छन्, बाली लगाएर पनि बाँदरबाट बचाएर खाने अवस्था छैन, छिनभरमा वर्षदिनका मेहनत नष्ट पार्छन् ।” बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले वस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका उहाँले बताउनुभयो । दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङका स्थानीय महेन्द्र राईले बताउनुभयो । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ । “बाँदरबाट बचाएर अन्नबाली खाने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाँदरले अन्नबाली पाक्न दिँदैन, कटेरा बनाएर हेरचाह गरेर पनि सम्भव छैन ।” बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको किसान राईको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समय टेर्न छाडेको उहाँको भनाइ छ । “बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पनि भाग्न छाडेको अवस्था छ”, उहाँले भन्नुभयो, “दशदेखि १५ मिनेट मात्र बालीमा पस्दा सखाप नै पार्छन्, बाँदरले हैरान बनाएको छ ।” बाँदर आतङ्कले धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । यहाँका १८ भन्दा बढी घर परिवार बाँदरका कारण विस्तापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “बाँदरका कारण किसानलाई चुनौती थपिएको अवस्था छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “बाँदरको उपद्रो बढ्दा बर्सेनि उर्वरभूमि बाँझो बन्दै गएका छन्, दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ, बाँदरले धेरै दुःख दिएपछि स्थानीयले बस्ती नै छाडेको अवस्था छ ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो । बाँदर समस्या अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।