काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।  गत शुक्रबार हालसम्मकै उच्च अ...

काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ ।  सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी  रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

सुदूरपश्चिम: कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।       खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी हुनुहुन्छ । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् ।       “सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु”, चौधरीले भन्नुभयो, “पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्विन्टलसम्म फल्न थालेको छ ।”        भजनी नगरपालिका–३ ढुसी गाउँका सीताराम चौधरी धानबालीमा सञ्चालित जोन कार्यक्रममार्फत चैते धानखेती गरिरहनु भएको छ । यहाँका किसानले करिब पाँच सय बिघामा यो धान रोप्ने तयारी गरिरहेका छन् ।       “सुरुका वर्षमा आफूले बीउ ल्याएर चैते धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै बौलाएको भन्थे । अहिले यहाँका अधिकांश किसानले यसको खेती गर्न थालेका छन्”, सीतारामले भन्नुभयो, “वैशाख र जेठमा चैते धानलाई मौसम अनुकूल हुने भएकाले वर्षे धानको तुलनामा उत्पादन बढी हुने गरेको छ ।” प्रतिबिघामा ४५ क्विन्टलसम्म चैते धान फल्ने अनुभव सुनाउँदै उहाँले गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन वृद्धि भएको बताउनुभयो ।      भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे  धानबाली नष्ट हुने गरेको किसान बताउँछन् । डुबानको समस्या बढ्दै जान थालेपछि यहाँका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् ।       “वर्षामा खेतमा डुङ्गा चलाउन मिल्ने गरी हुने डुबानको समस्याले वर्षे धान बाली नष्ट हुने गरेको छ”, सीतारामले भन्नुभयो, “वर्षामा हुने धानखेतीको विकल्पमा अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।” किसानले डुबान नहुने समयमा चैते धानखेती गर्न थालेका बताउँदै उहाँले जोन कार्यक्रम सञ्चालन भएपछि किसान थप उत्साहित भएका उहाँको भनाइ छ ।      आर्थिक वर्ष २०७८/७९ देखि जिल्लामा चैते धानको जोन कार्यक्रम सुरु भएको थियो । भजनी नगरपालिकाभित्र सुरुमा पाँच सय हेक्टरमा खेती गरिएकामा हाल यसको क्षेत्रफल विस्तार गरी एक हजार हेक्टर पुर्‍याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।      परियोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख गोविन्दराज जोशीले भजनी नगर क्षेत्र, जोशीपुर र जानकीनगर गाउँपालिकामा चैते धानअन्तर्गत ‘जोन कार्यक्रम’ कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगङ्गा, भजनी र घोडाघोडी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकीनगर गाउँपालिकामा गहुँ बालीको ‘सुपर जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।       गहुँ बालीको कार्यक्रमअन्तर्गत सुरुका वर्षमा एक हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा हाल क्षेत्रफल विस्तार गरी तीन हजार हेक्टर पुर्‍याइएको जनाउँदै जोशीले जिल्लाको घोडाघोडी, भजनी नगरपालिका र बर्दगोरिया, जानकीनगर गाउँपालिकामा तेलहन जातको खेती भइरहेको उल्लेख गर्नुभयो ।       चालु आवदेखि धनगढी उपमहानगर क्षेत्रका साथै घोडाघोडी, भजनी र कैलारी गाउँपालिका क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम कार्यान्वयन गरिएको इकाई प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमअन्तर्गत माछापालनमा सहभागी किसानलाई प्राकृतिक तालतलैयाको सुधार, आधुनिक यन्त्र तथा उपकरणको सुविधा, नयाँ पोखरी निर्माण, प्रविधिको व्यवस्थालगायत सहयोग उपलब्ध गराउँदै आइएको छ ।      कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन भइरहेको सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यालयले उन्नत जातका बीउ, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनलगायत सहयोग गरिरहेको प्रमुख जोशीले बताउनुभयो ।       “सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनसँगै पहिलेको भन्दा बालीको उत्पादकत्व पनि वृद्धि भएकोे छ”, उहाँले भन्नुभयो “बालीका लागि उर्बर मानिने जग्गामा ती कार्यक्रम सञ्चालनका लागि छनोट गरी खेती गर्न किसानलाई उन्नत जातका बीउ, सिँचाइ, यन्त्रलगायत प्रविधिमा सहयोग उपलब्ध गराइरहेका छौँ ।”       कृषि प्रविधिको सुनिश्चिता, बजारीकरणको व्यवस्थाका साथै सहुलियत ऋण, कृषि बिमाको व्यवस्था हुनसके कार्यक्रम थप प्रभावकारी हुने इकाई प्रमुख जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “कृषिमा अनुदान दिने गरेका छौँ, तर अनुदान नपाउने कृषकमा असन्तुष्टि देखिने गरेको छ । यसले कृषि प्रणालीमा प्रतिकूल असर पुगिरहेकाले सबैलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । यसमा सरोकार भएका निकायले आवश्यक समन्वय गर्नु जरुरी छ ।”      नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती गरिँदै आएकामा कृषिको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको बजारीकरण, बाली उत्पादनमा यन्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थासहित आधुनिकीकरण, व्यावसायीकरण गरी कृषि उपजको आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । यो परियोजनाअन्तर्गत मुलुकका विभिन्न जिल्लामा विभिन्न बालीमा सुपर जोन र जोन कार्यक्रम सञ्चालन भइरहेका छन् । 

