म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिस...

ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् । यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।  अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो । यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ ।  हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो ।  “पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।” स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।  काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो ।  “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।

काठमाडौं:  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

गोरखा:  गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु। ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।  “गतवर्ष यहाँ रु। १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु। एघार करोडभन्दा बढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो । “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयोे, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ  व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।”  गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष  एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु। ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताउनुभयो । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार २२५ मा कारोबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु। ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार १६५ मा कारोबार भइरहेको छ ।  गत जेठ २७ एक तोला सुन रु। एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु। दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु। एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु। एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 

काठमाडौं:   आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्न सुनचाँदी व्यवसायी महासंघहरुले माग गरेका छन् ।    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल सुनचाँदी व्यवसायी महासंघले सँयुक्त रुपमा अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।   सो अवसरमा बोल्दै विलासिता करका साथै हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनाले बताए ।   उनका अनुसार महासंघहरुले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरिनुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।   यो पनि पढ्नुहोस   सुनचाँदी व्यवसायमा भएको कर वृद्धिप्रति महासंघको आपत्ति   ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्रलयका राजस्व महाशाखा प्रमूख उत्तर खत्रीले व्यवसायीहरुको मागहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग सम्बोधन गर्न सक्दो पहल गर्ने आश्वासन दिए ।    सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष तथा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य र महानिर्देशक शिव दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फबाट अध्यक्ष किसान सुनारका साथै महासचिव निर बहादुर विक लगायतको सहभागिता रहेको थियो ।   यसअघि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी क्षेत्रका वृद्धि गरेको करकोविरुद्धमा तीनवटा महासंघहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

काठमाडौं:  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ ।  आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

मुस्ताङ:  हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले  पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो ।  पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको  स्थानीय गाईका जातमध्ये  लुलु गाई एक हो ।  अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियौँ वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो ।  मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उहाँले बताउनुभयो ।  “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थप्नुभयो, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।” मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताउनुभयो ।  “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भन्नुभयो, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”  मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् ।  मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताउनुभयो ।  “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उहाँले भन्नुभयो, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।”  पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाउनुभयो ।  लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् ।  त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।  जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।