ताप्लेजुङ:     कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँ...

बागलुङ:    बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ ।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो ।  तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उहाँले  यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उहाँले किबीसँगै कागती पनि फलाउनुभएको छ । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले  समय व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।  दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाउनुभयो । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताउनुभयो । हाल स्थानीय बजारमा प्रतिकेजी रु २ सय ५० देखि रु ३ सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु २ लाख आर्जन गरेको बताउनुभयो ।   गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो। अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।  

जनकपुरधाम:    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।  धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५  डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।  कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिना अर्थात् साउन, भदौ र असोजमा रु ५ करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो ।  कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ । गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा ५ हजार ६ सय प्याकेट नुन बिक्री गरेर रु २ लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताउनुभयो ।  सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा सोभै डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ ।  यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिनुभयो ।

नुवाकोट:    सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।  सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।       विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताउनुभयो । उहाँले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिनुभयो ।      गत वर्ष प्रतिकिलो रु ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताउनुभयो । “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।”      म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताउनुभयो ।       “विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ”, उहाँले भन्नुभयो ।      सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताउनुभयो । उहाँका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।      कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताउनुभयो । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।      उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।       हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

म्याग्दीः    केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताउनुभयो ।मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष २ सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे ३ सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताउनुभयो । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उहाँले बताउनुभयो ।  “सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर)खोजी २ दिन लगाई कोदो रोपेँ, ७–८ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भन्नुभयो । पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार  यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।  अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा  कोदो उत्पादन बढ्ने उहाँले बताउनुभयो ।  गत वर्ष म्याग्दीमा २ हजार २ सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।    १ नगरपालिका र ५ वटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ । 

बागलुङः    कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा १ दिन उहाँले किबीखेती गर्ने निर्णय गर्नुभयो । गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाल्नुभयो । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उहाँ नमूना किसान हुनुभएको छ ।  विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उहाँलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उहाँले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उहाँका उत्पादन बजारमा पाइन्छन् ।  विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उहाँले किबी खेती सुरु गर्नुभएको थियो । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा १ सय ५० बोट किबीखेती गर्नुभएका उहाँले बिरुवा सारेको ३ वर्षमा नै लगानी उठाएको बताउनुभयो ।  उहाँको बारीमा फलेका  किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु ३ सयदेखि ४ सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गर्नुभएको छ ।   

काठमाडौँः     स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार नौ सय ८० निर्धारण भएको छ । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।       बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ ।       साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।      त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ ।       त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।       बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

रामेछापः       वर्षमा २ पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।  जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।  पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिनुभयो ।  “सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको” भनेर आलोचना पनि गर्नुभयो । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरुले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो”, उहाँले भन्नुभयो ।  रामेछाप बजार नजिक १ रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताउनुभयो । ६० वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुनुहुन्छ । पसलका साथै कृषि कर्ममा रमाउने उहाँ पछिल्ला केहीवर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहनुभएको छ । मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको छ ।  वर्षमा २ पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताउनुभयो । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उहाँको भनाइ छ । यो फल १ पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताउनुभयो । वनमारा उमे्रेको पाखो बारी फँडानी गरेर करिब ३ रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो ।  यसको खेती गरिएको जमिनभित्र सयपत्री फूलको पनि खेती गरिरहेको रामबहादुरले उल्लेख गर्नुभयो । यस वर्षको तिहारमा सयपत्रीको फूल र माला बिक्री गरी रु १ लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो । ड्रागन खेती गरिरहेका कतिपय किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल लगाएका छन् भने कतिपय लसुन प्याज, काउली, बेसारलगायत खेती पनि गरिरहेका छन् । खेती गर्न सहज हुनुका साथै नगदेबाली लगाएर आम्दानी गर्न सकिने भएकाले जिल्लामा ड्रागन खेती गर्ने किसान बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ  । अहिले बगैँचाबाट रु ३ देखि रु ३ सय ५० सम्ममा फल बिक्री हुने गरेको मन्थली–७ का किसान दिलबहादुर सार्कीले जानकारी दिनुभयो । “पाखो तथा सुख्खा बारीमा यसअघि मकै तथा अन्य अन्नबाली रोप्ने गरेको थिएँ । उत्पादन कम हुने र मूल्य पनि नपाउने समस्या थियो । अहिले परीक्षणका रुपमा ड्रागन खेती थालेकामा एक वर्षमा नै उत्पादन दिन थालेको छ”, उहाँले बताउनुभयो । सार्की पेसाले शिक्षक हुनुहुन्छ ।  पठनपाठनका साथै उहाँले खेती पनि गरिरहेको उल्लेख गर्नुभयो ।किसानले स्थानीय तथा सङ्घीय सरकारले ड्रागन खेती विस्तार गरी जिल्लालाई ‘ड्रागन फ्रुट जोन’ का रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेती विस्तरका लागि कार्यलयसँग रकम अभाव भएकाले कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । परियोजना कार्यालयका प्रमुख थिरलाल गैरेले अन्य कार्यक्रमबाट मिलाएर ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिने बताउनुभयो ।  उहाँले नेपालमा यसको व्यावसायिक खेती सुरु भएको धेरै वर्ष नभएको भन्दै किसानलाई यसका सकारात्मक पक्षका बारेमा जानकारी गराउँदै यसको खेतीतर्फ थप आकर्षित गराउन सकिने धारणा राख्नुभयो । आन्तर्राट्रिय बजारमा ड्रागनको माग बढी भएकाले पनि बजार अभाव नहुने भन्दै प्रमुख गैरेले किसानले खेती विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।  “परियोजनामार्फत अन्य कार्यक्रमलाई परिमार्जन गरी ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिन्छ । यसबारे सरोकार भएका निकायसँग छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो । ड्रागन फ्रुटको खेती विकास र विस्तर गरी स्थानीय र सङ्घीय सरकारअन्तर्गतका कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजनालगायत सरोकार भएका निकायले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी बिपीन भट्टराईले बताउनुभयो ।  किसानलाई प्रोत्साहन गर्न आवश्यक तालिम, प्राविधिक ज्ञानलगायत सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

काठमाडौं:    चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गर्नुभएको छ ।       क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिनुभयो ।       उहाँका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गर्नुभयो ।      कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तित्वको सहभागिता थियो ।