सिरहा: सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु ४ हजार २ सय तोकेको छ । जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताउनुभयो । “सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेकमार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो । प्रमुख सुनारका अनुसार प्रतिकिसान अधिकतम एक सय क्विन्टल धान कम्पनीले खरिद गर्नेछ । सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयमा किसानको धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ । सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताउनुभयो । किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उहाँको भनाइ छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।
जनकपुरधाम: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ । धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो । यसवर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा तोकिएको छ । यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताउनुभयो । यसअघि सो कार्यालयको धान खरीदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । बास्मती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार ५ सय ६६ हेक्टर क्षेत्रफल जमिनमा १ लाख ६६ हजार २ सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मङ्गलबारे: ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उहाँले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताउनुभयो । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोप्नुभएको छ । किबी र अलैँची तुलना गर्दै उहाँ भन्नुहुन्छ, “ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए २ मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि २ लाख माथि नै हुन्थ्यो ।” करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उहाँको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १ सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो २ हजार ८ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ । कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरुको भनाइ छ । बिक्री भएको किबी समेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरु बताउँछन् । किबीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उहाँले बताउनुभयो । सुरुमा किबी गर्ने किसानहरुले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताउनुभयो ।किबीलाई फलफूलको राजा समेत उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरुको आरोप छ । धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किबी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ ।इलाममा करिब कुल ७ सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताउनुभयो । अघिल्लो वर्ष २ हजार ८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उहाँले जानकारी दिनुभयो । किबीलाई प्रशोधन गरेर जुस, जाम समेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन समेत पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरुको भनाइ छ ।
नवलपरासी: यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् । जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताउनुभयो । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उहाँले भन्नुभयो । खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताउनुभयो । कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताउनुभयो । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उहाँले भन्नुभयो, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उहाँले एक बिघामा तोरी लगाउनुभएको छ । कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा १ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताउनुभयो । यस्तै, चालु आव २०८१/८२ मा १ हजार १ सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ । आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । आव २०८०र८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ । उहाँले भन्नुभयो, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताउनुभयो । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उहाँले बताउनुभयो ।
ढोरपाटन: आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए । कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो । वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।” बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो ।
म्याग्दी: अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उहाँले भन्नुभयो । जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउनुहुन्छ । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताउनुभयो । “फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् । अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताउनुभयो । “बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो । घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हँुदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
दाङ: घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गर्नुभएको छ । उहाँले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । १ याममा रु १२ लाखको मह बेच्ने उहाँको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ । उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”उहाँको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । मौरीपालनबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उहाँले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताउनुभयो । उहाँले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । साथै उहाँले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गर्नुभएको छ । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु ५ सय र जङ्गली स्रोतको रु ६ सयमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ ।
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्नुहुन्छ । उहाँको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने र कम बिक्री हुने मासु अहिले बढी बिक्री हुने गरेको सुशान्तले बताउनुभयो । चिसोमा खसीको मासु बढी खपत हुने भन्दै चौधरीले दैनिक १५ वटासम्म खसी काटेर बिक्री गर्ने गरेको जनाउनुभयो । गर्मीका बेलामा सरदर १० देखि १२ वटासम्म खसी काटेर मासु बिक्री गर्दै आएकामा चिसोका बेलामा १५ वटासम्म काट्ने गरेको उहाँको भनाइ छ । चिसोका बेलामा बिहानैदेखि मासु किन्नेको भीड लाग्ने गरेको भन्दै अन्य पसलहरूमा पनि यो समयमा जिल्लामा माछा र मासुको कारोबारमा वृद्धि हुने जानकारी दिनुभयो । इनरुवासहित जिल्लाका विभिन्न ठाँउमा लाग्ने हाटमा माछा, मासुको कारोबारमा वृद्धि भएको स्थानीय माछा व्यापारी गुलावी मुखियाले बताउनुभयो । इनरुवा, लौकही, रामधुनी, इटहरी, धरानलगायत स्थानमा रहेका माछा, मासु पसलमा चिसो बढेसँगै ग्राहकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ । माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताउनुभयो । चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उहाँको भनाइ छ ।