काठमाडौं:  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।           यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ ।  सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

खोटाङ:  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ ।  नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।  नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो ।  “यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।” पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख,  वडा नं ७ दोर्पामा रु तीन लाख र वडा नं १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिनुभएको छ । राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।  कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ ।  राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।  गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ ।  नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।  आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताउनुभयो ।  नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताउनुभयो ।  “दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।”  नगरपालिकाले सुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ । 

मकवानपुर:  मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीमार्फत कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ ।      दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने ४२४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो ।  पालिकाका ४५१ जना कृषकले दुई हजार ५१० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब २५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।      समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा ५०९ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ तोकेको छ ।      सो गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो ।   रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि रु ३५ लाख विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवद्र्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जुम्ला:  जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ ।       यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।       जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु ४५ लाख  प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो ।  मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका दुई सय ३० जना भेडापालक किसानलाई रु १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय  प्रमुख बुढ्थापाले बताउनुभयो ।       जिल्लामा भेडा मात्र पाल्ने किसान करिब एक हजार सात सयभन्दा बढी छन् । यहाँका आठवटै स्थानीय तहमा रु ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ताबापत् रु १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ ।      आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका–६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । 

खोटाङ:  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गर्नुभएको हो । प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताउनुभयो ।  मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रू पाँच र टपरीको प्रतिगोटा रू आठका दरले निर्धारण गरिएको जनाइएको छ ।  निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिनुभएको छ ।  “सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा रू ३५ देखि रू ६० सम्ममा खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरू भएको छ । दुना–टपरी गाँस्नेलाई प्रतिगोटा रू एकका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।” गाउँमा हुने हरेक बिहे–कार्जे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरिएको सञ्चालक राईले बताउनुभयो ।  “गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभई वातावरणीय हिसाबले पनि ठीक होइन”, उहाँले भन्नुभयो, “दुना–टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।” बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ,  विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।  उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो ।  च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रू पाँच र टपरी प्रतिगोटा रू दशमा बिक्री सुरू गरिएको छ । सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।  सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।  हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरीमात्र प्रयोग गर्ने÷गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । 

म्याग्दी: म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ ।       धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताउनुभयो ।       “कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,” उहाँले भन्नुभयो “स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।”      मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा)लाई रु. दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन रु. एक सय ३० मूल्य कायम गरिएको छ ।       काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताउनुभयो ।       उहाँले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । ३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किनुभएको हो ।       भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नै जग्गामा करिब रु ७५ लाख लगानीमा पूर्वाधार निर्माण गरिरहनुभएको छ । धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताउनुभयो ।       “कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,” वडाअध्यक्ष खत्रीले भन्नुभयो, “विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।”

काठमाडौं:  स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ ।  स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ ।       नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताउनुभयो ।  “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उहाँले रासससँग भन्नुभयो ।      अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।